मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २९ शुक्रबार
  • Thursday, 19 December, 2024
दीपक थापा
२o८o असार २९ शुक्रबार o८:३६:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अर्थतन्त्र सुधारका लागि आर्थिक सचेतना

मुलुकको अर्थतन्त्र कहालीलाग्दो हुनुमा राजनीतिक नेतृत्व, जिम्मेवार निकाय र जनतामा आर्थिक सचेतना नहुनु प्रमुख कारण हो

Read Time : > 5 मिनेट
दीपक थापा
नयाँ पत्रिका
२o८o असार २९ शुक्रबार o८:३६:oo

मुलुकको अर्थतन्त्र कहालीलाग्दो छ । बढ्दो वैदेशिक व्यापार घाटा, उच्च बेरोजगारी दर, बजेटको पुँजीगत खर्चको कमजोर कार्यान्वयन दर तर बढ्दो साधारण खर्च, बजारमा आयातीत उपभोग्य वस्तुको प्रभुत्वले सार्वजनिक ऋणको भार प्रतिदिन बढ्दै जानुले मुलुक आर्थिक रूपमा टाट पल्टिन लागेको संकेत गरेको छ । उच्च शिक्षा, विद्यालय शिक्षा हासिल गरेकाहरू अवसरको खोजीमा विदेशीको ढोका चहार्दै बिदेसिन बाध्य छन् । नवीन सीप, उद्यम अथवा व्यवसाय गरी उद्योगी बन्ने, आर्थिक अवसर सिर्जना गर्ने र स्वदेशमै लगानी गरी केही गर्छु भन्ने उत्साहीको जमात अत्यन्त कम छ । यो परिस्थिति आउनुमा राजनीतिक नेतृत्व, जिम्मेवार निकाय र जनतासँग अर्थतन्त्रबारे ज्ञानको कमी र आर्थिक सचेतना नहुनु प्रमुख कारण हो । 

देशभित्रै आफ्नै उत्पादित उपभोग्य वस्तुको खडेरी भएको वेला पूर्वअर्थमन्त्री भइसकेकाहरू राज्यले चलाएका उद्योग र कलकारखाना चलाउन दिने सरकारी अनुदानले खर्च बढाएकाले उद्योग बन्द गर्नुपरेको सार्वजनिक मन्तव्य दिन्छन् । नेताले आफ्नो व्यवस्थापकीय कमजोरी लुकाउँदै आधारभूत आर्थिक विषयमा जनतामा हुने चेतनाको कमीको फाइदा उठाउँदै सजिलै उनीहरूलाई झुक्याउँछन् । वास्तविक उपयुक्त अर्थ नीति र यससँग सम्बन्धित भएका कतिपय कार्यक्रमको प्रभावकारी कार्यान्वयनको असफलताका कारण मुलुकमा आर्थिक संकट आएको छ । तसर्थ पनि देशको आर्थिक समस्यामा आधारित भई व्यापक छलफल अध्ययनसहित प्रभावकारी अर्थनीति तर्जुमा गरी अर्थतन्त्र सुधार्न र सो नीतिको सफल कार्यान्वयनका निम्ति सबैमा आर्थिक सचेतीकरणको टड्कारो आवश्यकता देखिन्छ । 

के हो आर्थिक सचेतीकरण ? :  आर्थिक सचेतीकरण भन्नाले अर्थतन्त्रसँग सम्बन्धित आर्थिक क्रियाकलापको प्रवृत्ति, विचार तथा तथ्यका बारेमा बुझेर विश्लेषण गर्न सक्ने र भविष्यमा हुने आर्थिक स्थितिको अनुमान गर्न सामान्य सामथ्र्य हासिल गर्नु हो । यो सामथ्र्य हासिल गरेको व्यक्तिले आफ्नो देशको सार्वजनिक नीति, व्यवसाय सञ्चालन र आर्थिक तथा वित्तीय नीति निर्णयहरूमा प्रभाव पार्ने विभिन्न परिस्थतिबारे अरूलाई पनि सचेतीकरण जगाउने काम गर्न सक्छन् । यो शैक्षिक तथा व्यावसायिक दक्षताको थप विकाससहित नवीनता सिर्जनशीलताको महत्वपूर्ण औजार हो । बजारमा हुने आपूर्ति र मागको अन्तरक्रिया, मुद्रास्फीति तथा मुद्रास्फीति, ब्याजदर, कुल गार्हस्थ्य उत्पादन बेरोजगारी, वित्तीय र मौद्रिक नीति, राष्ट्रिय आय गणना, अन्तर्राष्ट्रिय व्यापार र बजार गतिशीलताजस्ता आधारभूत आर्थिक सिद्धान्त बुझ्नु नै आर्थिक चेतना हो । अर्थशास्त्रको गहिरो अध्ययनविना यसका सामान्य तथ्य तथा सिद्धान्तको अध्ययन गरेर अर्थतन्त्रप्रति चासो राखेर पनि यो दक्षता हासिल गर्न सकिन्छ ।

