१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० जेठ ३१ बुधबार ०७:२५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कारागारमा कुटाकुटपछि कैदीबन्दीको सरुवा

Read Time : > 1 मिनेट
२०८० जेठ ३१ बुधबार ०७:२५:००

जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच कुटाकुट भएको खुलेको छ । गत २२ जेठमा भएको घटनापछि प्रशासनले १६ कैदीबन्दीलाई अन्यत्र सरुवा गरेको छ । कारागार स्रोतका अनुसार कुटाकुटबाट लागुऔषध मुद्दाका कैदी सन्तोषकुमार शाही र बैंकिङ कसुर मुद्दाका कैदी खगेन्द्र बमको मुखमा चोट लागेको बताइएको छ ।  

कैलालीको लम्कीका युवा भूपेन्द्र बडुवालको हत्या घटनाका थुनुवा र अन्य कैदीबीच कुटाकुट भएको बताइएको छ । कारागारमा कुन समूह हावी हुने भन्ने विषयमा विवाद हुँदै आएको र सोहीकारण गत साता कुटाकुट भएको कारागार स्रोतले जनाएको छ । जिल्ला कारागार कैलालीका निमित्त प्रमुख लालबहादुर बोगटीले कैदीबन्दीबीच कुटाकुट भएपछि १६ जनालाई कैदीलाई अन्यत्र सरुवा गरेर पठाइएको बताए । उनका अनुसार कैदीबन्दी तथा चौकीदार र नाइकेको जिम्मेवारीमा रहेका कैदीबन्दीबीच विवाद भएको हो । कारागारमा कैदीबन्दीबाटै चौकीदार, नाइके र सहनाइके बनाउने गरिन्छ । विवाद हुन थालेपछि १६ जना कैदीबन्दीलाई सोमबार कपिलवस्तु, चितवन, महोत्तरी, पर्सालगायत कारागार पठाइएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कैदीबन्दीबीच विवाद भएपछि केहीलाई अन्यत्र पठाइएको बताएका छन् । घटनापछि कारागारका सुरक्षा प्रमुख फेरिएका छन् । घटना भएको दिन कारागारको सुरक्षा प्रमुख प्रहरी निरीक्षक योगेन्द्रकुमार बोहरा बिदामा रहेको कारागार प्रशासनले जनाएको छ । प्रहरी निरीक्षक बोहरा र प्रहरी सहायक निरीक्षक चरणसिंह बुड्थापालाई जिल्ला प्रहरी कार्यालय तानिएको छ । कारागार सुरक्षा प्रमुखको रूपमा प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुमार तथा प्रहरी सहायक निरीक्षक दत्तराम कोलीलाई पठाइएको छ ।

डेढ सयजना कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार कैलालीमा अहिले ६ सय ५५ कैदीबन्दी छन् । तीमध्ये ४२ महिला र ४४ भारतीय नागरिक रहेको कारागारका निमित्त प्रमुख बोगटीले बताए । उनका अनुसार भूपेन्द्र बडुवाल हत्याकाण्डमा १० जना पुर्पक्षका लागि थुनामा छन् । लम्कीका युवक बडुवालको गत वर्ष टीकापुरमा लखेटी–लखेटी धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । एउटै कोठामा धेरै कैदीबन्दी भएकाले पनि समय–समयमा विवाद हुने गरेको बताइएको छ ।