कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले विधि र प्रक्रिया निर्धारण गरेको छ । आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नुपर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ । छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फारम भर्ने विधि, त्रुटि भए सच्याउने तरिका, विवरण पेस गर्ने तरिका यसका आधारभूत सूचना हुन् ।
अनलाइन आवेदन फाराम पेस गर्ने विधि
काठमाडौं महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np
वा http://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । यसबाट साउन १२ गते राति ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो संलग्न गर्नुपर्छ । यसरी पेस गर्नुपर्ने कागजातमा एसइईको प्रवेश–पत्र, मार्कसिट र चारीत्रिक प्रमाणपत्र पेस गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रसँगै अनुसूचीमा राखिएका सिफारिस पेस गर्नुपर्छ ।
तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाणपत्र पेस गर्नुपर्छ ।पेस भएका विवरणहरू झुटाे ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गरिनेछ ।
फाराम भर्न चाहिने विवरण
अनलाइन फाराम भर्दा एसइई प्रवेश–पत्रको विवरण भरेपछि मात्र मुख्य फारम खुल्नेछ । विवरण गलत भए फारम खुल्दैन । मुख्य पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नुपर्नेछ । माग गरिएका सबै विवरणहरू भरेपश्चात् स्वघोषणा स्वीकार (सेल्फ डिक्लियरेसन स्टेटमेन्ट एसेप्ट) गर्नुपर्छ । यसो नगर्दासम्म फाराम सुरक्षित (सेभ) हुँदैन।
फाराम सुरक्षित (सेभ) गर्दा त्रुटि भएमा, विवरण भर्न छुटेमा वा मागअनुसारको विवरण नभएका ठाउँहरूमा रातो अक्षरले दर्शाएको हुन्छ । यी विवरणहरू सच्याएर फेरि माथिबाटै सबै विवरण रुजु गरेर फारम भर्नुपर्छ । एकपटक फारम भरेर सुरक्षित (सेभ) गरेपछि फारम पेस (समिट) नगर्दासम्म जतिपटक पनि सच्याउन सकिन्छ ।
आफ्ना सबै विवरणहरू भरिसकेर सुरक्षित (सेभ) गरेपछि अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । यो पेजमा माथिबाट सबै विवरण पढेर सही भए–नभएको जाँच गर्नुपर्छ । सही नभएमा पेजको माथि दिइएको संशोधन गर्ने बटन (इडिट बटन) मा क्लिक गरेर सच्याउन सकिन्छ । आफूले भरेको विवरण ठीक भएमा पेस गर्ने बटन (समिट बटन) मा क्लिक गर्नुपर्छ ।
यो बटनमा थिचेपछि सुनिश्चित गर्ने बक्स (कन्फरमेसन बक्स) आउँछ । आफूले भरेको विवरण सही भएमा ठीक बटन (ओके बटन)मा थिच्नुपर्छ । फारम अनलाइन पेस (फम समिट) भएपछि कुनै पनि विवरण सच्याउन सकिँदैन ।
आवेदन फारम अनलाइन पेस (फर्म समिट) भएपछि सुनिश्चित गर्ने (कम्फरमेसन) पृष्ठ देखिनेछ । यो पेजलाई प्रिन्ट गर्न र डाउनलोड गर्न सकिन्छ । यो पेज अनलाइन फारम भरेको प्रमाण हो ।
आवेदन दिन योग्यता र छनोट प्रक्रिया
छात्रवृत्तिमा आवेदन दिन एसइईमा न्यूनतम १.६ जिपिए ल्याएको हुनुपर्नेछ । सामुदायिक विद्यालयबाट एसइई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नुपर्छ । संस्थागत (निजी) विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन सिफारिस गर्नुपर्छ ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई पाँच प्रतिशत, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोवास भएका सबै विद्यार्थीका लागि नाै प्रतिशत, ल्यान्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोवास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि एक प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिवासी र जनजातिलाई १५ प्रतिशत, मधेसीलाई १२ प्रतिशत, खस–आर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार दलितलाई नाै प्रतिशत, मुस्लिमलाई दुई प्रतिशत, थारूलाई चार प्रतिशत, अपांगता भएको व्यक्तिलाई दुई प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई चार प्रतिशत, सहिद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्वपीडित नागरिकका परिवारलाई दुई प्रतिशत छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रूपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोवास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।
आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौं महानगरवासीलाई प्राथमिकता दिइनेछ । वैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालयसरह मानिनेछ ।
पेस गर्नुपर्ने सिफारिस
आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेस गर्नुपर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्वपीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सिफारिस प्राप्त गर्नुपर्छ । अपांगता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले बसोवास भएको स्थानीय तहको वडा कार्यालयबाट सिफारिस लिनुपर्छ ।
पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्दा दरखास्त दिँदाका बखत निज सोही स्थानमा स्थायी बसोवास गरेको भनी प्रमाणित गरेको हुनुपर्नेछ । त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकता पेस गर्नुपर्छ । नागरिकता नभए जन्मदर्ताको प्रमाणपत्र पेस गर्नुपर्छ ।
घाइते वा अपांगता भएका व्यक्तिले आवश्यक अन्य सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरासहितको सिफारिस आवेदन साथ पेस गर्नुपर्छ ।
प्रवेश–पत्र र परीक्षा
छात्रवृत्ति परीक्षा हुने मितिभन्दा दुई दिन अघिदेखि प्रवेश–पत्र प्रिन्ट गर्ने बटन (प्रिन्ट एडमिट कार्ड बटन) मा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश–पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्रसम्बन्धी व्यवस्था यसै कार्डमा उल्लेख हुनेछ ।
परीक्षा दिन आउँदा अनिवार्य रूपमा प्रवेश–पत्र ल्याउनुपर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घन्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्यालकुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेटलगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् ।
परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षाहलमा प्रवेश दिइनेछैन । परीक्षाका लागि आवश्यक पर्ने कालो कलम (ब्लाक जेलपेन) विद्यार्थी आफैँले ल्याउनुपर्नेछ । आफूलाई सही लागेको उत्तर ओएमआर सिटभित्रको थोप्लो (बबल) मा पूरै पोत्नुपर्नेछ । लेखिसकेको उत्तर सच्याउन तथा टिपेक्सजस्ता करेक्टिङ मसीको प्रयोग गर्न पाइँदैन । सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अंक प्राप्त हुनेछैन ।
परीक्षार्थी निर्धारित समयको दुई घन्टा सकिएपछि मात्र परीक्षाहलबाट बाहिर जान पाउनेछन् । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिन प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।
प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णांक
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ) हुँदैन ।
नतिजा प्रकाशन
परीक्षाको नतिजा प्रकाशनसँगै अनलाइन म्याचिङकाे मिति निश्चित गरिनेछ । योग्यता क्रमअनुसार अनलाइन म्याचिङमार्फत परीक्षार्थी आफैँको रोजाइ र प्राथमिकताअनुसार उम्मेदवारको योग्यताक्रममा विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।