अर्थतन्त्रको बारेमा जानकारले मात्र उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा सही निर्णय गर्ने सामर्थ राख्दछन् । यो सामथ्र्य भएमा आर्थिक कारकहरूले उनीहरूको वित्त, रोजगारीका अवसर, लगानी छनोटमा पार्ने असर पहिचान गर्न, व्यावसायिक क्रियाकलापको बजार अवस्था, वर्तमान तथा भविष्यमा सिर्जना हुन सक्ने आर्थिक अवसर र व्यवसायबाट धेरै नाफा कमाउनका निम्ति उठाइएका जोखिमको मूल्यांकन गर्न आर्थिक वृद्धि र विकासको निम्ति प्रभावकारी नीति बनाउन र सफल कार्यान्वयन गर्न भूमिका खेल्न यसले सहयोग गर्दछ । यसका निम्ति शिक्षा, सान्दर्भिक पुस्तकहरू पढ्ने, आर्थिक समाचार र विश्लेषण सुन्ने बुझ्ने र आर्थिक विषयहरूमा छलफल र बहसहरूमा भाग लिई अर्थतन्त्रबारे आफ्नो धारणा बनाउन सकिन्छ । 

आर्थिक चेतना राजनीतिक चेतनाभन्दा अलग विषयवस्तु हो ? :  राजनीतिक र आर्थिक सचेतना अलग विषयवस्तुजस्तो देखिए पनि अन्तरसम्बन्धित छन् । राजनीतिक चेतना राजनीतिक प्रणाली, संस्था र नीतिहरूमा केन्द्रित हुन्छ, जबकि आर्थिक सचेतना आर्थिक सिद्धान्त, प्रणाली र यसका कारक तत्वसँग सम्बन्धित छ । राजनीतिक नेतृत्वले आर्थिक प्रणाली चलाउने, आर्थिक नीति बनाउने हुँदा अहिलेको परिवर्तन तथा आधुनिक विकासक्रमका बारेमा बुझ्नका निम्ति दुवै चेतनाको जरुरी छ । 

लक्ष्य र उद्देश्य :  राजनीतिक चेतनाले राजनीतिक प्रणाली, संस्था, प्रक्रिया र नीतिबारे सचेत भई यसले सरकारको सञ्चालन प्रक्रिया र राजनीतिक विचारधाराबारे, मतदान प्रक्रिया, समाजमा राजनीतिक कार्यका प्रभावबारे बुझ्न मद्दत गर्दछ भने आर्थिक चेतनाले आर्थिक सिद्धान्त, अवधारणा तथा वस्तु र सेवाको उत्पादन प्रक्रिया, वितरणयोग्य उपभोगलाई प्रभाव पार्ने कारक तत्वहरूको बारेमा बुझ्न सहयोग गर्दछ । 

आर्थिक अराजकता, बेथिति, घुस, भ्रष्टाचार तथा आर्थिक अनियमिततासहितको अनौपचारिक अर्थतन्त्रको अभ्यास बढ्दा देश आर्थिक रूपमा कंगाल बन्छ । अतः यसलाई रोक्न आर्थिक सचेतना अपरिहार्य छ । 

अध्ययन क्षेत्र :  राजनीतिक चेतनाभित्र सरकार, कानुन, सार्वजनिक नीति, निर्वाचन, राजनीतिक दल, मानवअधिकार, सामाजिक न्याय, वैदेशिक सम्बन्धजस्ता विषयहरूको विस्तृत दायरालाई समेट्छ भने आर्थिक चेतनाले आपूर्ति र माग, मुद्रास्फीति, बेरोजगारी, ब्याजदर, कर, लगानी, व्यापार नीति, बजार प्रतिस्पर्धा, व्यापार चक्र र वित्तीय प्रणाली सञ्चालनजस्ता विषयलाई समेट्छ । 

अन्तरसम्बन्ध :  राजनीतिक चेतना र आर्थिक चेतना फरक भए तापनि तिनीहरू एकआपसमा अन्तरसम्बन्धित छन् । राजनीतिक नीति र निर्णयहरूले आर्थिक नीति र निर्णयमा प्रभाव पार्छ । आर्थिक अवस्थाले राजनीतिक सफलतालाई उजागर गर्दछ । आर्थिक सचेतीकरणका फाइदा तथा निजी आर्थिक व्यवस्थापनमा आर्थिक चेतनाको भूमिका अर्थतन्त्रसँग सम्बन्धित सोचको उजागर गर्ने मूल मन्त्र हो । यसलाई आर्थिक समस्याको विश्लेषण गर्न, वैकल्पिक समाधानको पहिचान गरी बुद्धिमानीपूर्वक निर्णयमा पुग्न प्रयोग गर्न सकिन्छ । आर्थिक चेतनाले व्यक्तिगत र सामाजिक कल्याणलाई बढावा दिन भूमिका खेल्नसमेत सक्छ ।

