एमालेले आफ्ना पार्टी अध्यक्ष केपी ओलीमाथि लक्षित अवरोध र आक्रमणको प्रयास राज्यकै संरक्षणमा गरिएको आशंका व्यक्त गरेको छ ।
पार्टी कार्यालयमा आज आकस्मिक पत्रकार सम्मेलन गर्दै एमालेले झापापछि पनि अध्यक्ष ओलीमाथि इलामको पशुपतिनगर र तेह्थुमको देउडीमा अवरोध र आक्रमणको प्रयास भएको तर अहिलेसम्म दोषीलाई पक्राउ गरेर कारबाही नहुनुले राज्यकै संरक्षणमा घटना गरिएको आशंका व्यक्त गरेको हो ।
‘हामीले यथोचित नियन्त्रणका लागि प्रशासनलाई ध्यानाकर्षण गराएका थियौँ, तर इलाम र तेह्थुममा पनि अवरोध गर्ने, कालोझण्डा देखाउने प्रयास गरिए,’ पार्टी केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उपमहासचिव विष्णु रिमालले भने, ‘लोकतन्त्रमा असहमति राख्न पाइन्छ तर एमालेको पकड भएकै स्थानमा भय आतंक सिर्जना गर्ने, अवरोध गर्नेजस्ता घटना हुँदा प्रशासन निष्कृय देखियो । त्यसैले राज्यकै संरक्षणमा भएका यस्ता घटनाले हामीलाई गम्भीर बनाएको छ ।’
उनले यस्तो आक्रमण अस्थिरतामा खेलेर मुलुकलाई अराजकतातिर लैजाने रिहर्सल भएको पनि दाबी गरे । ‘आक्रमणको प्रयास अस्थिरतामा कसरी खेल्न सकिन्छ भन्ने रिहर्सल हो, यसलाई समयमै नियन्त्रण नगर्ने हो भने मुलुक अराजकतामा फस्छ ।’