कोसी प्रदेशको राजधानी विराटनगरमा शनिबार सम्पन्न सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा बाग्मती प्रदेशकी जर्जिया चौधरी प्रथम भएकी छिन्। पाँच विधाका स्पर्धामध्ये तीन वटामा फाइनल प्रतिस्पर्धा गरेकी जर्जियाले एकल महिला बिधामा प्रथम तथा डबल र मिक्सतर्फ दोस्रो स्थान हासिल गरिन्।
जर्जियाले महिला एकलतर्फ लुम्बिनीकी ऋतिका चौधरीलाई ४–१ ले पराजित गरेकी थिइन्। तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पुरस्कार प्राप्त गरिन्। जर्जिया विराटनगरका फुटवल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन।
प्रतियोगितामा पांच स्पर्धामा प्रतिस्पर्धा गरेको कोसी प्रदेशले तीन वटामा प्रथम स्थान प्राप्त गरेको छ । बागमती र सशस्त्र प्रहरीले एक–एक बिधामा प्रथम स्थान हासिल गरेका छन्। मिक्स डबलमा कोसी प्रदेशका श्रेया योन्जन र श्रेया राईको जोडिले बागमतीका जर्जिया र चन्द्रमाया राईलाई १०–८ ले पराजित गरे। मिक्स डबलमा सशस्त्र प्रहरीका कमल भण्डारी र भगवती बिकको जोडीले बागमतीका प्रदिप खत्री र जर्जियालाई ५–३ ले पराजित गरेका थिए।
पुरुष एकलमा कोसीका युकेश योन्जनले बागमतीका प्रदिप खत्रीलाई ४–० को सोझो सेटमा पराजित गरे । पुरुष डबलमा कोसीका युकेश योन्जन र आशिष बोहराले कोसीकै आभास बुढाथोकीलाई ५–२ ले पराजित गरे। प्रथम हुनेलाई नगद ३५ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुने दुईलाई १०–१० हजार रुपैंयासहित मेडल प्रदान गरियो।
खेलकुद विकास बोर्ड कोसी प्रदेश र मोरङ जिल्ला सफ्ट टेनिस संघले विराटनगरमा १३ गतेदेखि संचालन गरेको प्रतियोगिता शनिबार बेलुका सम्पन्न भएको हो। बिजेताहरुलाई कोसी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेश बास्तोला, बोर्डका सदस्यसचिव हंशराज वाग्ले, सफ्ट टेनिस संघका जिल्ला अध्यक्ष श्याम लामाले बिजयी खेलाडीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरे।