१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३ आइतबार
  • Saturday, 28 September, 2024
२o८o बैशाख ३ आइतबार o८:३९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तनहुँ १ मा जोशी समूह रास्वपासँग नजिकिँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ३ आइतबार o८:३९:oo

दबाबमा कांग्रेस, उपनिर्वाचनको परिणाम प्रतिष्ठाको विषय

तनहुँ १ को उपनिर्वाचनमा असन्तुष्ट पूर्वमन्त्री गोविन्दराज जोशी समूह राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिकिएपछि कांग्रेसमाथि दबाब बढेको छ । कांग्रेससँगको वार्ता टुंगिएको घोषणा गरेको जोशी समूहले रास्वपासँग छलफल थालेसँगै कांग्रेस नेताहरूमा बागीले बिगार्ने डर देखिन थालेको छ । 

तनहुँ १ उपनिर्वाचन नतिजाले पार्ने दीर्घकालीन प्रभावलाई लिएर चिन्तित कांग्रेस सम्पूर्ण शक्तिका साथ मैदानमा छ । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त भएको क्षेत्र, उम्मेदवार गोविन्द भट्टराई कांग्रेसभित्र स्वीकार्य पात्र रहेको, ०७४ मा बाहेक ०४८ यताका सबै निर्वाचन जितेको र गठबन्धनसमेत रहेको कारण कांग्रेस नेतृत्व हरहालतमा तनहुँ १ जोगाउने रणनीतिमा छ । 

प्रतिष्ठाको लडाइँमा रहेको कांग्रेसले यहाँ चुनावी कमान्डर बनाएर महामन्त्री गगन थापालाई पठाएको छ । तर, कांग्रेसबाटै विद्रोह गरेर रास्वपाबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेको व्यक्तित्व र जोशी समूहको असन्तुष्टिले प्रतिकूल नतिजा आउने डर कांग्रेस नेताहरूमा छ । 

कांग्रेससँग वार्ता टुंगिएको भोलिपल्ट बिहीबार (३० चैत) नेता गोविन्दराज जोशीका छोरा दीपकराजले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग भेट गरेका थिए । स्रोतका अनुसार दीपकराज र लामिछानेबीच उपनिर्वाचनका विषयमा चितवनस्थित एक होटेलमा छलफल भएको थियो । स्रोतका अनुसार अन्तिम समयमा जोशी समूहले रास्वपालाई समर्थन गर्ने तयारी छ । 

दीपकराजले लामिछानेसँग पुरानै चिनजान भएको र चितवन जाने क्रममा बाटोमा भेट हुँदा सामान्य कुराकानी मात्रै भएको दाबी गरे । उनले वार्ता टुंगिएको घोषणा गरेपछि पनि कांग्रेस नेताहरूले सम्पर्क गरेर सघाउन अनुरोध गरिरहेको बताए । केही दिनमा औपचारिक निर्णय लिइने उनको भनाइ छ । ‘कांग्रेससँग वार्ता सकिएको घोषणापछि पनि नेताहरूले सहमतिमा आउन र उपनिर्वाचनमा सघाउन आग्रह गरिरहनुभएको छ । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना उम्मेदवारलाई सघाउन आग्रह गरिरहनुभएको छ । रविजीसँग बाटोमा भेट हुँदा सामान्य छलफल भएको हो । निर्वाचनमा सघाउनेबारे औपचारिक निर्णय गरिसकेका छैनौँ । अहिलेलाई हामी तटस्थ बस्ने भनेका छौँ । केही दिनमा विज्ञप्ति निकालेर कसलाई सहयोग गर्ने टुंगो लगाउँछौँ,’ दीपकराज भने ।

