सर्लाहीको चन्द्रनगरमा गाउँ ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको छ । चन्द्रनगर गाउँपालिका– ४, गढाटोलका विपन्न दलित परिवारले बस्दै आएको घडेरीको लालपुर्जा पाएका हुन् । लाभग्राहीहरूलाई गाउँपालिका प्रमुख राजकुमार महतो र नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मनान्धरले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका थिए ।
पुस्तौँदेखि भोगचलन गर्दै आएका दलित बस्तीका ४५ परिवारलाई जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको हो । महतो पालिका अध्यक्षमा निर्वाचित भएलगत्तै विपन्न मुसहरले बसोवास गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा वितरणका लागि पहल थालेका थिए ।
आफूले पितापुर्खादेखि बस्दै आएको घडेरीको लालपुर्जा पाएको भन्दै स्थानीय नागेन्द्र महराले खुसी व्यक्त गरे । ‘हाम्रो बुबा, हजुरबुबाको पनि यहीँ जीवन गयो । हामी यहीँ जन्मे–हुर्केको थलो हो यो,’ उनले भने, ‘बल्लबल्ल लालपुर्जा पाइयो, निकै खुसी लागेको छ ।’ लालपुर्जा नहुँदा समस्या पर्दा बन्दकी देखाउने सम्पत्ति थिएन ।
यस क्षेत्रका माझी, मुसहर समुदायका अधिकांश परिवारको अवस्था उस्तै छ । लालपुर्जा नहुँदा पुस्तौँपुस्ता बिताएको जमिन आफ्नो भन्ने अवस्था नरहेको उनीहरूको गुनासो थियो । जग्गा धनीपुर्जा पाएपछि आफूहरू सुकुमबासी नरहेको उनीहरूको प्रतिक्रिया छ । घडेरी हुँदा मात्र पनि जीवन निकै सुखी भएको महसुस गरेको स्थानीय विनोद माझीले सुनाए ।
सोही स्थानकी सम्झादेवी माझीले वर्षौँदेखि जग्गा भएर पनि आफूहरू जग्गाको अधिकारविहीन भएर बसेको बताइन् । विगत १५ वर्षदेखि गाउँ ब्लक जग्गाहरू नापी सुरु भएको थियो । तर, जग्गाधनी दर्ता प्रमाण पुर्जा भने जारी भएको थिएन। गाउँपालिकाको पहलमा जग्गाधनी पुर्जा वितरण सुरु भएको नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धरले बताए ।
गाउँपालिका अध्यक्ष महतोले गाउँ ब्लकको लालपुर्जा वितरण हुनु चन्द्रनगरवासीका लागि ठूलो उपलब्धि भएको बताए । उनले राष्ट्रिय भूमि आयोगअन्तर्गत लगत संकलन कार्य भइसकेकाले आवश्यक प्रक्रिया पुर्याई भूमिहीन, दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई समेत जग्गाधनी पुर्जा वितरण गरिने बताए ।