Skip This
उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २९ बुधबार १६:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार १६:२o:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे। साथै सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखेका थिए। भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा बोर्डर आउटपोस्ट निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको श्रेष्ठले बताए।

सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताएका थिए। साथै गृहमन्त्रीजस्तो चुनौतीपूर्ण जिम्मेवारीकाे सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे।

भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताए। त्यस क्रममा नेपालगन्ज–रुपैडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको थियो।

गत वर्ष भारतको नयाँदिल्लीमा सम्पन्न ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठकमा कतिपय सीमानजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुंग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेकोसमेत राजदूत श्रीवास्तवले बताए।

भारतीय सहयोगमा बन्ने नयाँ पुलिस एकेडेमी उच्च गुणस्तरको हुने र निर्धारित समयमै सम्पन्न हुने बताउँदै राजदूत श्रीवास्तवले नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता नेपाली सुरक्षाकर्मीको तालिम र क्षमता विकासको कार्यक्रमलाई भारतले सधैँ प्राथमिकता दिएको बताए।