१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३० शनिबार
  • Wednesday, 26 June, 2024
२o८o असार ३० शनिबार १३:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

‘थारू भिलेज’ चिनाउने चित्र [फोटोफिचर] 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ३० शनिबार १३:३२:oo

बैजनाथ गाउँपालिका १ च्यामाका थारू समुदायले घरको भित्तामा जंगली जनावरको चित्र कोरेका छन्। बाहिरबाट आएका आगन्तुकलाई थारूको घर चिनाउन स्थानीयले घरको भित्तामा जंगली जनावरको चित्र कोरेका हुन्। 

बाँके राष्ट्रिय निकुञ्ज छेउमा रहेको यो गाउँका अधिकांशले आफ्नो घरको भित्तामा जंगली जनावरको चित्र बनाएको गाउँका मटावा रामविलास चौधरीले बताए।

उनले च्यामा गाउँलाई ‘थारू भिलेज’को रूपमा विकास गर्न गाउँका अधिकांशले घरको भित्तामा जंगली जनावरको चित्र बनाएको बताए। ‘थारू गाउँको पहिचान हराउन थालेपछि यसको संरक्षण गर्न घरका भित्तामा जंगली जनावर र पन्छीको चित्र बनाउने अभियान थाल्यौँ,’ उनले भने। 

घरको भित्तामा हिंस्रक जंगली जनावर र पन्छी (बाघ, हात्ती, गैँडा, घोडा, मयुर) को चित्र बनाउँदा परिवारका सदस्य सुरक्षित हुने विश्वास गरिन्छ। ‘परापूर्व कालमा जंगली जनावर र पन्छीको बिगबिगी थियो। हिंस्रक जंगली जनावर घरमै आएर आक्रमण गर्थे। त्यसबाट जोगिन थारू जातिले घरको भित्तामा जंगली जनावरको चित्र कोर्न थाले भन्ने विश्वास छ,’ उनले भने। 

थारू जातिले प्रकृतिको पूजा गर्छन्। देवतालाई चामलको सेतो टीका लगाउने यो जातिले हिंस्रक जनावरको पूजा गर्दछ । पछल्डङ्ग्या थरकाले बाघलाई ‘जगन्नाथी’ नाम दिएर मूल देवताको रूपमा पूजा गर्दछन्। 

त्यसैगरी, दहित थरका थारूले भेडालाई मूल देवताको रूपमा मान्दछन्। ‘आफ्नो रक्षाका लागि थारू जातिले हिंस्रक जनावरलाई मुख्य देवताको रूपमा पूजा गरेको हुनुपर्छ,’ थारू संस्कृतिका जानकारसमेत रहेका सोनारीका चौधरिया विष्णुप्रसाद चौधरीले भने। 

उनले बाघको आक्रमणबाट जोगिन सोनारी क्षेत्र (साबिकको कचनापुर, बैजापुर र बिनौना गाविस) का नागरिकले भुइँह्यार थान र भुवरभवानीको पूजा गर्दै आएको बताउँछन्। उनी भन्छन्, ‘पहिले सोलार क्षेत्रमा जंगली जनावर हात्ती, बाघले आतंक मच्चाउँथे। बाघले मान्छेलाई दिनदहाडै बोकेर जंगल लैजान्थ्यो। बाघको आक्रमणबाट जोगिन यहाँका नागरिकले भुवरभवानीको पूजा गर्न थाले। गाउँमा भुइँह्यार थान बनाएर त्यसको पूजा गर्न चौधरियाको व्यवस्था गरे।’ 

बाघले साह्रै दुःख दिन थालेपछि पूजाका लागि दाङबाट राजी ल्याएको उनले सुनाए। उनीहरूलाई बाघबाट जोगाउन गाउँको एक घरमा सुत्ने व्यवस्था मिलाइएको बताउँदै उनले गाउँलेको अनुनय विनय ती राजी परिवारले नसुनेको बताए। 

‘दाङबाट आएको राजी परिवार जंगलको बीचमा रहेको रुखमुनि सुते। उनीहरू सुतेको ठाउँलाई बाघले घेरा हालेको देखेपछि उनीहरूलाई बाघले खाएको गाउँलेले निष्कर्ष निकाले, तर उनीहरू बिहान उठेर गाउँमा आए। 

बाघले चारैतिर घेरेका राजीहरू सकुशल गाउँमा आएपछि गाउँलेहरू तीनछक्क परे। त्यसपछि गाउँलेले उनीहरूलाई देवीदेवताको किल्ला गाडेर पूजा गर्न लगाए। उनीहरूले पूजा गरेपछि बाघ लाग्न छाडे, हैजाजस्ता रोगव्याधि हट्न थाल्यो,’ चौधरियाले भने। 

बाघ, भालुजस्ता हिंस्रक जनावरको पूजा गर्दा आक्रमणबाट जोगिने विश्वास भएजस्तै घरको भित्तामा चित्र बनाए घरमा आक्रमण नहुने विश्वास रहेको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारूले बताए। 

उनले भुइँह्यार थानका देवता रिसाए गाउँमा दिनदहाडै बाघ आउने र मान्छेलाई आक्रमण गर्ने गरेको बताए। ‘बाघजस्ता जंगली जनावरको आक्रमणबाट जोगिन पूजा गर्छौँ नै भित्तामा चित्र कोेरेर बच्ने उपाय निकाल्छौँ,’ उनले भने।

तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका 
 

 
 

ad
ad
ad
ad