१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार ०७:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विषादी परीक्षण प्रक्रिया अगाडि बढाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार ०७:२७:००

खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बिहीबार बिहानको क्याबिनेटले मन्त्रिपरिषद्मातहतको आर्थिक तथा पूर्वाधार समितिमा प्रक्रिया अघि बढाउन छलफलका लागि पठाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १५ भदौको मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको थियो । २१ भदौको मन्त्रिपरिषद् बैठकले आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाएर प्रस्ताव त्यसै थन्किएको थियो ।

गत ४ मंसिरमा निर्वाचनपछि नयाँ सरकार गठन हुनासाथ पुरानो मन्त्रिपरिषद्का निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप आयातित खाद्य पदार्थको विषादी मापन गर्ने प्रस्ताव पनि फिर्ता गएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सो प्रस्ताव फिर्ता गएपछि सार्वजनिक रूपमा आलोचना भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव तुरुन्त ल्याउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै कृषिले नयाँ प्रस्ताव पेस गरेको र निर्णय प्रक्रियाका लागि मन्त्रिपरिषद्मातहतको समितिमा छलफलका लागि पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कृषि मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन, २०२३ को दफा ७ बमोजिम विभिन्न तरकारीका ६ समूह र १५ उपसमूह एवं फलफूलका चार समूह र १० उपसमूहको जीवनाशक विषादीको अधिकतम सीमा निर्धारणका लागि मापदण्ड बनाउने गरेको छ ।

विभागले विभिन्न भन्सार नाकामा प्रयोगशाला राखेर तरकारीमा कार्बोमेट र अर्गानो फस्फेट विषादीको मात्रा नियमित रूपमा परीक्षण हुने गरेको छ । तरकारी, फलफूलमा रहेको विषादीको अवशेष पत्ता लगाउन झापाको बिर्तामोड, मोरङको विराटनगर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालिमाटीमा विषादी अवशेष द्रुत विश्लेषण इकाइमा स्थापना गरिएको छ ।

त्यस्तै, भन्सार विन्दुमै प्लान्ट क्वारेन्टिनका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काँकडभिट्टा, विराटनगर, भेन्टाबारी (सुनसरी), जलेश्वर, मलंगवा, वीरगन्ज, तातोपानी, टिमुरे, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी (कञ्चनपुर), लोमाथाङ (मुस्ताङ) र झुलाघाट (बैतडी)मा स्थापना भएका छन् । यी ल्याबले प्रतिबन्धित रोग, किराबारे जानकारी दिन्छन् । त्यस्तै, ललितपुरमा केन्द्रीय कृषि प्रयोगशालाले कार्बोमेट र अर्गानो फस्फेट विषादीको सघन विश्लेषण गर्छ  ।