व्यवसाय र उद्यमशीलता :  उद्यमी र व्यवसायीमा आर्थिक सचेतनाले बजार गतिशीलता, उपभोक्ता प्रवृत्ति र प्रतिस्पर्धी वातावरण बुझ्न सक्षम बनाई उपयुक्त व्यावसायिक निर्णय गर्न, परिवर्तित बजारको अवस्थाअनुसार उद्यम व्यवसाय चलाउन र आर्थिक सिद्धान्तको व्यावहारिक प्रयोग गराउन सजिलो हुन्छ ।

अन्तर्राष्ट्रिय व्यापार र सम्बन्ध :  आर्थिक चेतनाको विकासले देशहरूले अन्तर्राष्ट्रिय व्यापारलाई लाभदायक व्यापार बनाउनका निम्ति उचित व्यापार सम्झौताहरू गर्न विश्वव्यापी चालू आर्थिक स्थितिलाई बुझी व्यापार नीति तय गर्न र तुलनात्मक लाभहरू अध्ययन गरी अर्थतन्त्र राम्रो बनाउन सक्छन् ।

वित्तीय स्थायित्व : आर्थिक सचेतनाले वित्तीय स्थायित्व कायम गर्न सहयोग गर्छ । यसले व्यक्ति र सरकार दुवैका लागि सुहाउँदो वित्तीय निर्णय, ऋण व्यवस्थापन र दीर्घकालीन योजनालाई अगाडि बढाई आर्थिक जोखिम र कमजोरीहरू बुझेर वित्तीय संकट कम गरी दीर्घकालीन स्थिरता बढाउन मद्दत गर्छ ।

आर्थिक अवसर र जोखिम पत्ता लगाउँछ :  अर्थतन्त्रबारे सचेत व्यक्तिले सम्भावित जोखिम र अवसरहरू पहिचान गर्न सक्छन् । बजार प्रवृत्ति, लगानीका अवसर र आफ्नै आर्थिक सुरक्षाका लागि हुन सक्ने सम्भावित जोखिम पहिचान गर्न सजिलो हुन्छ । यस जानकारीको साथ, मानिसहरूले आफ्नो रणनीतिहरू समायोजन गरेर, अवसरहरू प्रयोग गरेर र जोखिमहरू घटाएर आफ्नो वित्तीय सुरक्षा र व्यक्तिगत वृत्ति सुधार गर्न सक्छन् । यस्तै, आर्थिक नीतिले आर्थिक समाचार, घटना र नीतिहरू बुझ्न र मूल्यांकन गर्न मद्दत गर्दछ ।

आर्थिक जागरुकता सचेतीकरण कति आवश्यक ? :  सामान्यतया आर्थिक चेतनाले मानिस, व्यवसाय, निर्णयकर्ता र समाजलाई आर्थिक कठिनाइको सामना गर्न, आर्थिक अवसरको पहिचान र अवसरको उचित लाभ उठाउनुका साथै कुशलतापूर्वक निजी र सामाजिक कल्याण दुवैलाई अगाडि बढाउन आवश्यक स्रोतहरू छनोट गर्न सूचना जानकारी प्रदान गर्दछ । परम्परागत कृषि प्रणाली र विप्रेषणले चलेको मुलुकको आर्थिक विकासमा आर्थिक सचेतीकरणले तलको महत्वलाई समेट्न सक्छ ।

लगानी आकर्षण :  उच्च आर्थिक चेतनास्तर भएको राष्ट्रले स्वदेशी र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने सम्भावना बढी हुन्छ । लगानीकर्ताले लगानीको सुरक्षा, उपयुक्त व्यावसायिक वातावरण र उद्यम विस्तार गर्न सकिने अवसरहरू खोज्छन् । आर्थिक चेतनाले शासकलाई लगानीका लागि आवश्यक पूर्वाधार स्थापना गर्न र उपयुक्त वातावरण तयार गर्न सक्षम बनाउँछ । 

