पर्वतको कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको रकम हिनामिना प्रकरण अनुसन्धानका लागि पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्र लेखिदिन कुस्मा नगरपालिकालाई निवेदन दिएको थियो । तर, नगरपालिकाले त्यसविपरीत जिल्ला प्रशासनलाई पत्र पठाएको छ भने सिआइबीलाई बोधार्थ मात्र लेखेको छ । नगरपालिका दोषीलाई जोगाउने उद्देश्यसहित यस्तो कार्य गरेको भन्दै पीडित पक्षले आपत्ति जनाएको छ ।
सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री, ऋण समिति संयोजक सागर जोशी, लेखा समिति संयोजक विनोद कर्माचार्य र व्यवस्थापक दिलकुमारी सुवेदी बोहराको मिलेमतोमा सहकारीको करिब दुई करोड गलत उद्देश्यसहित परिचालन गरेर हिनामिना गरिएको भन्दै कारबाहीका लागि सेयर होल्डरमध्येकी मीनाकुमारी शर्माले नगरपालिकामा निवेदन दिएकी थिइन् । घटनाको अनुसन्धान सिआइबीबाट हुनुपर्ने उनको माग छ । तर, नगरपालिकाले घटनाको अनुसन्धान सिआइबीलाई नदिई जिप्रका पर्वतलाई दिएको हो ।
अधिवक्ता रामचन्द्र शर्मा
सहकारीको करिब दुई करोड रुपैयाँ गलत ढंगले परिचालन भएको छ । यो ठगी हो । यसविरुद्ध हामीले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दियौँ, तर दर्ता हुन सकेन । त्यसो हुँदा हामी नगरपालिकामा आयौँ । तर, त्यहाँबाट पनि सही काम हुन सकेन । सिआइबीलाई पत्र लेखिदिन निवेदन दिएका थियौँ, नगरपालिकाले जिल्ला प्रशासनलाई लेख्यो
मिनाकुमारी सहकारीका तत्कालिन सचिव प्रेमप्रकाश शर्माकी पत्नी हुन् । आफुलाई थाहै नदिई अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापकलगायतले सहकारीको रकम हिनामिना गरिएको भन्दै प्रेमकुमारले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका गरेका थिए ।
नगरपालिकाले सिआइबीको साटो जिल्ला प्रशासनलाई पत्राचार गरेर गैरकानुनी काम गरेको भन्दै पीडिततर्फका अधिवक्ता रामचन्द्र शर्माले आपत्ति जनाएका छन् । ‘सहकारीको करिब दुई करोड रुपैयाँ गलत ढंगले परिचालन भएको छ । यो ठगी हो । यसविरुद्ध हामीले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दियौँ । तर, दर्ता हुन सकेन । त्यसो हुँदा हामी नगरपालिकामा आयौँ । तर, त्यहाँबाट पनि सही काम हुन सकेन । सिआइबीलाई पत्र लेखिदिन निवेदन दिएका थियौँ, नगरपालिकाले जिल्ला प्रशासनलाई लेख्यो,’ उनले भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले घटनाकोे अनुसन्धान जिल्ला प्रहरी कार्यालयले नै गर्न सक्ने हुँदा पत्र जिल्ला प्रशासन कार्यालय पठाएको दाबी गरे । ‘हामीकहाँ निवेदन परेको हो । निवेदन अध्ययन गर्यौँ । सिआइबीमा नै पठाउनुपर्नेजस्तो देखिएन । अनुसन्धान जिप्रकाले नै गर्ने हो । यसलाई जिल्ला प्रशासनले निर्देशन दिन सक्छ । त्यसो हुँदा हामीले प्रशासनमा पत्र पठाएका हौँ,’ उनले भने ।
सोही सहकारीमा सचिव रहेका मीनाकुमारीका पति प्रेमप्रसाद शर्माले सहकारीका अध्यक्ष विदुर पौडेल र कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री मिलेर रकम हिनामिना र ठगी गरेको भन्दै आत्महत्या गरेका थिए । त्यसपछि न्याय खोज्दै मीनाकुमारी जिल्ला प्रहरी कार्यालय पर्वत पुगेकी थिइन् । तर, जिप्रकाले उजुरी दर्ता नगरेपछि उनी निवेदन बोकेर पर्वतका जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालत पुगेकी थिइन् । त्यहाँ पनि जाहेरी दर्ता हुन नसकेपछि उनी सर्वोच्च अदालत पुगिन् । सर्वोच्चले पनि रिट खारेज गरिदिएपछि थप भौँतारिएकी छिन् ।