कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा)ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन्।
मंगलबार गोरखापत्र संस्थानबाट प्रकाशन हुने मधुपर्कको ५६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काइँलाले यस्तो बताएका हुन्।
लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको उनको भनाइ थियो।
उनले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐनबमोजिमको कर लगाउनु राम्रो भएको बताए। लेखकले ५० वर्षपछि एकपटक पाउने पुरस्कारमा आयकर काटेर पुरस्कार दिन नहुने बताउँदै उनले पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे।
अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोकेबमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरूले अब विचार गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘अब सरकारलाई लेखकहरूले कर कति दिनुपर्ने हो। १५ प्रतिशत हो वा २५ प्रतिशत हो । लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो तीन सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ । यो अवस्थाबाट आमलेखकहरू पीडित छन् । नेपाली लेखकहरूले लेखेर ठूलो रकम पाउन नसकिने भन्ने थाहा छ । त्यसैले गुनासो नगरी जति दिए पनि उनीहरूले लिने गर्छन्।’
मधुपर्कको ५६औँ वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानबाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ।
गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ। मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ।