१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी म्याड्रिड
२०७९ फाल्गुण २० शनिबार ०८:५३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रियलविरुद्ध बार्सिलोना विजयी 

Read Time : < 1 मिनेट
एजेन्सी म्याड्रिड
२०७९ फाल्गुण २० शनिबार ०८:५३:००

बार्सिलोनाले कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई १–० ले हराएको छ । इडर मिलिटाओले आत्मघाती गोल गरेपछि घरेलु सान्टियागो बेर्नाबाउमै रियल पराजित भएको हो । 

खेलमा बल पोसेसन र आक्रमणमा भने रियल अघि थियो । युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र ला–लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले ठूलो राहत मिलेको छ । 

२६औँ मिनेटमा इडरले आत्मघाती गोल गरेपछि खेलमा अग्रता बनाएको बार्सिलोना अधिकांश समय रक्षात्मक देखिएको थियो । दोस्रो लेग खेल अब ५ अप्रिलमा क्याम्प नोउमा हुनेछ । बार्सिलोनाका मुख्य स्ट्राइकरद्वय रोबर्ट लेवान्डोस्की र उस्माने डेम्बेले घाइते भएका कारण यस खेलमा टिममा थिएनन् । 

बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्ना खेलाडीहरूको प्रदर्शनबाट खुसी भएको बताए । ‘विपक्षीको पोस्टतर्फ हामीले धेरै बल खेलाउन नसकेको सत्य हो । तर, रक्षात्मक रूपमा हामी राम्रो देखियौँ । उनीहरू (रियल)ले बल पोसेसनमा राखे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेनन् । तर, हामीले बाँकी खेलमा प्रदर्शन सुधार्न जरुरी छ,’ उनले भने । 

रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले बार्सिलोनाको डिफेन्स चिर्न नसक्दा खेल हार्नुपरेको बताए । ‘हामीले अधिकांश समय बल नियन्त्रणमा राख्यौैँ । तर, उनीहरूको डिफेन्स धेरै टाइट थियो, जसकारण हामी क्रस खेल्न बाध्य भयौँ र यसमा उनीहरू निकै बलियो थिए,’ उनले भने ।