१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सुपर दोर्दी ‘ख’को विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५५:oo

लमजुङको दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिने भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०८० साल असारभित्र विद्युत् उत्पादन थाल्ने तयारी थालेको हो।

जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए। आयोजनाको बाँध, विद्युतगृह, सुरुङमार्ग निर्माण, उपकरण जडानलगायतका काम सम्पन्न भइसकेको गौतमको भनाइ छ। आयोजनाबाट यसअघि ०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो। गत असार १ गते दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्‍याउँदा तालिका प्रभावित भएको हो।

आयोजनाले प्रसारण लाइनसमेत आफैँ निर्माण गरेको छ। ०७६ फागुनदेखि विद्युत् उत्पादन गर्ने सुरुवाती तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलाको बाढी र कोरोनाको असरले निर्माण प्रभावित हुँदा पछाडि धकेलिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिए। बाढीका कारण पुगेको क्षतिका कारण आयोजना थप डेढ वर्ष पछि धकेलिन पुगेको उनको भनाइ छ।

लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन उक्त आयोजनाको अधिकांश पूर्वाधार संरचना भूमिगत रूपमा बनेका छन्। आयोजनाको विद्युतगृहसमेत भूमिगत रहनेछ। कुल ८ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो। तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढ्न सक्ने आयोजनाले जनाएको छ।

आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न ७ वटा बैंकको ५ अर्ब ८० करोड लगानी छ। आयोजनाले सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षा याममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ। वि.सं २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो। आयोजनाबाट उत्पादन हुने बिजुली दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा ल्याएर जोडिनेछ। आयोजनाको ०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको हो। आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो।

पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाको निर्माण थाल्दा ४९.६ मेगावाट भनिए पनि हाल त्यो बढेर ५४ मेगावाट पुगेको छ। दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनापछिको सबैभन्दा ठूलो आयोजना हो।

ad
ad