चालू आर्थिक वर्ष ०७९/८० को पहिलो सात महिना (साउन–माघ)मा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका एक सय ५३ उद्योग दर्ता भएका छन् । यी उद्योगमा एक खर्ब ८५ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ ।
दर्ता भएका कुल उद्योग–परियोजनामध्ये ४१ वटा ठूला, ४३ वटा मझौला र ६९ वटा साना रहेको उद्योग विभागले जनाएको छ । पछिल्लो समय अन्तरिक तथा बाह्य कारणले समग्र अर्थतन्त्रमा चरम मन्दी छाउँदा स्वदेशी तथा विदेशी लगानीमा समेत असर परेको देखिन्छ । तरलता अभाव, चर्को ब्याजदर, मूल्यवृद्धि, उभोक्ताको मागमा आएको गिरावटलगायत कारणले स्वदेशी लगानीकर्तासमेत अहिले नयाँ लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा छन् ।
सात महिनामा दर्ता भएका उद्योगले नौ हजार नौ सय १३ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । यस्तै, यस अवधिमा उद्योग विभागले एक सय ४४ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको जनाएको छ । यी परियोजनामा १८ अर्ब ६३ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । उद्योग विभागका अनुसार प्रस्तावित विदेशी लगानीका उद्योग–परियोजना सञ्चालनमा आउँदा आठ हजार ६ सय पाँचजनाले रोजगारी पाउने उल्लेख छ ।
सात महिनाको अवधिमा उद्योग विभागमा एउटा मात्र प्याटेन्ट दर्ता भएको छ । यस्तै, आठवटा डिजाइन दर्ता भएका छन् भने एक हजार सात सय ८५ ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गर्ने उद्योग तथा परियोजनाको संख्या ३७ रहेको छ । पछिल्लो सात महिनामा ट्रेडमार्कसम्बन्धी मुद्दामा ६२ व्यक्ति–संस्था कारबाहीमा परेका छन् ।