मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार ०६:०३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आज चयन हुँदै छन् गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार ०६:०३:००

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न आज मतदान हुँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १०–३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न मतदान हुन लागेको हो । उपराष्ट्रपति पदका लागि तीनजना प्रतिस्पर्धामा छन् । 

लोत्से हलमा संघ र प्रदेश सांसदका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । संघीय सांसदका लागि रातो रङ र प्रदेश सभा सदस्यका लागि हरियो रङको मतपत्र तयार पारिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर राखिएको छ । 

संघीय सांसदले मतदान गर्ने केन्द्रमा कृष्णशरण लामिछाने र प्रदेश सभाका सदस्यले मतदान गर्ने केन्द्रमा मन्दिरा शाहीलाई मतदान अधिकृत तोकिएको छ । मतदान प्रतिनिधिको नियुक्ति एवं मतगणनास्थलका व्यवस्थापनलगायतका पूर्वतयारी सम्पन्न भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । 

उपराष्ट्रपति निर्वाचनमा सत्तागठबन्धनबाट जसपाका रामसहाय यादव र जनमतकी ममता झा तथा प्रतिपक्षी एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । जसपाबाटै वैकल्पिक रूपमा उम्मेदवारी दिएकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी छिन् । यद्यपि, निर्वाचन कार्यक्रमअनुसार निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिएकाले उनको नाम मतपत्रमा तस्बिरसहित कायमै छ । 

आयोगले छापेको मतपत्रमा प्रमिलासहित चारै उम्मेदवारको नाम र तस्बिर छ । मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार रहेको छ । निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ । 

उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित हुन बहुमत अर्थात् २६ हजार तीन सय १५ मत कटाउनुपर्छ । 

आठदलीय गठबन्धनको ३२ हजार दुई सय ६७ मत छ । रामसहायको पक्षमा खुलेका सात दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्तिको मतभार ३१ हजार २५ छ । राष्ट्रपतिमा गठबन्धनकै उम्मेदवारलाई मत दिएको रास्वपा उपराष्ट्रपतिमा पनि यादवलाई सहयोग गर्ने रणनीतिमा छ । रास्वपाको एक हजार पाँच सय एक मत छ । 

ममता झालाई अघि सारेको जनमतको पक्षमा अहिलेसम्म आफ्नो दलको एक हजार दुई सय ४२ मत छ । एमालेकी अष्टलक्ष्मी शाक्यसँग १५ हजार तीन सय ९१ मत छ । दुई हजार चार सय ५० मत भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ । यसबाहेक नेमकिपासहित एक हजार १९ मत अनिर्णीत छ । 

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले ३ बजे मतदान सकिएपछि साढे ३ बाट मतगणना सुरु गरिने र ५ बजे परिणाम आइसक्ने बताए । ‘साँझ नै नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रमाणपत्र दिने गरी तयारीमा छौँ,’ उनले भने । 

उपराष्ट्रपति पुन निजी निवास सरे 
वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल शुक्रबार राति १२ बजेबाट सकिँदै छ । पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन् । उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ ।