१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३० शनिबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ३० शनिबार o७:४२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाकिस्तान ‘ए’सँग नेपाल चार विकेटले पराजित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ३० शनिबार o७:४२:oo

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा पाकिस्तानको ‘ए’सँग चार विकेटले पराजित भएको छ । टिम्स कपमा एक्लो सिनियर टोली पठाएको नेपालले अनुभवी पाकिस्तानी खेलाडीविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा नै हारको सामना गरेको हो । समूह ‘बी’को खेलमा पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्न सकेन । नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको झिनो योगफल खडा गर्‍यो । प्रत्युत्तरमा पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ८१ रन बनायो । 

झिनो लक्ष्य रक्षा गर्न क्रिजमा ओर्लेको नेपालका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिएका थिए । उनले ८.५ ओभरमा ५० रन खर्चिंदा एक मेडन राखे । पवन सराफले पाँच ओभरमा एक मेडन गर्दै १५ रन खर्चंदै दुई विकेट लिए । एकदिवसीय विश्वकप ग्लोबल छनोटको पहिलो खेलमै घाइते भएका सोमपाल कामीले पाकिस्तान ‘ए’विरुद्ध खेले । 

करण केसीको अनुपस्थितिमा सोमपालले नेपालको सुरुवाती बलिङ कमान्ड सम्हाले । उनले पाँच ओभरमा २९ रन खर्चे । नेपालको बलिङ इनिङ्समा पवनसँगै कुशल मल्ल कसिलो देखिए । कुशलले ६ ओभरमा केवल २२ रन खर्चंदै एक विकेट हात पारे । ललितले लिएका तीनमध्ये दुई विकेट सिनियर खेलाडी थिए । उनले कप्तान मोहमद ह्यारिस कमरानलाई आउट पारे । नेपाली बलरले १३ अतिरिक्त रन दिए । 

पाकिस्तानको कसिलो बलिङ
नेपालविरुद्ध पाकिस्तानका दुई सिनियर खेलाडीले कसिलो बलिङ गरेका थिए । मोहमद वासिम र सहनावाज दहानीले समग्रमा १० मध्ये नौ विकेट लिए । दहानीले पाकिस्तानी सिनियर टोलीबाट २ एकदिवसीय र ११ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । उनले १० ओभर बलिङ गर्दै ३८ रन खर्चेर सर्वाधिक पाँच विकेट दिलाए । उनले आफ्नो बलिङ स्पेलमा तीन मेडन ओभर गरेका थिए । अन्तर्राष्ट्रिय टी–२० मा उनले ११ खेलमा १६ विकेट लिएका छन् । एकदिवसीय खेलमा उनका नाममा दुई विकेट छ । 

पाकिस्तानले श्रीलंकामा पठाएका खेलाडीमध्ये वासिम सिनियरमा पर्छन् । उनले नेपालविरुद्ध चार विकेट लिन सफल भए । यसक्रममा उनले ५४ रन खर्चेका थिए । वासिमले पाकिस्तानबाट टेस्ट र टी–२० खेल खेलेका छन् । १८ टेस्टमा उनले दुईपटक शतकीय र दुवैपटक अर्धशतक खेलेका छन् । एकदिवसीयमा उनले तीनपटक अर्धशतक बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटकै अनुभवी खेलाडीले नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दा पाकिस्तानले आफ्नो पहिलो खेलमा सहज लक्ष्य पाएको हो । 

६ खेलाडी चुके
पहिलो ब्याटिङ गरेको नेपालका ६ ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै आउट भए । आसिफ सेख र अर्जुन साउदबीच दोस्रो विकेटका लागि केवल पाँच रनको साझदोरी भएको थियो । सेखले १२ बलमा तीन चौका प्रहार गरे । अर्जुनले कप्तान रोहितकुमार पौडेलसँग पाँच रनको साझेदारी गरे । अर्जुनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरी १७ रन बटुले । मध्यक्रमका भरपर्दा रोहित, भीम सार्की र कुशल मल्लले सोचेजस्तो रन नबनाउँदा नेपाल दयनीय अवस्थामा पुगेको हो । हिटर ब्याट्सम्यान भीमले चार बल सामना गर्दा शून्य रनमा आउट भए । कुशलले १८ बलमा दुई चौका र एक छक्काको सहयोगमा १७ रन बटुले । गुल्सन झाले १९ बलमा १३ रन बनाए । 

पाकिस्तानको धैर्य
सहज लक्ष्य पछ्याएको पाकिस्तानले पनि सोचेजस्तो सुरुवात गर्न सकेन । नेपाली बलरले सकेसम्म पाकिस्तानी ब्याट्सम्यानलाई रोकेका थिए । तर, अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका ब्याट्सम्यानहरूले आफूलाई धर्यतामा राखे । ओपनरद्वय हसिमबुलाह खान र सैम आयुवले पहिलो विकेटका लागि ३७ रन जोडे । पाकिस्तानका दुवै ओपनरलाई पवनले आउट पारे । खानले १२ रन र सैमले २४ रन बनाए । दुवै ओपनर आउट हुँदा पाकिस्तान ९.२ ओभरमा ५० रनको अवस्थामा थियो । ओमेर युसुफ र तायाव ताहिरले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै पाकिस्तानलाई ११४–३ को स्थितिमा पुर्‍याए । 

पाकिस्तानको ब्याटिङ इनिङ्समा अर्धशतकीय रन बनाएका ताहिरलाई ललितले क्याच आउट पारे । ताहिरले ६७ बलमा ६ चौका प्रहार गरे । ओमेरले ४० बलमा ३६ रन बनाए । त्यसपछि कमरान घुलामले २६ बलमा दुई छक्का र एक चौका प्रहार गरे । 

सोमपालले सम्हाले ब्याटिङ
पाकिस्तानसँगको प्रतिस्पर्धामा कमजोर ब्याटिङ गरेको नेपाल इनिङ्सको एक समय ७२–८ को स्थितिमा थियो । सोमपालले अलराउन्डर भूमिका निर्वाह गर्दैै नेपालको फितलो ब्याटिङलाई सुधारे । उनले नवौँ र दसौँ विकेटका लागि गतिलो साझेदारी गर्दै पाकिस्तानविरुद्ध सम्मानजनक लक्ष्य दिन सफल भए । प्रतिश जिसी र सोमपाल कामीले नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरे । प्रतिशले २४ बलमा २६ रन बटुल्न एक चौका र दुई छक्का प्रहार गरे । त्यसपछि सोमपालले ललितसँग दसौँ विकेटका लागि ४९ रनको साझेदारी गरे । सोमपालले बढीजसो स्ट्राइक आफूले लिए । ललितले केवल सोमपाललाई साथ मात्र दिए । सोमपालले एक सय एक बलमा सर्वाधिक ७५ रनको योगदान दिए । उनले नौ चौका र दुई छक्का प्रहार गरे । सोमपाल नेपालको ब्याटिङमा आउट हुने अन्तिम खेलाडी थिए ।