पृथ्वीमा सबैभन्दा मूल्यवान् प्राकृतिक स्रोतमा हावापछि सम्भवतः पानी नै हो । एक क्रियाशील जल प्रणाली सभ्यताको प्राविधिक स्तम्भमध्ये एक हो, तसर्थ जलसंकट जीवन–मरणसँग जोडिन आउँछ । विश्वभरका दुई अर्ब मानिसको सुरक्षित खाने पानीमा पहुँच छैन र विश्वका करिब आधा जनसंख्याले कम्तीमा पनि वर्षको कुनै न कुनैवेला पानीको अभाव झेल्छन् ।
बढ्दो जनसंख्या र पानीको भोको अर्थतन्त्रले हाम्रो सीमित स्वच्छ पानीको आपूर्तिमा अनावश्यक भार थपेको छ । विश्वस्तरमा आवश्यक पर्ने पानीको मात्रा सन् २०३० सम्ममा ४० प्रतिशतले बढ्नेछ । पानीको अभावले जीवन र जीविकोपार्जनलाई थप जोखिममा पार्नेछ र नतिजा पानीको माग र तापक्रम बढ्दै जाँदा विश्वभरका समाजको स्थिरतामा पनि असर पर्नेछ ।
पानीले समुदायको उत्थान गरोस्, हाम्रो अर्थतन्त्र जोगाओस् र यस ग्रहलाई बाँच्नयोग्य बनाइराखोस् भन्नका लागि मौजुदा प्रतिकूल अवस्थालाई कसरी बदल्न सकिएला ? अहिले स्वच्छ वातावरणजस्ता विश्वव्यापी सार्वजनिक वस्तुमा जस्तै प्राकृतिक स्रोतको संरक्षणमा लगानी गर्दा हुने दीर्घकालीन फाइदाभन्दा सुधारको अल्पकालीन खर्चमा बढी जोड दिने प्रवृत्ति हाबी छ ।
हाल जलक्षेत्रसँग पर्याप्त लगानी र माग पूरा गर्ने क्षमताको अभाव छ । तर, यदि हामी सबैका लागि सफा पानी र सरसफाइ सुनिश्चित गर्ने दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न चाहन्छौँ भने हामीले पानीमा हालको विश्वव्यापी लगानीलाई चार गुणाले बढाउनुपर्छ अर्थात् प्रतिवर्ष १० खर्ब डलरको (वैश्विक कुल गार्हस्थ उत्पादनको १.२१ प्रतिशत) लगानी आवश्यक छ ।
हामीले बाढीको क्षति र कमजोर सिँचाइका कारण हरेक वर्ष गुमाइरहेको चार खर्ब ७० अर्ब डलरबराबर खानेपानीको भर्पाई पनि गर्नुपर्ने हुन्छ । जलस्रोत क्षेत्रमा लगानी गरिएको हरेक पैसाले अहिले र भविष्यमा वातावरण एवं जलवायु संरक्षण गरी हाम्रो अर्थतन्त्रलाई फस्टाउन मद्दत गर्नेछ ।
जलस्रोत क्षेत्रमा लगानी गरिएको हरेक पैसाले वर्तमान र भविष्यमा वातावरण एवं जलवायु संरक्षण गरी हाम्रो अर्थतन्त्रलाई फस्टाउन सघाउनेछ
जोर्डनका योजना एवं अन्तर्राष्ट्रिय सहयोगमन्त्री जेना टुकानले गत डिसेम्बरमा मुलुकको जल सुरक्षा र व्यापक आर्थिक विकासका लागि रेड सी (लाल सागर) मा ‘डिसेलिनेसन प्लान्ट’ (समुद्रको पानीबाट नुन हटाउने परियोजना) निर्माण गर्न र तत्पश्चातको प्रशोधित सफा पानीलाई राजधानी अम्मानसम्म पुर्याउन पाइपलाइन बिछ्याउन युरोपियन इन्भेस्टमेन्ट बैंकले उपलब्ध गराएको २० करोड युरो (२१ करोड ५० लाख डलर) ऋणका लागि प्रशंसा गर्नुभएको छ । हामी सबैले पानीको मूल्य चिन्न र व्यवस्थापन गर्न जोर्डनमा ल्याइएका जस्ता वैकल्पिक नीति अपनाउनुपर्छ ।
