Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी सानसिरो
२०८० जेठ ४ बिहीबार ०७:२६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१३ वर्षपछि इन्टर मिलान फाइनलमा

सन् २०१० पछि इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी, सानसिरो
२०८० जेठ ४ बिहीबार ०७:२६:००

इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानले प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३–० ले पराजित गर्दै फाइनल स्थान पक्का गरेको हो । इन्टरले पहिलो लेग २–० र दोस्रो लेगमा १–० को जित निकालेको थियो । च्याम्पियन्स लिगको मंगलबार राति दोस्रो सेमिफाइनल लेगमा इन्टर मिलानलाई जित दिलाउने क्रममा खेलको ७४औँ मिनेटमा अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजले एक मात्र गोल गरेका थिए । उनले रामेलु लुकाकुको सटिक पासमा विजयी गोल गरेका हुन् । 

सानसिरोमा इन्टर मिलानमाथि एसी मिलानले दबाब राखे पनि उत्कृष्ट फिनिसिङ गर्न सकेन । इन्टर मिलानले पछिल्लो तीन भेटमा एसी मिलानलाई हराएको छ । इन्टर मिलानले सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले हराउँदै उपाधि जितेको थियो । सानसिरोमा इतिहास बनाउनुअघिका संस्करणमा इन्टर मिलान क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन । अब इन्टर मिलानले उपाधिका लागि १० जुनमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । 

तीनपटकको विजेता 
इन्टर मिलानले हालसम्म तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलान दुईपटक पराजित भएको छ । सासिरोमा मार्टिनेजको गोलले कडा प्रतिद्वन्द्वी एसी मिलानको केही सिप चलेन । पहिलो लेगपछि २–० ले अग्रता लिएको इन्टर मिलानलाई दोस्रो लेग सहज मानिएको थियो । सानसिरो मैदानमा एसी मिलानले काउन्टर एट्याक्टमा दबाब राखेको थियो । पहिलो हाफमा एसी मिलानले केही राम्रो गोल अवसर चुकाएको थियो ।

प्रतिभाशाली राफेल लिओ तिघ्राको चोटका कारण पहिलो लेगमा एसी मिलानका लागि अनुपस्थित थिए । दोस्रो लेगमा मैदानमा रहँदा उनले आफ्नो चमक देखाएका थिए । तर, उनले प्रहार गरेको बल पोस्टभन्दा माथि गएको थियो । पहिलो हाफ अघि बढ्दै गएपछि इन्टर मिलानले आफूलाई बलियो बनायो । एडिन जेकोको क्लोज रेन्जको हेडिङलाई माइक मैगननले आश्चर्यजनक रूपमा बचाए ।