जन्मका आधारमा नागरिकता लिनेहरूका सन्तान चार लाखको हाराहारी र बाबुको पहिचान नखुलेको आमाबाट जन्मेका सन्तान करिब एक लाख रहेको अनुमान
नयाँ नागरिकता ऐनअनुसार मुलुकभर झन्डै ११ हजार नयाँ नागरिकता वितरण भएका छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी ७ असारमा सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार देशभर नागरिकता वितरण सुरु भएको थियो ।
गृह मन्त्रालयको तथ्यांकअनुसार नयाँ ऐन लागू भएपछि मुलुकभर १० हजार नौ सय ११ जनाले नेपाली नागरिकता लिएका छन् । नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो ।
गृह मन्त्रालयस्थित नागरिकता शाखाका उपसचिव कृष्ण कटुवालले नागरिकतासम्बन्धी ऐन लागू भएपछि मुलुकभर झन्डै ११ हजारले नयाँ नागरिकता प्राप्त गरेको बताए । ‘नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित भयो । त्यसलगत्तै राजपत्रमा प्रकाशित भयो । महिना दिनको रेकर्ड हेर्दा मुलुकभर झन्डै ११ हजारले नयाँ नागरिकता प्राप्त गरेका छन् । यो संख्या दैनिक वृद्धि भइरहेको छ,’ उनले भने ।
गत १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । विधेयक राजपत्रमा प्रकाशित भएलगत्तै नागरिकता वितरण सुरु भएको थियो । तर, सर्वोच्चमा रिट परेपछि सुरुमा अदालतले यसलाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, सर्वोच्चले ७ असारमा नयाँ ऐन कार्यान्वयनका लागि बाटो खुला गरेपछि बल्ल नागरिकता वितरणले गति लिएको थियो ।
गृहको तथ्यांकअनुसार नयाँ ऐनअनुसार सबैभन्दा धेरै मधेसका जिल्लामा नयाँ नागरिकता वितरण भएका छन् । गृहका उपसचिव कटुवालका अनुसार नयाँ ऐनअनुसार मुलुकभर २९ जिल्लाबाट नागरिकता वितरण भएको र जसमध्ये धेरैजसो तराई–मधेसका जिल्ला छन् ।
नयाँ ऐनअनुसार नागरिकता वितरण गरिएका २९ जिल्लामध्ये नयाँ नागरिकता लिने सबैभन्दा धेरै मोरङबाट छन् । यस अवधिमा मोरङबाट मात्रै एक हजार आठ सय ८४ जनाले नागरिकता लिएका छन् । त्यसपछि सबैभन्दा धेरै नागरिकता बर्दियाबाट वितरण भएका छन् । तथ्यांकअनुसार बर्दियामा एक हजार पाँच सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ ।
त्यस्तै, यस अवधिमा सर्लाहीबाट एक हजार ७४, रुपन्देहीबाट नौ सय ६६, दाङबाट आठ सय ५८, झापाबाट पाँच सय २५, सुनसरीबाट चार सय २७, सिराहाबाट ६ सय ६, धनुषाबाट पाँच सय ७६, महोत्तरीबाट ६ सय ७३, रौतहटबाट दुई सय ३६, बाराबाट एक सय ६५, पर्साबाट ६ सय ५०, चितवनबाट एक सय २९ र नवलपरासी (पश्चिम)बाट पाँच सय ४३ लाई नागरिकता वितरण गरिएको छ ।
नेपालको संविधान २०७२ मा जन्मसिद्ध नेपाली नागरिकका सन्तान, बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानले वंशजका आधारमा नगरिकता लिन सक्ने व्यवस्था गरिएको छ । तर, विविध विवादका कारण कानुन बन्न नसक्दा उनीहरूले नागरिकता पाउन सकेका थिए ।
गृहका अनुसार मुलुकभर जन्मका आधारमा नागरिकता लिएकाहरूको संख्या करिब एक लाख ९० हजार छ । उनीहरूबाट जन्मेका कुनै पनि सन्तानले नेपाली नागरिकता लिन सकेका थिएन । उनीहरूका सन्तान चार लाखको हाराहारीमा रहेको गृहको आँकडा छ । जसकारण राज्यबाट प्रदत्त न्यूनतम अधिकार उपभोग गर्नबाट उनीहरू वञ्चित थिए ।
