१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

छ सय १५ नेपाली साउदी कारागारमा

कानुन उल्लंघन गर्ने विभिन्न देशका २१ हजार एक सय ५१ जना पक्राउ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१७:oo

साउदी अरबमा गैरकानुनी कार्यमा संलग्न रहेका छ सय १५ जना नेपाली साउदी कारागारमा रहेका छन् । नेपाली राजदूतावास रियाद (साउदी अरब)ले विभिन्न आरोपमा छ सय १५ जना नेपाली पक्राउ परेर जेल गएकाे जनाएको छ।

जसमध्ये घरेलु मदिरा उत्पादन तथा लागुऔषध सेवन, बिक्री–वितरण, ओसार–पोसारमा सबैभन्दा बढी नेपाली पक्राउ परेर कारागारमा रहेको नेपाली राजदूतावास रियाद (साउदी अरब)का मिसन उपप्रमुख (डिसिएम) डा. डम्बरूबल्लभ पौडेलले जानकारी दिए । 

यसबाहेक चोरी, बेइमानी, दुर्व्यवहार, कुटपिटको आरोपमा पक्राउ परेको डिसिएम डा. पौडेलले बताए । पछिल्लो समय पक्राउ गरिएकाहरूमध्ये कति जना नेपाली रहेको र कुन–कुन आरोपमा पक्राउ परेको विषयमा जानकारी लिने काम भइरहेको डिसिएम पौडेलको भनाइ छ ।

‘हामीले साउदी अरबका अधिकारीहरूसँग नेपालीहरू के आरोपमा पक्राउ परेका हुन र कति जना जेलमा छन् भन्ने जानकारी मागेका छौँ,’ डिसिएम पौडेलले नयाँ पत्रिकासँग भने, ‘अफिसियल्ली जानकारी आएपछि थप जानकारी दिन मिल्छ ।’

रमादानमा कैद मिनाहामा समन्वय गर्दै दूतावास
मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा साउदी अरबले कारागारमा रहेका कैदीबन्दीलाई रिहा गर्ने घोषणा गरेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर र जघन्य अपराधबाहेकका मुद्दामा कारागामा रहेकालाई रिहा गर्ने साउदी अरबले तयारी गरेको दूतावासले जनाएको छ । 

कैद भुक्तान गरे पनि कारागारमा रहेका र पवित्र रमादानको अवसरमा साउदी अरबले घोषणा गरेअनुसार कति जनालाई रिहा गर्ने भन्ने विषयमा आन्तरिक मामिला मन्त्रालय र सुरक्षा अधिकारीहरूसँग परामर्श भइरहेको डा. पौडेलले बताए । ‘कति जना रिहाइ हुने टुंगो लागेको छैन,’ उनले भने, ‘हाम्रो प्रयास बढीभन्दा बढी नेपाली रिहाइ भएर घर फर्किउन् भन्ने छ ।’

एक सातामा २१ हजारभन्दा बढी पक्राउ
साउदी अरबले आफ्नो कानुन उल्लंघन गरेको भन्दै २१ हजारभन्दा बढीलाई पछिल्लो एक साताभित्र पक्राउ गरेको छ । साउदी अरबको आवाससम्बन्धी कानुन, श्रम कानुन र अवैध रूपमा सीमा पार गर्न खोज्ने २१ हजार एक सय ५१ जनालाई एक साताभित्र पक्राउ गरिएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा बढी आवास कानुन उल्लंघन गरेका १३ हजार सात सय ९९ जना रहेका छन् । आवास कानुनअन्तर्गत साउदी अरबले प्रदान गर्ने ‘अकामा’ (श्रमिकलाई दिने परिचयपत्र) अद्यावधिक नभएका, राहदानी नभएका, अवैध रूपमा बस्दै आएकालाई पक्राउ गर्ने गरेको छ ।

अवैध रूपमा साउदी अरब प्रवेश गर्न खोज्ने चार हजार सात सय ६८ जना र सीमासँग जोडिएका घटनामा दुई हजार पाँच सय ८४ जनालाई पक्राउ गरिएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

अवैध रूपमा साउदी अरब प्रवेश गर्न खोज्ने विभिन्न देशका एक हजार दुई सय ८३ जना नागरिकमध्ये सबैभन्दा बढी अर्थात् ७२ प्रतिशत इथोपियाका नागरिक रहेका मन्त्रालयले जनाएको छ ।

त्यसपछि साउदी अरबसँग सीमा जोडिएको यमनका २५ प्रतिशत नागरिक सीमा पार गर्न खोज्दा पक्राउ परेको मन्त्रालयले जनाएको छ । यस्तै, ३ प्रतिशत अन्य देशका नागरिक साउदी अरब अवैध रूपमा प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै साउदी अरबबाट छिमेकी देशहरू युएई, कतार, ओमान, कुवेतलगायतमा अवैध रूपमा प्रवेश गर्न खोज्ने ६७ जनालाई समेत पक्राउ गरेको छ । साउदी अरबले गैरकानुनी रूपमा प्रवेश गर्न खोज्नेलाई विशेष निगरानी राख्ने गरेको छ ।

साउदी अरबले गैरकानुनी रूपमा रहेका आप्रवासीलाई आवास र यातायात सुविधा उपलब्ध गराउनेलाई कडा कारबाहीको चेतावनी पनि दिएको छ । आवास र सवारीसाधनको सुविधा उपलब्ध गराएको पाइएमा साउदी कानुनअनुसार १५ वर्ष कैद सजाय र एक लाख रियाल (नेपाली ३५ लाख बढी) जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको छ ।

यसअघि चैत पहिलो साता १९ हजार सात सय ४६ जनालाई सुरक्षा अधिकारीहरूले गैरकानुनी रूपमा बस्दै आएको र अन्य अपराधहरूमा संलग्न भएको भन्दै पक्राउ गरेका थिए ।
 

ad
ad