विदेशी खेलाडी साइदजमोल डाभब्लाट्जोनोभको एक मात्र निर्णायक गोलको सहयोगमा सर्वाधिक आठपटकको विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा साँझ भएको खेलमा मनाङले अर्काे उपाधि दाबेदार संकटालाई १–० ले पराजित गर्यो । मनाङले दुई खेलबाट चार अंक जोडेको छ । संकटाको समान खेलबाट एक अंक छ । यसअघि मनाङ पहिलो खेलमा हिमालयन शेर्पा र संकटा त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएका थिए ।
लगातार फिनिसिङमा चुकेपछि संकटाको उपाधि यात्रामा धक्का लागेको छ । खेलमा अधिकांश समय हावी भए पनि संकटाको फिनिसिङ कमजोर देखियो । अर्कोतिर, मनाङले फिनिसिङमा सुधार गर्यो । मनाङका प्रशिक्षक किरण श्रेष्ठले उपाधि जित्नुपर्ने दबाब नभएको र शीर्ष चारको योजना रहेको बताए । ‘हामीमाथि उपाधि जित्नुपर्ने कुनै दबा छैन, यसपटक शीर्ष चारभित्रको लक्ष्य राखेका छौँ,’ खेलपछि श्रेष्ठले भने, ‘हामी योजनाअनुसार सफल भएका छौँ, संकटा हामीभन्दा राम्रो टोली हो ।’ मनाङले ०४३, ०४४ र ०४६ सालमा लिगको उपाधिमाथि ह्याट्रिक गरेको थियो । ०५६, ०६०, ०६२, ०७० र ०७५ सालमा उपाधि जित्दै मनाङले कीर्तिमानी आठपटक ट्रफी चुम्यो ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले फिनिसिङमा चुक्दा टोली पराजित भएको बताए । ‘हामीले फिनिसिङ राम्रो बनाउन सकेनौँ, मनाङको काउन्टर खेलको सिकार भयौँ,’ खड्गीले भने, ‘हामीले पकड बनायौँ, सानो गल्तीले गोल व्यहो¥यौँ ।’
पुलिसको लगातार दोस्रो हार
नेपाल पुलिस क्लबले लिगमा लगातार दोस्रो हारको सामना गरेको छ । दशरथ रंगशालामा पुलिस हिमालयन शेर्पासँग १–० ले पराजित भयो । हिमालयनका लागि अमृत श्रेष्ठले निर्णायक एक मात्र गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा अमृतले हिमालयनका लागि विजयी गोल गरेका थिए । उनले डिबक्सभित्रबाट दोस्रो बारमा गोल गरेका थिए । हिमालयनले दुई खेलबाट चार अंक जोडेको छ । पुलिसले खाता खोलेको छैन । पहिलो खेलमा हिमालयन मनाङ मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । पुलिस नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित भयो ।
हिमालयनका प्रशिक्षक सुमन श्रेष्ठले खेल राम्रो नभएको र फिनिसिङमा चुकेको प्रतिक्रिया दिए । ‘सोचको जस्तो खेल भएन । पहिलो हाफमै अग्रता लिने सोच बनाएका थियौँ । फिनिसिङमा समस्या हुँदा गोल भएन, पेनाल्टीसमेत चुकाउन पुग्यौँ,’ श्रेष्ठले भने । खेलको ३२औँ मिनेटमा हिमालयनले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेन ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले युवा खेलाडीले उच्च प्रदर्शन गरिरहे पनि जित निकाल्न नसकेको जनाए । ‘युवा खेलाडीले अघिल्लो खेलको तुलनामा राम्रो खेलेका छन् । बाँकी खेलमा उनीहरूको अनुभव बढ्नेछ,’ घिमिरेले भने, ‘लिगमा हामीले सोचेको नतिजा निकाल्न सकिरहेका छैनौँ ।’ हिमालयनले पुलिसविरुद्ध तीन विदेशी खेलाडीलाई मैदानमा उत्रारेको थियो । खेलको ७१औँ मिनेटमा पुलिसका वैकल्पिक स्ट्राइकर सन्देश विकसँग जुध्दा हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घाइते हुँदै मैदान छाडेका थिए ।
सातदोबाटोको लय कायमै
सातदोबाटो युथ क्लबले लिगमा लगातार दोस्रो जित निकालेको छ । च्यासल मैदानमा सातदोबाटोले एपिएफ फुटबल क्लबलाई १–० ले हरायो । जितसँगै सातदोबाटोले दुई खेलबाट ६ अंक जोडेको छ । एपिएफको समान खेलबाट तीन अंक छ । लगातार जितसँगै सातदोबाटोका प्रशिक्षक सनोज श्रेष्ठले सोचेजस्तो प्रदर्शन भएको बताए ।