अन्तर्राष्ट्रिय व्यापार :  अन्तर्राष्ट्रिय व्यापारमा प्रभावकारी सहभागिताका लागि आर्थिक सिद्धान्तको पूर्ण ज्ञान चाहिन्छ । देशहरूले निर्यात सम्भाव्यता पहिचान गर्न र विश्वव्यापी बजार प्रवृत्ति, व्यापार नीति र अवसरहरू बुझेर प्रतिस्पर्धात्मक लाभ सिर्जना गर्न सक्छन् । देशहरूले नयाँ बजार खोल्न, आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्न र अन्तर्राष्ट्रिय व्यापारमा संलग्न भएर आर्थिक वृद्धिलाई बढावा दिन सक्छन् । 

गरिबी उन्मूलन :  आर्थिक चेतनाले समावेशी विकास र गरिबी न्यूनीकरणमा सहयोग गर्छ । यसले आय असमानता घटाउन, रोजगारी वृद्धिलाई बढावा दिन र सामाजिक कल्याणलाई बढावा दिन नीतिनिर्माताहरूको रणनीतिको विकासमा मद्दत गर्छ । लक्षित नीतिहरू लागू गरी गरिबीको मूल कारणहरू पहिचान गरिएमा आर्थिक विकास अधिक समतामूलक र दिगो हुन सक्छ । नेपालले अहिलेसम्म परम्परागत आर्थिक पद्धतिलाई नै अँगाल्दै आइराखेको छ । कृषिमा अझै पनि ठूलो जनसंख्या निर्भर रहेको छ, तर कृषिमा आधुनिकीकरण नहुँदा प्रतिफलको तुलनामा लागत बढी हुनाले त्यो निर्वाहमुखी छ । 

कुल गार्हस्थ्य उत्पादनको ४१.५७ प्रतिशत सार्वजनिक ऋणले ओगटेको छ । चालू खाताको मौज्दात लगभग ६ खर्ब २३ अर्ब र भुक्तानी सन्तुलन दुई खर्ब ५५ अर्बले घाटामा रहेको देखिन्छ । शोधनान्तर स्थिति घाटामा रहेको देखिन्छ । हाम्रो मुद्राको क्रयशक्ति घट्नाले मुद्रा अवमूल्यन हुने क्रम बढिरहेको छ ।

आर्थिक सर्वेक्षण ०७९/८० अनुसार वैदेशिक व्यापारको स्थिति हेर्ने हो भने आव ०६४/६५ मा निर्यातको अंश २० प्रतिशत र आयातको अंश ८० प्रतिशत रहेकामा त्यसको १५ वर्षपछि आव ०७९/८० मा आइपुग्दा त्यो घटेर निर्यात ९ प्रतिशत र आयात भने ९१ प्रतिशत हुन पुगेको छ ।

विप्रेषण भने राष्ट्र बैंकको तथ्यांकअनुसार भने ०७/७५ मा ८७९.३७ अर्ब रुपैयाँ रहेकोमा ०७९/८० मा आइपुग्दा ७९४.३२ अर्बले बढेको छ । यसले स्वदेशमा अवसर नहुँदा विदेश जानेको लर्काे दिनप्रतिदिन बढिरहेको देखाउँछ । ०७९ को फागुनसम्म नेपालमा कुल ८९४७ वटा उद्योग दर्ता भएकोमा ठूला उद्योग १५.१ प्रतिशत मझौला उद्योग २३ प्रतिशत र साना उद्योग ६१.८ प्रतिशत रहेको छ । तर, यसले मुलुकलाई आवश्यक उपभोग्य वस्तु उत्पादन गर्न असमर्थ रहेको वा थोरै उत्पादनको अंश रहेकाले गर्दा कुल उपभोग्य वस्तुको लगभग शतप्रतिशत नै बाहिरबाट आयात गर्न बाध्य छौँ ।

आर्थिक चेतनाको कमीले छाएको आर्थिक निराशालाई हटाउन यदि शासकीय नेतृत्व राष्ट्रप्रेमले ओतप्रोत उच्च आर्थिक चेतनाको स्तर भएको भए सायद उनीहरूले देशको आर्थिक हितपिरीतका कार्य, देशलाई नोक्सान हुने गतिविधि सन्धि सम्झौता गर्दैनथे कि भन्ने हाम्रो बुझाइ हो । चार दशकयता हेर्ने हो भने आर्थिक नोक्सानी र समग्र मुलुकको दीर्घकालीन हितमा नकारात्मक प्रभाव पार्ने गतिविधि, आर्थिक अराजकता, बेथिति, घुस, भ्रष्टाचार तथा आर्थिक अनियमिततासहितको अनौपचारिक अर्थतन्त्रको अभ्यास बढ्दा मुलुकलाई आर्थिक रूपमा कंगाल बनाउँछ । अतः  यसलाई रोक्न आर्थिक सचेतना अपरिहार्य छ । 

(थापा अर्थशास्त्रका प्राध्यापक हुन्)