१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २१ बिहीबार
  • Sunday, 22 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o असार २१ बिहीबार o८:४४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निजी स्कुलका विद्यार्थी ओसार्न नियमविपरीत सार्वजनिक सवारीसाधन प्रयोग

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २१ बिहीबार o८:४४:oo

चार सय बसले बोक्छन् निजीका विद्यार्थी, दैनिक ४८ हजार यात्रु मारमा

काठमाडौं उपत्यकाभित्रका निजी स्कुलले आफ्ना विद्यार्थी ओसार्न सार्वजनिक सवारीसाधन प्रयोग गर्दा दैनिक हजारौँ सार्वसाधारणले सास्ती खेप्नुपरेको छ । ‘पिकआवर’ (बिहान ८ देखि ११ र साँझ ३ देखि ६ बजे) मा सार्वजनिक सवारीसाधन विद्यार्थी बोक्न गएपछि यात्रुहरू घन्टौँसम्म सडकमा बस्न बाध्य छन् ।

यात्रुहरूको गुनासोपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसमा कडाइ गर्ने भएको छ । निजी स्कुलहरूले दैनिक चार सयभन्दा बढी सार्वजनिक सवारीसाधनलाई विद्यार्थी बोक्न प्रयोग गरिरहेका छन् । जसको प्रत्यक्ष असर सर्वसाधारणमा परिरहेको छ । 

स्कुल बस निर्देशिका ०७४ अनुसार सार्वजनिक सवारीसाधनले विद्यार्थी बोक्न पाइँदैन । यातायात व्यवस्था विभागका अनुसार हाल उपत्यकाभित्र सार्वजनिक सवारीसाधनको संख्या करिब तीन हजार छ । त्यसमा चार सयभन्दा धेरै सार्वजनिक सवारीसाधन निजी स्कुलका विद्यार्थी बोक्न प्रयोग भइरहेका छन् ।

‘पिकआवर’मा सर्वसाधारणले सवारीसाधन नपाएको गुनासो गरेपछि कडाइ गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘अहिले उपत्यकाका अधिकांश निजी स्कुलले सार्वजनिक बस प्रयोग गर्छन्, त्यसको असर रुटका यात्रुलाई पर्ने गरेको छ,’ उनले भने, ‘अब हामी यसमा कडाइ गर्दै छौँ ।’ पाँच वर्षअघि तत्कालीन ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेँथूको टोलीले गरेको अध्ययनअनुसार सार्वजनिक सवारीसाधन निजी विद्यालयले प्रयोग गर्दा दैनिक ४८ हजार यात्रु समयमै गाडी चढ्नबाट वञ्चित हुने गरेका थिए । समयमै सवारीसाधन नपाउँदा कार्यालयमा ढिलो पुग्नेजस्ता समस्या देखिएको अध्ययनमा उल्लेख छ । अहिले झनै सार्वजनिक सवारीसाधन निजी विद्यालयले प्रयोग गर्ने क्रम बढेको छ । यातायात व्यवस्था विभागका अनुसार उपत्यभित्र स्कुलहरूले प्रयोग गर्ने पहेलो रङको सवारीसाधन जम्मा तीन हजार छन् । सवारीसाधन अपुग भएपछि निजी स्कुलहरूले भाडामा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने गर्छन् ।

‘पिकआवर’मा थेगिनसक्नु यात्रुको चाप : ट्राफिक प्रहरी 
ट्राफिक प्रहरीको तथ्यांकअनुसार पनि उपत्यकाका निजी विद्यालयले ‘पिकआवर’मा चार सय हाराहारीमा सार्वजनिक सवारीसाधन प्रयोग गर्दै आइरहेका छन् । सोहीकारण रुटको सवारीसाधन नपाएर यात्रुहरूले सास्ती खेप्ने गरेका छन् । स्कुलहरूले नियमविपरीत भाडाका सवारीसाधन प्रयोग गर्दा प्रमुख सडक र चोकमा सवारी कुर्ने यात्रुको चाप थेगिनसक्नु हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यी हुन् धेरै सार्वजनिक सवारीसाधन प्रयोग गर्ने निजी स्कुल
सार्वजनिक सवारीसाधन धेरै प्रयोग गर्ने स्कुलमध्ये, लिटिल एन्जल्स र सेन्ट जेभियर्स स्कुल अग्रनम्बरमा छ । यिनीहरूले क्रमशः ४५ र २० वटाभन्दा बढी सार्वजनिक बस विद्यार्थी बोक्न प्रयोग गर्छ । यस्तै, युलेन्सले १० वटा, प्रिमियर स्कुल दुईवटा र जेम्स स्कुल पाँचवटा सार्वजनिक सवारीसाधन प्रयोग गर्दै आएका छन् ।

