अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
सेजन अध्यक्ष जर्नादन बरालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग भेट गरेको हो । भेटमा मन्त्री डा. महतले वर्तमान देशको वर्तमान आर्थिक अवस्थाबारे सेजन प्रतिनिधिमण्डललाई अवगत गराएका थिए ।
‘रेमिटेन्स र कुल ग्राहस्थ उत्पादन (जिडिपी) को इन्डिकेटर विगतमा भन्दा यसपटक केही कमजोर देखिएको छ । त्यो के कारणले भयो भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ,’ सञ्चारकर्मीहरूसँगको भेटमा डा. महतले भने, ‘तत्कालीन समयमा आयात निर्यातमा प्रतिबन्ध लगाएकाले पनि यो समस्या देखिएको हो । अब केही नयाँ नीति लागू गरेपछि इन्डिकेटरहरू सकारात्मकतर्फ अगाडि बढ्छन् । हामी आशावादी छौँ।’
उनले अर्थतन्त्र समस्यामा रहे पनि समाधान गर्न सकिने अवस्था रहेको बताए । ‘हाम्रो अर्थतन्त्रमा समस्या छ, त्यसलाई समाधान गर्न सकिन्छ । यो वर्ष हामीले अहिलेकै अवस्था कायमै राख्न सकियो भने अर्को वर्ष अर्थतन्त्रका सूचकहरू सकारात्मकतर्फ अघि बढ्नेछन्,’ मन्त्री डा. महतले भने, ‘बजारमा, विप्रेषणलगायत आर्थिक वृद्धिदरको इन्डिकेटरमा समेत समस्या देखिएको छ । यो नेपालमा मात्र होइन, भारतलगायतका अन्य देशमा पनि देखिएको समस्या हो ।’
अर्थमन्त्रीले निर्माण क्षेत्र तथा घरजग्गा व्यवसायमा कमी आएकोले आन्तरिक मागमा कमी आएको बताए । ‘हाम्रो देशमा जुन क्षेत्रमा थोरै सम्भावना मात्र देखियो भने पनि सबै त्यसैमा लाग्ने चलन छ । जस्तो धेरै सिमेन्ट उद्योग खुल्यो । अहिले केही समस्या देखिएको छ । यसको प्रभाव बैंकिङ, निर्माण र स्टिल उद्योगमा पर्न थालेको देखिन्छ,’ मन्त्री डा. महतले भने, ‘यो समस्या हल गर्न विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नजिकबाट छलफल भइरहेको छ ।’
उनले साइट क्लियरेन्समा समस्या देखिएको भन्दै पहिला नै साइट क्लियर भए निर्माण व्यवसायीले झगडा गर्ने काम कम हुँदै जाने बताए । डा. महतले भने, ‘रिसोर्सको अभावमा सबैलाई चित्त बुझाउँदा हामी चुकिरहेका छौँ । यसमा प्राथमिकीकरण गर्न जरुरी छ । समय पावन्दी र स्रोतको सुनिश्चितता गर्न सरकार तयार रहेको छ ।’