एसिसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा एक मात्र सिनियर राष्ट्र नेपाल बाहिरिएको छ । श्रीलंकाको प्रेमादास रंगशालामा सोमबार भारतको ‘ए’ टोलीसँग नौ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । भारतले नेपालविरुद्ध एक सय ६७ बलअघि नै जित निकालेको हो । समूह ‘बी’ मा नेपालले आफ्ना दुवै खेल गुमाएको छ । यसअघि नेपाल पाकिस्तानको ‘ए’सँग चार विकेटले निराश भएको थियो । अब समूहमा नेपालले युएई ‘ए’सँग खेल्नेछ । समूहबाट भारत र पाकिस्तान एक खेलअगाडि नै सेमिफाइनलमा पुगेका छन् ।
कप्तान रोहितकुमार पौडेलले टस जित्दै पहिलो ब्याटिङ गर्ने निर्णय लिएका थिए । अधिकांश इन्डियन प्रिमियर लिग (आइपिएल)मा आबद्ध भारतीय अनुभवी खेलाडीसामु नेपाली ब्याट्सम्यानले पुनः एकपटक फितलो ब्याटिङ प्रदर्शन गरेका थिए । लगातार दोस्रो खेलमा नेपाल ५० ओभरअगाडि नै अलआउट भएको छ । नेपाल ३९.२ ओभरमा एक सय ६७ रनमै अलआउट भयो । प्रत्युत्तरमा भारतले केवल २२.१ ओभरमा एक विकेटको नोक्सानीमा एक सय ७२ रन बनाएको थियो । भारतले लक्ष्य पछ्याउँदा प्रतिओभर ७.७५ रनरेटमा ब्याटिङ गरेको थियो ।
शतकीय ओपनिङ साझेदारी
नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याउँदा भारतका लागि ओपनरद्वय साई सुदर्शन र अभिषेक शर्माले शतकीय साझेदारी गरेका थिए । आइपिएल र रणजी ट्रफीको अनुभव रहेका यी दुवै ब्याट्सम्यानले नेपाली बलरविरुद्ध आकर्षक स्ट्रोक लगाएका थिए । रोहितले पहिलो विकेटको साझेदारी तोड्नुअघिसम्म साई र अभिषेकले खासै गल्ती गरेनन् । दुवैले नेपाली बलरका कमजोरीमा बाउन्ड्री लगाए । रोहितले अभिषेकलाई कुशल मल्लबाट क्याचआउट गराएका थिए । अभिषेक आउट हुँदा भारत १३९–१ को बलियो अवस्थामा थियो ।
उनले ६९ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । त्यसपछि साईले ध्रुभ जुरेलसँग दोस्रो विकेटका लागि ३.१ ओभरका लागि ३३ रनको साझेदारी गरे । जुरेलले ललित राजवंशीले फ्याँकेको बललाई छक्का रूपमा विजयी रन बटुलेका थिए । साईले ५२ बल सामना गरी ५८ रन बनाए । उनले आठ चौका र एक छक्का प्रहार गरेका थिए । जुरेलले १२ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २१ रनको योगदान दिए ।
६ बलर प्रयोग
कप्तान रोहितले भारतको बलियो ब्याटिङ रोक्न ६ बलर प्रयोग गरे । भारतको पतन भएको एक मात्र विकेट रोहितकै नाममा रह्यो । उनले चार ओभरमा २५ रन खर्चेका थिए । नेपालका फास्ट बलर सोमपाल कामीले दुई ओभर मात्र बलिङ अवसर पाउँदा १९ रन खर्चे । यसैगरी, युवा खेलाडी पवन सर्राफले आठ ओभरमा ४४ रन दिए । किशोर महतो नेपाली बलरमध्ये सर्वाधिक खर्चिलो देखिए । उनका तीन ओभरमा भारतीय ब्याट्सम्यानले ३३ रन बटुलेका थिए । ललितले ३.१ ओभरमा ३१ रन दिएका थिए ।
रोहित र गुल्सनले ब्याटिङ उकासे
भारतका फास्ट र स्पिनर बलरसामु नेपालका ब्याट्सम्यान क्रिजमा लामो समय टिक्नै सकेनन् । इनिङ्सको दोस्रो बलमै नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । हर्षित रानाले भुर्तेललाई एलबिडब्लू पारेका थिए । रानासँग कोलकाता नाइट राइडर्सको अनुभव छ ।
प्रतियोगितामा दोस्रोपटक अत्यन्तै फितलो ब्याटिङ प्रदर्शन गरेको नेपाल इनिङ्सको एक समय ३७÷५ को दयनीय स्थितिमा थियो । नेपालका आधा ब्याट्सम्यान पेभेलियन फर्किंदा ९.६ ओभर मात्र समाप्त भएको थियो । यसपछि कप्तान रोहित र आठौँ क्रमका ब्याट्सम्यान गुल्सनले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपाललाई १४४–७ को स्थितिमा राखे । रोहितले धैर्यपूर्वक ब्याटिङ गर्दै अर्धशतक कटाए ।
उनले ८५ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ६५ रनको योगदान दिए । उनी इनिङ्सको ३३.२ ओभरमा आउट भएका थिए । रोहित आउट भएको दोस्रो ओभरपछि गुल्सनले आफ्नो विकेट सिन्धुलाई दिए । गुल्सनले ३० बलमा समान दुई चौका र छक्का प्रहार गरे । सिन्धुले ११औँ क्रमका ललितलाई कट एन्ड बोल्ड गर्दा नेपाल १६७ रनमै समेटियो ।