श्रीमानको मृत्युपछि दुई ठाउँबाट मृत्युदर्ता गराई बसाइसराइँ कागजात बनाएको ठहर गर्दै विशेष अदालतले यसमा संलग्न दुईजनालाई सजाय सुनाएको छ । सोमबार विशेषले रेनुका चम्लागाइँसहित झापाको साविक कोहबरा गाविसका तत्कालीन सचिव रामप्रसाद न्यौपानेलाई सजाय सुनाएको हो ।
विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार चम्लागाइँ र न्यौपानेलाई तीन–तीन महिना कैद तथा २०–२० हजार रुपैयाँ जरिवाना सुनाइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेलका साथै सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासबाट यस्तो फैसला आएको हो । मुद्दा परेको तीन वर्षपछि विशेषले आंशिक ठहर हुने फैसला गरेको छ ।
मोरङको लेटाङ– २ घर भएका हरिप्रसाद चम्लागाइँकी जेठी श्रीमती रेनुकाले दुई ठाउँबाट मृत्युदर्ता बनाएको पुष्टि भएको छ । हरिप्रसादको २१ साउन ०६४ मा मृत्यु भएकोमा रेनुकाले सौता हुमादेवीको समेत हस्ताक्षर गरी लेटाङबाटै मृत्युदर्ता बनाएकी थिइन् । पछि झापाको कोहबराबाट गाविससचिव न्यौपानेसँगको मिलेमतोमा नक्कली मृत्युदर्ता र बसाइँसराइँ पनि बनाएको भेटिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान पश्चात् २७ जेठ ०७७ मा मुद्दा दायर भएको थियो । चम्लागाइँले आफूले लाभ लिने मनसायले दुई ठाउँबाट मृत्युदर्ता बनाएको र बसोबास नै नभएको स्थानबाट बसाइँसराइँ प्रमाणपत्र जारी गर्न र उक्त प्रमाणपत्रहरू दमक नगरपालिकाका साथै मालपोत कार्यालयसमेतमा पेस भएको देखिएको थियो । उनले राष्ट्रसेवक कर्मचारीलाई बदनियतपूर्वक गलत लिखत तयार गर्ने कार्यमा मतियारको भूमिका खेलेको दाबी अख्तियारको थियो ।
यसैगरी, गाविससचिव न्यौपानेले चम्लागाइँसँग मिलेमतो गरी योजनाबद्ध रूपमा मृत्युदर्ता र बसाइसराइ प्रमाणपत्र जारी गरेको भन्दै मुद्दा चलाइएको हो । उनलाई पनि तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । यस मुद्दाका बाँकी नौजनाले भने सफाइ पाएका छन् ।
सर्जमिन गर्ने दमक नगरपालिकाका तत्कालीन वडासचिव मोहनप्रसाद ओलीले फिल्डमा नगई कार्यालयमै बसी रोहवरमा हस्ताक्षर गरेका थिए । सोही नगरपालिकाका कार्यालय सहयोगी दलबहादुर खत्रीमाथि गलत सर्जमिन गरेको अभियोग लगाइएकोमा दुवैजनालाई विशेषले सफाइ दिएको छ ।
यसैगरी, सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने स्थानीय महानन्द सापकोटा, गिरीराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टंकप्रसाद बजगाइँ र बालकृष्ण न्यौपानेलाई पनि विशेषले सफाइ दिएको छ । उनीहरू सातैजनाले बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा लेखाएर भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको थियो ।