Skip This
एमाले उपाध्यक्ष पौडेल उपस्थित कार्यक्रममा तनाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Friday, 26 July, 2024
२o७९ चैत १५ बुधबार o८:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमाले उपाध्यक्ष पौडेल उपस्थित कार्यक्रममा तनाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार o८:५६:oo

एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममै तनाव उत्पन्न भएको छ । पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत सोमबार अछामको साँफेबगरमा आयोजित कार्यक्रममा तनाव उत्पन्न भएको हो । 

‘मिसन ग्रासरुट’ अभियानमा उपाध्यक्ष पौडेल अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सहभागी केन्द्रीय सल्लाकार परिषद् सदस्य पदमराज जोशीले नेता भीमबहादुर रावलको विरोध गरेपछि कार्यकर्ता आक्रोशित हुँदै नाराबाजी गर्दै हातपात गर्न अघि बढेका थिए । उनीहरूले पौडेल, जोशी र मञ्चमा सहभागी नेताहरूले तत्काल माफी माग्नुपर्ने, नत्र सभाबाटै बाहिर निकालिने भन्दै केहीबेर हलभित्रै प्रदर्शन गरे । त्यसक्रममा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध समेत नारा लगाएका उनीहरू मञ्चमा रहेका पौडेललगायत नेतामाथि हातपात गर्न अघि बढेपछि केहीबेर तनाव सिर्जना भएको थियो । जोशीले सम्बोधनका क्रममा नेता रावलले गम्भीर गल्ती गरेको आरोप लगाएपछि उपस्थित नेता कार्यकर्ता एकाएक आक्रोशित बनेका थिए । उनले रावलले पार्टीका निर्णय अस्वीकार गरेको र पार्टीले दिएको जिम्मेवारीसमेत लापरबाही गर्ने तथा नेतृत्वको आलोचना मात्रै गरेकोजस्ता आरोप लगाएका थिए । 

पार्टीकै नेता कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका कारण सभा तनावग्रस्त बनेको थियो । सभामा उपाध्यक्ष पौडेलसहित एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत सहभागी थिए । तर, नेता भीम रावल भने सहभागी थिएनन् । सभाको सुरुमै जोशीले रावलबारे बोलेपछि जिल्लाका स्थानीय नेताहरूसमेत असन्तुष्ट बनेका छन् । एमाले जिल्ला अध्यक्ष चन्द्र बोहराले यसलाई सामान्य रूपमा लिनुपर्ने भन्दै सभामा भीम रावल पक्षका केही नेताहरूले मन्तव्यप्रति असन्तुष्टि जनाएको बताए । ‘जोशीजीले बोल्ने क्रममा थोरै तनाव भएको हो,’ उनले भने, ‘यो विषयलाई सामाजिक सञ्जालमा धेरै उचालियो, खास त्यस्तो होइन ।’

तर, एमाले नेता रावलले भने उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरूले अछाम पुगेर कार्यकर्ता भड्काउन खोजेको आरोप लगाएका छन् । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूविरुद्ध एकजना व्यक्तिले सोझ्याएर प्रहार गरेपछि सहभागी कार्यकर्ताले विरोध गरेको बताए ।

पौडेलको भनाइप्रति रावलको आपत्ति 
धनगढी÷ एमाले नेता भीम रावलले पार्टी उपाध्यक्ष विष्णु पौडेलले आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरेर उनले पौडेलले सोमबार ‘भीम रावलले गल्ती गरेको’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । ‘हिजो अछाममा विष्णु पौडेलले भीम रावलले गम्भीर गल्ती गरेको भन्नु भएछ, म सर्वजनिक रूपमा सोध्न चाहन्छु, मैले के गल्ती गरे ? के मैले पार्टीलाई सैतान भन्नेलाई उम्मेदवार बनाएको छु, के मैले पार्टीको कार्यकर्तालाई हलोमा भोट हाल भनेको छु, के मैले घाइते व्यक्तिलाई एम्बुलेन्सबाट झिकेर हत्याजस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई प्रतिनिधि उम्मेदवार बनाएको छु,’ उनले भने । अध्यक्षमा पराजित भएपछि आफूलाई नसोधी जिम्मेवारी दिएकाले स्वीकार नगरेको उनले बताए ।