१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कारागारमा नियमित विपश्यना चलाउने गृह मन्त्रालयको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४२:oo

कैदी भन्छन्– अपराधमा पश्चात्ताप भयो 

गृह मन्त्रालयले देशका कारागारमा विपश्यना ध्यानको कार्यक्रम चलाउने भएको छ । कारागारलाई सुधारगृह बनाउन विपश्यना ध्यानलाई नियमित सञ्चालन गरिने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

ललितपुरको नख्खु कारागारमा आयोजित १२ दिने विपश्यना ध्यान शिविरको शनिबार समापन गर्दै उनले कारागार सुधार योजना सरकारको प्राथमिकतामा रहेको र त्यसका लागि विपश्यना ध्यानलाई पनि प्राथमिकतामा राखिएको बताए । 

नख्खु कारागारमा विपश्यना केन्द्र नै स्थापना गरेर कैदीबन्दीलाई ध्यान गराउन थालिएको हो । नेपाल विपश्यना केन्द्रको सहयोगमा धम्माशय नामक विपश्यना केन्द्र स्थापना भएको हो । जहाँ ४४ कैदीबन्दी र तीनजना सुरक्षाकर्मीले पहिलो चरणमा शनिबार विपश्यना ध्यान सम्पन्न गरेका छन् । सो केन्द्रमा अब नियमित रूपमा यस्तो कार्यक्रम चलाइने नख्खु कारागारकी जेलर कल्पना घिमिरे नेपालले बताइन् । उपत्यकाका अन्य कारागारका कैदीबन्दीलाई पनि त्यहाँ विपश्यनामा राख्ने गरिएको छ । 

समापन कार्यक्रममा बोल्दै एक कैदीले ध्यानपछि आफूले गरेको अपराधमा पश्चाताप भएको र रिसराग हटेको बताए । ‘सबैले यस्तो विपश्यना गर्ने हो भने हाम्रो देशमा प्रहरी र अदालत नै चाहिँदैन,’ ती कैदीले भने, ‘यसले वास्तवमै जीवन बुझाउँदोरहेछ ।’ अर्का एक कैदीले यसले आफ्नो धूम्रपानको कुलतसमेत छुटेको बताए । 

प्रशिक्षक ज्ञानदर्शन उदासलगायतले उनीहरूलाई ध्यान सिकाएका हुन् । जेलमा रहनेहरूलाई बढी तनाव हुने भएकाले पनि विपश्यना थप प्रभावकारी हुने उदास बताउँछन् । विपश्यना केन्द्रले करिब दुई करोड रुपैयाँ खर्च गरेर सो ध्यान केन्द्र निर्माण गरेको हो । केन्द्रकै खर्चमा शिविर सञ्चालन भएको कारागारले जनाएको छ ।

यसअघि वेलावेलामा यस्ता शिविर सञ्चालन हुनेमा अब नियमित रूपमा चलाउने कारागारको तयारी छ । गृह मन्त्रालयले सुरक्षा निकाय र कर्मचारीलाई पनि नियमित ध्यानमा लाग्न निर्देशन दिँदै आएको छ । ध्यानले व्यक्तिको कार्यक्षमतासमेत बढाउने भएकाले यसलाई अभियानकै रूपमा अघि बढाइएको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

ad
ad