१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Sunday, 29 September, 2024
२o८o असार २८ बिहीबार १o:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच हजार विद्यार्थीलाई सांगीतिक पिटी प्रार्थना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार १o:५१:oo

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले करिब पाँच हजार विद्यार्थीलाई सांगीतिक व्यायाम तथा प्रार्थना व्यवस्थापन तालिम प्रदान गरेको छ । गुल्मीको रेसुंगा नगरपालिका, गुल्मीदरबार गाउँपालिका तथा पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका शिक्षक र विद्यार्थीलाई सांगीतिक व्यायाम तथा प्रार्थना व्यवस्थापन तालिम प्रदान गरिएको डिभिजन कार्यालयले जनाएको छ । 

विद्यार्थीलाई खुसीका साथ कक्षाकोठामा प्रदेश गराउने उद्देश्यले विद्यालयका विद्यार्थी तथा शिक्षकलाई संगीतको माध्यमबाट सांगीतिक व्यायाम तथा प्रार्थना व्यवस्थापन तालिम प्रदान गरिएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पुण्यप्रसाद न्यौपानेले दिए । पाल्पामा केही समय पहिले नै तालिम दिइएको थियो । गुल्मीमा रेसुंगाका सिद्धबाबा र रेसुंगा माविका करिब दुई चार सय विद्यार्थी र रेसुंगा तथा गुल्मी दरबारका ३७ जना शिक्षक तथा शिक्षिकालाई त्रि–दिवसीय तालिम प्रदान गरिएको सूचना अधिकारी न्यौपानेले बताए । 

बुधबार रेसुंगा माविको प्रागंणमा पिटीको डेमो प्रदर्शन गरेर तालिमको समापन गरिएको छ । रेसुंगा नगरपालिकाको उपमेयर अमृतादेवि कुँवर, शिक्षा शाखा प्रमुख पीताम्बर पन्थी, सिद्धबाबा मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबहादुर थापा, रेसुंगा माविका प्रधानाध्यापक प्रेमनारायण भण्डारी, विभिन्न विद्यालयका शिक्षकलगायतको कार्यक्रममा सहभागिता रहेको थियो । तालिममा सहभागी सिद्धबाबा माविका विद्यार्थी निशान खत्रीले सांगीतिक व्यायाम र प्रार्थनाले शरीरमा स्फुर्ती प्राप्त हुने प्रतिक्रिया दिए । प्रमुख सहजकर्ता म्युजिकल पिटीका राष्ट्रिय अभियन्ता तथा कालिका मानव ज्ञान माविका खेलकुद प्रशिक्षक हरिश ओलीले प्रार्थनाबाट अनुशासन र अध्ययनको मनस्थिति सुरु हुने भएकाले सांगीतिक व्यायाम र प्रार्थना तालिमलाई राष्ट्रव्यापी अभियानको रूपमा सञ्चालन गरेको बताए । 

रेसुंगा माविका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले सांगीतिक व्यायाम तथा प्रार्थना व्यवस्थापन तालिमले शिक्षक, विद्यार्थीसहित स्थानीयलाई समेत उत्साहित बनाएको प्रतिक्रिया दिए । सामाजिक डिभिजन कार्यालय पाल्पामा डिभिजन प्रमुख हरिलाल अर्यालले विद्यार्थीसँगै शिक्षकहरूलाई पनि प्रशिक्षण दिएकाले आफ्नोसहित छिमेकी विद्यालयहरूमा समेत सांगीतिक व्यायाम र प्रार्थनाक लागि सहयोग र उत्प्रेरित गरिने बताए । विद्यालयहरूमा निरन्तर अनुगमन र मूल्यांकन पनि हुने भएकाले प्रभावकारी कार्यान्वयनको विश्वास अर्यालले गरे । 

तालिम अवधिभर १६ पिटी र ५२ प्रि–पिटी भएका थिए । बिस्तारै पालिकाहरूलाई उत्प्रेरित गर्ने र प्रदेश सरकारको शैक्षिक शासन विकास र सेवाप्रवाहलाई चुस्तदुरुस्त राख्ने र तीन तहका सरकारबीचको प्रदेश भएकाले संघ र स्थानीय तहलाई जोड्ने माध्यमको रूपमा आफूहरूले काम गरिरहेको डिभिजन प्रमुख अर्यालले बताए । उनले विद्यालयहरूको भौतिक संरचनासँगै समग्र शिक्षा विकासको क्षेत्रमा सहजीकरण गरिरहेको बताए ।