१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १६ मंगलबार
  • Saturday, 07 September, 2024
एन्नी–मेरी स्लटर
अटम मेकडोनाल्ड
२o८o जेठ १६ मंगलबार १o:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विकसित मुलुकमा बदलिँदो श्रम अवस्था

Read Time : > 2 मिनेट
एन्नी–मेरी स्लटर
अटम मेकडोनाल्ड
नयाँ पत्रिका
२o८o जेठ १६ मंगलबार १o:o९:oo

कोभिड–१९ महामारी औपचारिक रूपमा अन्त्य भए पनि यसले असंख्य जीवनलाई भिन्न–भिन्न गन्तव्यतर्फ डोर्‍याएको छ । करोडौँ मानिस महामारीपूर्वको कामकाजमा फर्किन सक्नेछैनन् । यसकारण रोजगारदाता र श्रमिक–कर्मचारी समयको आवश्यकतालाई पूर्ति गर्ने नयाँ मोडेलको खोजीमा छन् । हाल प्रयोगमा ल्याउन खोजिएको ‘हाइब्रिड’ मोडेलमा हामीले एउटा प्रश्नको सामना गरिरहेका छौँ अर्थात् ‘कति काम गर्दा पर्याप्त हुन्छ ?’ 

कम्तीमा विकसित मुलुकमा महामारीपश्चात्का परिवर्तनले कृषियुगदेखि औद्योगिक युगमा भएको रुपान्तरणको झल्को दिनेगरी श्रमबजारका कार्यस्थल, कार्यतालिका र ज्यालाजस्ता अवयवमा ठूलो क्रान्ति निम्त्याउन सक्छ । यी परिवर्तनलाई दुई ढंगले हेर्न सकिन्छ ।

पहिलो, बृहत् अर्थतन्त्रमा कानुनी रूपमै दिनको आठ घन्टा र साताको ४० घन्टाको श्रम पनि प्रतिस्थापित हुने देखिन्छ । तर, यसले समय भने लिनेछ, किनभने अमेरिकामा दिनको १४ घन्टाको र साताको सातै दिनको श्रमबाट बाध्यकारी रूपमा दिनको आठ घन्टा र साताको ४० घन्टाको श्रमको व्यवस्था आधा शताब्दीको मजदुर आन्दोलन, युनियनका पहलकदमी र कर्पोरेट परीक्षणका कारण सम्भव भएको हो ।

अहिले साताको ३२ घन्टाको श्रमको प्रावधान लागू गरेका केही परीक्षणले न्यून थकान, मानसिक स्वास्थ्यमा सुधार र जीवनप्रतिको सन्तुष्टि बढेको देखाएको छ । यो परीक्षणमा सहभागी अधिकांशले श्रमसम्बन्धी पुरानो मोडेलमा नफर्किने बताएका छन् । 

दोस्रो, सूक्ष्म अर्थतन्त्रका तहमा पछिल्लो तीन वर्षलाई करोडौँ मानिसले समय र पैसामा के छनोट गर्ने भन्नेबारे पुनर्विचार गर्न प्रयोग गरेका छन् । महामारीका वेला लकडाउनमा कैयौँ मजदुरले श्रम व्यवहारको नयाँ अभ्यास गरेका छन्, विश्राम लिने छुट पाएका छन्, आफ्ना प्रियजनसँग बढी समय बिताउने मौका पाएका छन् वा यातायात साधन र कार्यस्थलको तनावविनै आराम, व्यायाम गर्न पाएका छन् । सम्भवतः यिनै अनुभवका कारण अमेरिकामा आमराजीनामा ‘ग्रेट रेजिग्नेसन’ वा नियमले तोकेभन्दा बढी काम नगर्ने श्रम संस्कृति ‘क्वाइट क्विटिङ’ बढेको हुनुपर्छ ।

महामारीपश्चात्का परिवर्तनले कृषियुगदेखि औद्योगिक युगमा भएको रुपान्तरणको झल्को दिने गरी श्रमबजारका कार्यस्थल, कार्यतालिका र ज्यालामा क्रान्ति ल्याउन सक्छन्
 

 जब महामारीपूर्वकै अवस्थामा झैँ कम्पनीले श्रमिक फिर्तीको माग गरे, तब ‘कति काम गर्दा पर्याप्त हुन्छ ?’ भन्ने प्रश्नले ‘केका लागि पर्याप्त ? जीविका, रोजगारदाताको अपेक्षा पूरा गर्न ? आनन्दका लागि वा अवकाशका लागि ?’ जस्ता प्रश्न उब्जाइदिएको छ । यी प्रश्नका उत्तर प्रश्न गर्ने र जवाफ दिनेमा भर पर्छ । तर, करोडौँ न्यून आय भएकाका लागि ‘पर्याप्त’ भनेको आफ्नो घर–परिवार चलाउन पुग्ने आम्दानी हो । समय र पैसामा छनोट गर्ने सुविधा भएका दुई समूहका मानिसले ‘पर्याप्त मात्राको श्रम’सम्बन्धी बहसमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

