संघकै सिको गरेर सुदूरपश्चिम सरकारले पनि सांसदलाई बजेट छुट्याएको छ, किन होला ?
बजेट केही पहुँचवालाको क्षेत्रमा बढी केन्द्रित हुने गरेको छ । भनेजस्तो बजेट नपरेपछि सांसदको विरोध हुन्छ । सत्तापक्षकै सांसदले विरोध गर्छन् । त्यसैले सांसदलाई चुप लगाउन यो कार्यक्रम ल्याएजस्तो देखिन्छ । सरकारलाई बजेट पास गर्न र काम गर्न पनि सहज हुने र बजेट पाए सांसदलाई पनि सहज हुने भएकाले ल्याइएको होला ।
बजेट वक्तव्यमा हरेक निर्वाचन क्षेत्रमा तीन करोडका दरले विनियोजन गरेको थियो । अहिले बढाएर पाँच करोड पुर्याइयो । सत्तापक्ष र प्रतिपक्ष मिलेका छन् । यसले दीर्घकालीन के असर गर्छ ?
बजेट पाएपछि केही काम गर्न सजिलो हुने भएकाले सांसद सहमत हुने नै भए । यो पैसा ससाना टुक्रे योजनामा खर्च हुन्छ । अहिले हामीकहाँ बेरोजगारी, उद्यमशीलता, आयात प्रतिस्थापनको समस्या हो । तर, यो कार्यक्रमको अधिकांश बजेट वितरणमा जान्छ । बजेट वितरणमुखी भएर भविष्यमा प्रतिफल दिने काम नहुँदा राजस्व संकलनमा पनि कमी आउँछ । मुद्रास्फीति बढ्छ ।
सांसदलाई छुट्याएको बजेट कस्तो क्षेत्रमा खर्च हुन्छ ? प्रतिफल के हुन्छ ?
विगतलाई हेर्दा सांसदलाई छुट्याइएको बजेट मन्दिर बनाउने, पर्खाल बनाउनेजस्ता ससाना टुक्रे योजनामा खर्च हुने गरेका छन्, जुन स्थानीय तहले गर्नुपर्ने काम हो । यसले तत्कालको समस्या केही समाधान त होला, तर दीर्घकालीन रूपमा प्रतिफल दिँदैन, समग्र अर्थतन्त्रलाई नकारात्मक बाटोमा लैजान्छ ।