ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमीबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्स्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण सो सडकको तीन दशमलव ३६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो ।
निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, इन्जिनियर मुकेशकुमार यादवसहितको टोली निर्माणस्थल पुगेको थियो । सडक निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।
ठेकेदारले गुणस्तरहीन बालुवाको प्रयोग गरेको पाएपछि आफूहरूले ड्रेन (नाली) भत्काएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । ‘गुणस्तरहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको सम्पूर्ण ड्रेन भत्काएको छु । अब भुक्तानीसमेत रोक्का गर्छौं,’ उनले भने, ‘ठेकेदार कम्पनीलाई गुणस्तरीय बालुवाको प्रयोग गरेर मात्रै संरचना निर्माण गर्न भनेका छौँ । अहिले काम रोकिएको छ ।’
सडकको नालीलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक–पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । ठेकेदार कम्पनीले ४३ लाख ९९ हजार ९६१ रुपैयाँको लागतमा ०७९ माघ ५ गते निर्माणकार्य सम्पन्न गर्ने गरी ०७९ जेठ २ मा सम्झौता गरेको थियो ।
सम्झौतापश्चात् ठेकेदार कम्पनीले काम सुस्त गतिमा अगाडि बढाएको थियो । सुस्त गतिमा निर्माण गरिरहेको कम्पनीले तोकिएको समयमा सडक निर्माण सम्पन्न गर्नुका साथै विभिन्न बहाना बनाएर म्याद थप अनुमति लिएर काम गरेको थियो । तर, एकपटक थप भएको म्याद पनि गत जेठ मसान्तमा सकिसकेको छ । निर्माणाधीन सडकको अन्य काम भने मापदण्डअनुसार नै भए पनि नाली निर्माणमा प्रयोग भएको बालुवा खस्रो हुनुपर्नेमा कोसीको मसिनो बालुवा प्रयोग गरेको पाइएको छ ।