कांग्रेसका लागि प्रतिष्ठाको निर्वाचन क्षेत्र बनेको तनहुँमा जोशी समूहको मत निर्णायक देखिएपछि कांग्रेसले जोशीलाई फकाउने रणनीति लिएको थियो । यसका लागि कांग्रेसले कारबाही फिर्ता गर्नेदेखि जोशीसँग विभिन्न चरणमा वार्तासमेत गरेको थियो । पटक–पटकको छलफलपछि गत सोमबार सभापति शेरबहादुर देउवाले दीपकराज जोशीलाई बोलाएर भेटेका थिए । भेटमा देउवाले सम्मानजनक व्यवस्थापनका लागि तयार रहेको जनाएका थिए । तर, सोही भूमिकामा फर्काउन भने सहज नरहेकाले गोविन्दराजलाई केन्द्रीय सदस्य र दीपकराजलाई उचित भूमिका दिने संकेत गरेका थिए । ‘तनहुँ १ मा हाम्रो उम्मेदवारलाई सघाउनुस् । कारबाहीमा परेका सबैलाई त्यही भूमिकामा फर्काउन सम्भव हुँदैन । हामी सम्मानजनक व्यवस्थापन गर्न तयार छौँ । गोविन्दजीलाई केन्द्रीय सदस्यको भूमिकामा ल्याउन सकिन्छ । तपाईंलाई पनि उपयुक्त भूमिकासहित व्यवस्थापन गर्न सकिन्छ । तपाईंहरूको मागबारे पार्टीमा पनि छलफल गर्नेछौँ,’ देउवाको भनाइबारे दीपकराज जोशी भन्छन् ।

तर, गोविन्दराज जोशीले बुधबार विज्ञप्ति निकालेर कांग्रेससँगको वार्ता उपनिर्वाचनमा उपयोगको रणनीति मात्रै भएकाले वार्ताको विकल्प सकिएको घोषणा गरेका थिए । ‘कांग्रेस प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता झुक्याउने, अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । कांग्रेससँग यो चरणको वार्ता समाप्त भएको घोषणा गर्दछौँ,’ जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । 

जोशीले कांग्रेससँग मिल्न नसकिने निर्णय लिए पनि निर्वाचनमा भने विवेक प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । जोशीनिकट स्रोतका अनुसार विज्ञप्तिमा सांकेतिक रूपमा वाग्लेसँग निकट रहेको संकेत गरिएको छ । केही दिनमा यसबारे आधिकारिक विज्ञप्ति जारी गर्ने तयारीमा जोशी समूह छ ।

उपनिर्वाचनमा हाम्रो कुनै आधिकारिक उम्मेदवार छैन । कुनै पनि दलविशेषको सदस्य नभएकाले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रहिरहनेछौँ । कांग्रेसले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छलकपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ,’ जोशीले भनेका छन्, ‘तनहुँका मतदाता कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ । मतदान गर्दा २१औँ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ १ का मतदातालाई अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको थियो । 

गत निर्वाचनमा निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल (हाल राष्ट्रपति) ले २५ हजार तीन सय ६१ मत प्राप्त गरेका थिए । जोशीले ६ हजार आठ सय ६८ मत ल्याएका थिए । 

कांग्रेस तनहुँ जिल्ला सभापति जितप्रकाश आलेले भने जोशीसँग अझै पनि संवाद जारी रहेको बताए । उनले जोशीसँग केन्द्रीय नेतृत्वले निरन्तर छलफल गरिरहेको दाबी गरे । ‘उहाँले वार्ता टुंगिएको भने पनि संवाद भइरहेको छ । छलफल निरन्तर छ । केन्द्रीय सभापति र महामन्त्री नै मिलाउने प्रयासमा हुनुहुन्छ । त्यसका लागि समय छ । हामीलाई आशा छ, अझै सकारात्मक परिणाम आउँछ,’ आलेले भने । 

यो क्षेत्र ०७४ को निर्वाचनबाहेक ०४८ देखि कांग्रेसले नै निरन्तर जित्दै आएको विगत छ । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली गरेको निर्वाचन क्षेत्र भएकाले पनि यहाँको परिणाम कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ । वाग्ले प्रतिस्पर्धामा आएपछि युवा मत आकर्षित गर्न र जोशी समूह थप असन्तुष्ट बनेपछि प्रभावित मत जोगाउने चुनौती रहेको कांग्रेस नेताहरू बताउँछन् । 

थापानिकट वाग्ले कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेपछिको अवस्थामा कांग्रेसले भोट सुरक्षित गर्ने रणनीतिअनुसार असन्तुष्ट समूहसँग छलफल थालेको थियो । यस क्षेत्रमा निर्वाचन कमान्डको जिम्मा पाएका महामन्त्री थापाले तनहुँमा प्रभावित पार्न सक्ने नेता–कार्यकर्तालाई काठमाडौंमा बोलाएर र निर्वाचन क्षेत्रमा पुगेर निरन्तर छलफल गरिरहेका छन् ।