अन्य क्षेत्रमा झैँ सार्वजनिक क्षेत्रले यो ठूलो लगानी घाटा आफैँले पूर्ति गर्न सक्दैन । व्यापारिक क्षेत्रको यसमा महŒवपूर्ण भूमिका रहन्छ । वातावरणीय प्रभाव तथ्यांक संकलन गर्ने गैरनाफामूलक संस्था सिडिपीका अनुसार पानी अभावको मुद्दा समाधान नभएकाले करिब तीन खर्ब डलरबराबरको व्यापार–व्यवसाय टाट पल्टिने खतरामा छ । तर, पानीअभाव केवल ५५ अर्ब डलरमा समाधान हुनेछ, अर्थात् व्यापार–व्यवसाय टाट पल्टिनबाट जोगाउन कुल सम्भावित घाटाको २० प्रतिशत खर्च गरे पुग्ने देखिन्छ ।
यदि व्यापार व्यवसायले आफ्नो पानी खपत घटाउन नयाँ प्रविधिको प्रयोग गर्ने हो र खेर गइरहेको पानीलाई ऊर्जा, ताप, पोषणलगायत स्रोतका रूपमा प्रयोग गर्ने हो भने वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न सकिन्छ र अरूका लागि पानीको उपलब्धता बढाउन मद्दत पुग्छ । सिडिपीका अनुसार यी ‘जल–सम्बन्धित अवसर’को मूल्य करिब सात खर्ब ११ अर्ब डलरबराबर छ । यो रकमले बचत मात्रै नझल्काई यसले स्मार्ट पानी प्रविधिको दीर्घकालीन बजार निर्माण र समुदाय सम्बन्ध सुदृढीकरणमा पनि योगदान पुर्याउनेछ ।
विश्वका केही हिस्सामा बाहेक पानी प्रायः सस्तो हुने भएकाले व्यापार–व्यवसायलाई पानी संरक्षणमा लगानी गर्न वा धेरै पानी खपत गर्ने निर्माण प्रक्रियामा सुधार ल्याउन प्रोत्साहन अपुग हुन सक्छ । यदि हामीले निजी क्षेत्रलाई जल प्रणालीको सुरक्षालाई प्राथमिकता दिन प्रोत्साहित गर्ने हो भने हामीले पानीको लागतलाई एकपटकको खर्चका रूपमा नभई वास्तविक लगानीका रूपमा हेर्न सुरु गर्नुपर्छ ।
दोस्रो पानीको उपयुक्त मूल्य तोक्नुपर्छ ताकि प्रयोगकर्ता र व्यापार–व्यवसायलाई पानीलाई थप प्रभावकारी रूपमा प्रयोग गर्नका लागि आवश्यक प्रोत्साहन सिर्जना गर्न सकियोस् अर्थात् पानी संरक्षण आर्थिक रूपमा पनि फलदायी होस् । तर, यहाँनेर सन्तुलित उपाय अपनाउनुपर्छ किनभने खानेपानी र सरसफाइमा किफायती पहुँच एक मान्यता प्राप्त मानव अधिकार हो अर्थात् पानीको किफायती पहुँचमा सम्झौता हुन सक्दैन । तेस्रो, विश्वव्यापी सहयोग र पानीमा थप लगानी जुटाउन नयाँ अन्तरदेशीय कार्यक्रम आवश्यक छ किनभने यसले बजारको असफलतालाई हटाउनेछ र पानीलाई राजनीतीकरण र हतियार बन्नबाट रोक्नेछ ।
पानीमा हुने लगानी स्वच्छ ऊर्जामा हुने लगानीजत्तिकै दिगो र अर्थतन्त्रमैत्री हुनेछ । हामीले नेदरल्यान्ड्स र लक्जमबर्गदेखि नाइजेरिया र लाओससम्म जताततै दिगो विकासका लागि साझा दृष्टिकोण सुनिश्चित गर्न जलचक्रलाई स्थिर पार्न नयाँ निर्देशिका स्थापना गर्न सक्छौँ । र, यदि फल खोज्ने हो भने हामीले सार्वजनिक एवं निजी स्रोतबाट पानीमा हुने लगानीलाई प्रोत्साहन गर्ने थप उपाय खोज्नुपर्छ । पानीकै कारण दिगो विकास लक्ष्य पूरा हुनेछ । हामीले हाम्रा लगानी प्राथमिकता तय गर्न जान्नुपर्छ र यी प्राथमिकतालाई केन्द्रमा राख्न सक्नुपर्छ ।
(फेयोले युरोपियन इन्भेस्टमेन्ट बैंकका पूर्वउपाध्यक्ष हुन् भने ओभिंक अन्तर्राष्ट्रिय जल मामिलाका लागि विशेष दूत हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट