मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख २१ बिहीबार ११:३१:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘समयबजी’को लोकप्रियता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार ११:३१:oo

नेवारी परिकार भन्नेबित्तिकै मांसाहारी परिकार मात्रै हुन्छ भन्ने बुझाइ थियो, तर नेवारी परिकारमा शाकाहारी परिकार पनि धेरै पाइन्छन्

ललितपुरको पाटनमा ‘बुलाल नेवारी खाजाघर’ सञ्चालन भएको चार दशकभन्दा धेरै भयो । पहिले यस रेस्टुरेन्टमा नेवारी समुदायकै मानिसहरूको भिड हुन्थ्यो । अहिले अन्य समुदाय र विदेशी ग्राहकको संख्यासमेत ठूलो हुन्छ । खाजाघरमा ३० रुपैयाँदेखि दुई सयसम्मका नेवारी परिकार अलग–अलग अर्डर गर्न सकिने सञ्चालक सानुराज महर्जनले बताए । ‘तपाईंलाई खान मन लागेको फरक–फरक परिकार अर्डर गर्न सक्नुहुन्छ । तर, मेनुमा नेवारी परिकार मात्रै हुन्छ,’ महर्जनले भने, ‘२५ थरी परिकार छन् । अधिकांशले छोयला, फिसकरी रुचाउँछन् । आलु–तामा, पिरो कचिला पनि रोजाइमा छ ।’

अन्डा बारा, सादा बारा, मिक्स बारा, भुटन, आलु–तामा, च्याउ साँधेको, आलु, भटमास, बदाम, बोडी, चिउरा आदि परिकार मौलिक स्वादमै ग्राहकलाई चखाउने गरेको उनले बताए । ‘शाकाहारीका लागि स्पेसल अचार पाइन्छ । गाँजर, मुला, काँक्रालगायत साँधेको आचारको स्वाद चाख्न पाइन्छ । अचारमा चिउरा तथा अरू भेज आइटम मिसाएर खान पनि पाइन्छ,’ उनले भने । उनको अनुभवमा जापान, अमेरिका, युरोपका पर्यटकले पिरो नभएको नेवारी परिकार खान रुचाउँछन् । ‘तर, नेपालीलाई पिरो भएन भन्ने खल्लो लाग्छ,’ उनले भने, ‘त्यसैले ग्राहकले जस्तो खोज्छन्, त्यस्तै बनाउँछौँ ।’

पछिल्लो समय नेवारी समुदायभन्दा पनि अन्य समुदायका ग्राहक आफ्नो रेस्टुरेन्टमा धेरै आउने गरेको थापाथलीस्थित नेवारी किचेनका सञ्चालक राजीव श्रेष्ठले बताए । ‘नेवारी परिकार भन्नेबित्तिकै मांसाहारी परिकार मात्रै हुन्छ भन्ने बुझाइ थियो, तर नेवारी परिकारमा शाकाहारी परिकार पनि धेरै पाइन्छन् । त्यसैले भेज र नन–भेज दुवैका लागि स्वादअनुसार अर्डर गर्न सक्नुहुन्छ,’ उनले भने । 

उनका अनुसार समयबजी खाजा सेटमा शाकाहारीका लागि भेज चटामरी, आलु साँधेको, च्याउ, स्विट कर्न चटामरी, अचारलगायत उपलब्ध छन् । त्यस्तै, ननभेजका लागि बफ छोयला, पोलेको बफ छोयला, साँधेको बफ सुकुटी, तारेको मटन फोक्सो, खसीको भुटन, बफ भुटनलगायत उपलब्ध छ । ‘आफ्नो स्वादअनुसारको भेराइटी पाइने भएकाले पनि नेवारी परिकारले लोकप्रियता पाएको हो,’ उनले भने । पाटन र सोह्रखुट्टे गरी दुई ठाउँमा रहेको ‘नेवा घासा’ले पनि मौलिक स्वाद चखाउँदै आएको छ । यहाँका परिकार नेवारी, नेपाली तथा विदेशीहरूमाझ लोकप्रिय रहेको अपरेसन इन्चार्ज कैलाश केसीले बताए । उनका अनुसार परम्परागत नेवारी सजावटको नेवा घासामा एकैपटक तीन–चार सयजनालाई सर्भ गर्न सक्ने व्यवस्था छ । उनी भन्छन्, ‘पाटन र सोह्रखुट्टेको घासामा माहोल निकै शान्त छ । यहाँ पारिवारिक वातावरण छ । नेवारी संस्कृतिसँगै खानपानको स्वाद चाख्न पाइन्छ,’ उनले भने । १९ सय रुपैयाँको नेवारी घासा सेटमा १४ थरीका परिकार समावेश हुने उनले बताए । 

ग्राहकको रोजाइमा पर्ने परिकार 

चटामरी : अन्डा चटामरी, बफ चटामरी, चिकेन चटामरी, अन्डा आलु चटामरी, मिक्स बफ चटामरी, मिक्स चिकेन चटामरी आदि । 

बारा : सादा बारा, अन्डा बारा, बफ बारा, चिकेन बारा, बफ कचिला अन्डा बारा, चिकेन कचिला अन्डा बारा, मिक्स बफ बारा, मिक्स चिकेन बारा आदि । 

नेवा घासा : थलथले, पिरो थलथले, आलु साँधेको, रक्ति, नेवारी ससेज, छाला साँधेको, उसिनेको बफ छोयला, कुरकुरे हड्डी, चिकेन छोयला आदि । 

फ्राई आइटम : खा ग्वः जिब्रो, गिदी, बोन म्यारो, स्यपु म्हिचा, भुटन, पांग्रा सुकुटी, कचिला फ्राई, कचिला र अन्डा फ्राई, चिकेन, फोक्सो, खसीको टाउको आदि ।