त्यस्तै, बाबुको पहिचान नखुलेको आमाबाट जन्मेका सन्तानले पनि नागरिकता प्राप्त गर्न सकेका थिएनन् । उनीहरूसमेतको संख्या जोड्दा मुलुकभर पाँच लाखभन्दा धेरै नागरिकताविहीन हुने अवस्थामा पुगेको सरकारी आँकडा छ ।
नयाँ नागरिकता ऐनले गैरआवासीय नागरिकलाई पनि नेपाली नागरिकता लिने सक्ने बाटो खुला गरिदिएको छ । तर, उनीहरूले प्राप्त गर्ने नागरिकता प्रकृति राजनीतिक अधिकारसहितको होइन । जसका लागि नियमावली बन्नु आवश्यक छ । सोही कारण उनीहरूलाई भने तत्काल नागरिकता वितरण गरिएको छैन ।
गृहले नागरिकता वितरणलाई सहज बनाउन आवश्यक नियमावली निर्माणको पहल सुरु गरिसकेको छ । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार मुलुकभरका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाएका थिए । बैठकमा उनले नागरिकता वितरणमा देखिएका अप्ठ्यारा फुकाउन नियमावली बनाउन गृह लागिपरेको बताएका थिए ।
‘नागरिकता वितरण सहज बनाउन नियमावलीको आवश्यकता छ । यसको तयारीमा गृह जुटको छ । यसलाई प्रभावकारी बनाउने उद्देश्यले शनिबार गृहमन्त्रीज्यूले सबै सिडिओसँग बैठक गर्नुभएको छ । नियमावलीले बाधा नपुर्याउने हकमा नागरिकता वितरणलाई द्रुतगतिमा अघि बढाउन उहाँले सिडिओलाई निर्देशन दिनुभएको छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने ।
नयाँ ऐनअनुसार जसले नागरिकता लिन पाउँछन्
- ३ असोज ०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
- नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
- यस ऐनबमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिनेछ ।
- विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।
नागरिकता वितरण सहज बनाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ ऐनअनुसार नागरिकता वितरण सहज बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । शनिबार मुलुकभरका प्रमुख जिल्ला अधिकारीको बैठकमा गृहमन्त्री श्रेष्ठले नागरिकता वितरणमा देखिएका अप्ठ्यारा फुकाउन गृहले काम गरिरहेको समेत जानकारी दिएका थिए । ‘नागरिकता वितरण सहज बनाउन नियमावलीको आवश्यकता छ । यसको तयारीमा गृह जुटेको छ । यसलाई प्रभावकारी बनाउने उद्देश्यले शनिबार गृहमन्त्रीज्यूले सबै सिडिओसँग बैठक गर्नुभएको छ । नियमावलीले बाधा नपुर्याउने हकमा नागरिकता वितरणलाई द्रुत गतिमा अघि बढाउन उहाँले सिडिओलाई निर्देशन दिनुभएको छ,’ गृहप्रवक्ता केदारनाथ शर्माले भने ।
२९ जिल्लामा कहाँ कति नागरिकता वितरण ?
जिल्ला : वितरण
झापा : ५२५
मोरङ : १८८४
सुनसरी : ४२७
सिराहा : ६०६
धनुषा : ५७६
महोत्तरी : ६७३
सर्लाही : १०७४
रौतहट : २३६
बारा : १६५
पर्सा : ६५०
चितवन : १२९
नवलपरासी (पश्चिम) : ५४३
रुपन्देही : ९६६
कास्की : १०
उदयपुर : ७३
बर्दिया : १५६७
तनहुँ : ५
स्याङ्जा : ४
काभ्रे : १
भक्तपुर : १
नुवाकोट : २
कापिलवस्तु : ७१३
इलाम : ११
मकवानपुर : १३
सिन्धुली : १९
कैलाली : १५
दाङ : ८५८
धनकुटा : १
सिन्धुपाल्चोक : १
जम्मा : ११,७४८