त्यस्तै, काठमाडौंको नामी स्कुल, एपेक्स स्कुल, प्रिमियर स्कुल, युलेन्स स्कुल, डिएभी स्कुल, डनबस्को स्कुल, ललितपुरको लिटिल एन्जल्स स्कुल, रातोबंगला स्कुल, सेन्टमेरिज, सुमेरु स्कुललगायतले पिकआवरमा धेरै नै सार्वजनिक बस भाडामा लिने गरेका छन् । यसबाहेक पनि थुप्रै स्कुलले भाडाका सवारीसाधनमा  विद्यार्थी बोक्छन् । 

विद्यार्थी संख्या धेरै र शैक्षिक गुणस्तरमा राम्रो दाबी गर्दै आएका निजी विद्यालयले स्कुल बससम्बन्धी निर्देशिका ०७४ भने पालना गरिरहेका छैनन् । उपत्यका ट्राफिक कार्यालयका प्रमुख राजेन्द्रप्रसाद भट्टका अनुसार विद्यालयले नै कानुनविपरीत सार्वजनिक बस प्रयोग गर्दा यात्रुले सास्ती भोगिरहनुपरेको छ । ‘पिकआवरमा विद्यार्थी बोक्न सार्वजनिक बस प्रयोग हुँदा यात्रु अलपत्र पर्छन्,’ प्रवक्ता भट्टले भने, ‘यसमा यातायात व्यवस्था विभागले अनुगमन र कारबाही गर्नुपर्छ ।’

जेम्स स्कुलका प्रिन्सिपल राजेश खड्काले आफ्नो स्कुलबाहेकका चार–पाँचवटा सार्वजनिक बस विद्यार्थी बोक्न प्रयोग गरेको बताउँछन् । ‘बस अपुग भएपछि बाहिरको बस प्रयोग गरेका हौँ, ती बस पनि व्यवस्थित नै छन्,’ उनले भने । 

स्कुल बस निर्देशिकामा के छ ? 
स्कुल बस निर्देशिका ०७४, अनुसार विद्यार्थी बोक्ने बसको रङ पहेलो हुनुपर्छ । बसको अगाडि र पछाडि कालो रङले स्कुल बस लेखिएको हुनुपर्छ । बसमा आपत्कालीन ढोका, झ्यालमा ग्रिल, प्राथमिक उपचार बक्स, अग्नि नियन्त्रण उपकरण, डस्टबिन, व्यवस्थित र सहज सिट हुनैपर्छ ।

यस्तै, झोला राख्न मिल्ने ठाउँ, सबै सिट अगाडि फर्किएको, परिचालकको व्यवस्था, क्षमताभन्दा बढी यात्रु राख्न पाइँदैन । बसमा विद्यार्थीको विवरणसमेत राख्नुपर्छ, बसको गति सीमित हुनुपर्छ । विद्यार्थीलाई बस परिचालकले बाटो पार गराइदिनुपर्छ, तोकिएको ठाउँमा रोक्नुपर्छ । तर, सार्वजनिक सवारीसाधनमा यी कुनै पनि मापदण्ड हुँदैन । पहेलो रङका स्कुलले बसले समेत यी मापदण्ड पूरा गरेका छैनन् । 

सार्वजनिक बसलाई निजी स्कुलहरूले प्रयोग गर्न पाइँदैन : मन्त्रालय 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक बसलाई निजी स्कुलहरूले स्कुल बस बनाउन नपाइने बताए । ‘अब सरकार यातायात प्राधिकरण सञ्चालनको तयारीमा गइरहेको छ, त्यसको ऐनमार्फत हामीले सार्वजनिक यातायातलाई व्यवस्थापन गर्छौँ,’ उनले भने, ‘स्कुलहरूले त्यसरी भाडाका सवारीसाधन प्रयोग गर्न पाइँदैन ।’ उनले उपत्यकामा रात्रिकालीन सवारीसाधन सञ्चालन गर्ने सम्बन्धमा पनि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।