आफ्नो लेखन कला सुधार्न चाहनुहुन्छ ? केही उपाय लगाएर नियमित अभ्यास गर्दा तपाईंको लेखनमा निखार आउन सक्छ । तपाईंले यसका लागि सबैभन्दा पहिले नियमित अध्ययन गर्न जरुरी छ । पत्रपत्रिका, उपन्यास, अनुसन्धानात्मक लेख, विभिन्न विधाका पुस्तक तथा म्यागेजिनहरू पढ्नुस् । त्यहाँ प्रयोग गरिएको भाषाशैली, व्याकरण र वाक्य संरचनालाई ख्याल गर्नुस् । तपाईंले नियमित रूपमा लेख्न जरुरी छ । आफ्नो लेखन कलालाई निरन्तरता दिनका लागि नियमित ब्लग लेख्न सक्नुहुन्छ ।
यसका लागि आफूले लेख्ने विषयवस्तु छनोट गर्नुपर्छ । कुन भाषा लेख्ने हो, त्यही भाषामा पोख्त हुनुपर्छ । व्याकरण र वाक्य संरचना ख्याल गर्नुपर्छ । यसका लागि पुस्तक प्रशस्तै अध्ययन गर्नुपर्ने हुन्छ । कतिपयको एक दिन लेखेर महिनौँसम्म नलेख्ने बानी हुन्छ । त्यस्तो बानी सुधार्नुपर्छ । दैनिक नियम र अनुशासन बसालेर लेख्ने बानी गर्यो भने लेखनशैली सुध्रिँदै जान्छ ।
लेख्दालेख्दै आफूलाई राम्रो लेखाइ भएन भन्ने महसुस भयो भने लेख्न बन्द गर्नुपर्छ र आफूलाई मन लागेको पुस्तक पढ्न थाल्नुपर्छ । जबर्जस्ती लेखेर राम्रो हुँदैन । आफूलाई मन पर्ने पुस्तकले तपाईंलाई ऊर्जा दिन्छ । यसो गर्दा भाषा पनि राम्रो बन्छ । यो एउटा सजिलो टेक्निक हो । तपाईंलाई लेख्ने ऊर्जा पुस्तक पढेपछि आउँछ । त्यस्तै, समाजका विभिन्न विषयवस्तु र घटनाक्रमलाई सूक्ष्म रूपमा नियाल्नका लागि समाजसँग घुलमिल हुनुपर्छ । लेख पढ्ने मानिसहरूसँग अझ संगत गर्दै जानुपर्छ । त्यसले धेरै हदसम्म सहयोग गर्छ ।
कुनै कुरा फु¥यो भने मोबइलमा रेकर्ड गर्ने र पछि अनुकूल भएको वेला लेख्दा राम्रो हुन्छ । किनकि, कतिपय कुरा बिर्सिन सकिन्छ । त्यसैले दिमागमा आएको कुरा रेकर्ड गर्ने वा डायरीमा टिप्ने गर्ने बानी बसाल्दा अझ राम्रो हुन्छ । लेखिसकेपछि फेरि एकपटक पढ्नुस् । आफ्नो कामलाई नियमित सम्पादन गर्नुस् । यसलाई सकेसम्म गल्तीरहित बनाउने प्रयास गर्नुस् । आफ्नो लेख अन्यलाई पनि पढ्न लगाउनुस् र प्रतिक्रिया माग्नुस् । उनीहरूको समीक्षा वा आलोचनात्मक प्रतिक्रिया तपाईंको सुधारको बाटो बन्न सक्छ ।
लेखन कलासम्बन्धी विभिन्न कार्यशाला तथा क्लास भइरहेका हुन्छन् । यस्ता कार्यशालामा सहभागी भएर तपाईंले नयाँ कला सिक्न सक्नुहुन्छ । विज्ञहरूसँग आफ्नो लेखन कलाबारे परामर्श गर्ने तथा आफ्ना गल्ती पहिल्याउने अवसर यस्ता कार्यशालाले दिन्छ ।