दीपकराजसिंह ठकुरीको गोलसँगै नेपाल फाइनलमा, ९० मिनेटसम्म अग्रता लिएको भुटान अन्तिममा निराश

मंगलबार, १४ चैत, २०७९
डिजिटल संस्करण

९०औँ मिनेटमा दीपकराजसिंह ठकुरीको आकर्षक हेडर गोल मद्दतले नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । 

मैदान प्रवेश गरेलगत्तै कर्नरकिक लिन पुगेका अनुभवी भरत खवासले प्रहार गरेको कर्नर किकमा अनन्त तामाङले हेडर गर्दै बललाई गोलपोस्टतर्फ दिशा दिएका थिए । त्यसलाई हेडरमै सटिक प्रहार गर्दै दीपकले बललाई जाली चुमाए ।

साे गाेलसँगै दशरथ रंगशालामा मंगलबार भएको अन्तिम खेलमा नेपालले भुटानलाई १–१ ले बराबरी रोक्दै फाइनलमा स्थान बनायाे । बराबरी नजितासँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

जितसँगै नेपाल एक जित र एक बराबरीसहित ४ अंकसहित फाइनलमा प्रवेश गरेको हाे । नेपालसँगै लाओस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

नेपाल दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रह्यो । लाओसले दुई खेलबाट तीन अंक जोड्दै दोस्रो स्थानमा रहँदै फाइनल स्थान बनाएको हो । भुटानले दुई खेलबाट एक अंक जोडेको छ । नेपालले यसअघि पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो । लाओसले भुटानलाई २–१ ले हराएको थियो ।

राष्ट्रिय टिमबाट आफ्नो दोस्रो खेल खेलिरहेका दीपकले पहिलो गोल गरे । जारी सहिद स्मारक ए डिभिजन लिगका पाँच खेलमा चार गोल गरेका दीपकले आफ्नो उपस्थितिलाई राष्ट्रिय टिममा प्रमाणित गरेका छन् । 

खेलको निर्धारित ९० मिनेट सुरु हुनुअघिसम्म भुटान खेलमा १–० को अग्रतामा थियो । १३ वर्षको इतिहासमा पहिलोपटक नेपाललाई हराउँदै प्रतियोगितामा फाइनल पुग्न अग्रसर बनिरहेको भुटानले अन्तिम केही मिनेट खेलमा नियन्त्रण गुमाउँदा प्रतियोगिताबाट बाहिरिएको छ । 
अब नेपाल र लाओसबीच १७ गते फाइनल खेल हुनेछ । 

सुझावित समाचार