पहिलो समूहमा हेरचाह गर्ने रहेका छन् । उसो त यो श्रम महिला प्रधान श्रम हो, तर अहिले यसप्रति पुरुषको सहभागिता पनि बढ्दो छ । श्रम अर्थशास्त्रमा ‘काम’लाई परम्परागत रूपमा वैतनिक श्रमका रूपमा बुझिन्छ, जहाँ वस्तुको उत्पादन वा सेवाबापत मौद्रिक ज्याला उपलब्ध गराइन्छ । तर, श्रम बजारमा महिलाको सहभागिताले श्रम अर्थशास्त्रमा अवैतनिक श्रम पनि समेटिन थालेको छ । यसमा परिवारको पालनपोषण, घर चलाउनु र घरका अशक्तको हेरचाह गर्नुजस्ता काम पर्छन् । 

यदि हामीले दुवै वैतनिक एवं अवैतनिक श्रमका सन्दर्भमा ‘कति काम गर्दा पर्याप्त हुन्छ ?’ लाई अलिक फराकिलो पार्ने हो भने हेरचाह जिम्मेवारी एवं वैतनिक श्रम गर्नेले परम्परागत आठ घन्टाको श्रमभन्दा बढी श्रम खर्च गर्छन् । यस अवस्थामा मौका मिल्नासाथ धेरैले वैतनिक श्रम अवधि घटाएर हेरचाहमा ध्यान दिनु अनौठो हुनेछैन । हेरचाहको सामाजिक महत्वलाई मध्यनजर गर्दै अर्थशास्त्रीय तथ्यांक र सरकारी लाभ योजनाले यो गम्भीर अवैतनिक श्रममा ध्यान दिनु जरुरी छ ।      

‘कति काम गर्दा पर्याप्त हुन्छ ?’ को उत्तर खोज्ने दोस्रो महत्वपूर्ण समूह भनेको महामारीका वेला श्रम बजारमा प्रवेश गरेका विशेषतः २४–२५ वर्षमुनिका युवा पर्छन् । यिनले सन् १९६० का युवाले झँै प्रतिसांस्कृतिक अभियानको पुनरावृत्ति गरिरहेका छन् अर्थात् चलिआएको काम गर्ने, कमाउने र निरन्तर काम मात्रै गरिरहने ‘हसल संस्कृति’ अस्वीकार गर्दै छन् । यिनले ९–११ को आतंककारी आक्रमण देखेका, सन् २००८ को आर्थिक मन्दी व्यहोरेका, स्मार्टफोनमा पहुँच पाएका र महामारी झेलेका छन् । यति मात्रै नभई खस्किँदो लोकतन्त्र, बढ्दो राजनीतिक ध्रुवीकरण, वातावरणीय विनाशका कारण यी युवा घट्दो सामाजिक गतिका साक्षी बनिरहेका छन् ।

यस अवस्थामा आफ्ना अभिभावकलाई प्रश्न गर्नु र आफ्नो मानसिक एवं शारीरिक स्वास्थ्यमा ध्यान दिनु स्वाभाविक हो । सिमोन बाइल्स, नाओमी ओसाका जस्ता विश्वविख्यात युवा खेलाडीले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै सम्भावित चर्चा एवं सफलतालाई लत्याएर खेलजीवन अन्त्य गरेको घोषणा गरेका छन् । यी खेलाडीले चर्चा, सफलता र पदकको साटो आफ्नो जीवनलाई छनोट गर्नु वास्तवमा पुँजीवादविरुद्धको प्रतिरोध हो ।  

च्याटजिपिटी र यसका प्रतिस्पर्धीको उदयसँगै भविष्यका सम्भावित काममा मानव श्रमको आवश्यकता कति भनेर बहस हुन थालिसकेको छ । च्याटजिपिटीजस्ता जेनेरेटिभ एआईले औद्योगिक कालको काम र कार्यस्थललाई अप्रासंगिक बनाउने गरी श्रम बजारमा दरार ल्याउनेछ । भविष्यमा जेसुकै भए पनि हामी किन काम गर्छौं भन्ने प्रश्नको उत्तर नखोजी कहाँ र कति समय हामीले काम गर्छौं भन्ने प्रश्नको उत्तर भेटिनेछैन । 

(अमेरिकी विदेश विभागकी पूर्वनिर्देशक स्लटर हाल न्यु अमेरिका नामक थिंकट्यांककी कार्यकारी निर्देशक हुन् भने मेकडोनाल्ड न्यु अमेरिकाकी वरिष्ठ अध्येता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट