ललितानिवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार अभियुक्तको प्रहरीले बयान लिन सुरु गरेको छ । शुक्रबारदेखि मीनबहादुर गुरुङ, गोपाल कार्की र धर्मप्रसाद गौतमको बयान सुरु भएको हो । अर्का अभियुक्त सुधीरकुमार शाहले भने बयान दिन अस्वीकार गरेका छन् । आफूले सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिएको र त्यसमा आदेश आएपछि मात्र बयान दिने उनको भनाइ छ ।
योजनाबद्ध रूपमा धेरैजना मिलेर गरिएको अपराध भएकाले यसमा संगठित अपराध मुद्दामा पनि प्रहरीले अनुसन्धानको तयारी गरेको छ । चरणबद्ध रूपमा धेरैजना मिलेर गरेको ठूलो अपराध भएकाले संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न लागिएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । ‘यो अपराधको प्रकृति संगठित किसिमको छ,’ उनले भनिन्, ‘त्यसकारण संगठित अपराधतर्फ पनि लैजानुपर्छ भनेर सरकारी वकिलसँग छलफल सुरु गरेका छौँ ।’
संगठित अपराध कसुरमा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म थुनामा राखेर प्रमाण संकलन गर्न पाउँछ । किर्ते मात्र मुद्दामा यस्तो अवधि अधिकतम २५ दिन हुन्छ । अर्काेतर्फ संगठित अपराधमा सजाय पनि सम्बन्धित अपराधमा हुने सजायमा ५०% थप हुन्छ । नेता, कर्मचारी, व्यापारी र बिचौलिया मिलेर गरेको अपराध भएकाले यो प्रथमदृष्टिमै संगठित अपराध भएको प्रहरी अधिकारी बताउँछन् ।
नेता, उच्चपदस्थ कर्मचारी र भूमाफियाको मिलेमतोमा चारपटक गरेर बालुवाटारको एक सय ४३ रोपनी जग्गा व्यक्तिको नाममा लगिएको थियो । पाँच वर्षदेखि सिआइबीले यसको अनुसन्धान गर्दै आएकोमा दबाबका कारण मुद्दा दायर हुन सकेको छैन ।