मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ चैत ३० बिहीबार ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाको बालबोध माविका ५० छात्रालाई विद्यालयले दियो साइकल उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार ११:४१:oo

हेटौँडा उपमहानगरपालिका– १७, हटियामा रहेको बालबोध माविको कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरूलाई विद्यालयले उपहारस्वरूप साइकल वितरण गरेको छ। 

विद्यालयको ६६औँ अभिभावक दिवसको अवसर पारेर बुधबार ५० जना छात्रालाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिए।

अभिभावक भेलाका प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य एवं निवर्तमान श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले विद्यार्थीलाई साइकल हस्तान्तरण गरेका हुन्। 

छात्राहरूलाई विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोगबाट संकलित पाँच लाख ३१ हजार रुपैयाँको ५० वटा साइकल वितरण गरिएको प्रधानाध्यापक रिजालले बताए।

उनले कक्षा ९ र १० को अध्ययनलाई विशेष प्राथमिकता दिनुपर्ने र टाढा-टाढाबाट समेत छात्राहरू विद्यालय आउने भएकाले उनीहरूको सहजताका लागि विद्यालयले साइकल उपहार दिएको बताए। 

‘विशेषगरी छात्राले अझै पनि आफ्नो घरको काम भ्याएर विद्यालय आउनुपर्ने बाध्यता छ। उनीहरूको समय बचत होस् र अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उनीहरूले पर्याप्त समय दिन सकून् भनेर हामीले साइकल उपहार दिएका हौँ,’  प्रअ रिजालले भने। 

यसरी साइकल उपहार दिँदा छात्राहरूलाई अध्ययनमा सहयोग र हौसला दुवै मिल्ने विश्वास विद्यालयले लिएको प्रअ रिजालको भनाइ छ। उनले स्थानीय तहसँग समन्वय गरेर आगामी वर्षहरूमा पनि यसैगरी छात्राहरूलाई साइकल उपलब्ध गराउने बताए।

प्रअ रिजालका अनुसार छात्राहरूका लागि साइकल खरिद गर्न स्थानीय अंगारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट दुई लाख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टबाट एक लाख, प्रअ रिजालबाट ५१ हजार, स्थानीय समाजसेवी शम्भु भण्डारी, हेटौँडा– ४ का व्यवसायी हरि रिमाल र हेटौँडा– १८ का पोल्ट्री व्यवसायी राजकुमार खत्रीबाट जनही ५०–५० हजार रुपैयाँ र विद्यालयका सहायक प्रअ दीपकलाल श्रेष्ठ, शिक्षक सीमा हुमागाईं र भरतप्रसाद तिमल्सिनाबाट जनही १०–१० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।