१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १९ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ फाल्गुण १९ शुक्रबार o६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

ऋण नतिर्न आन्दोलन गर्नु अराजकता हो : बैंकर्स संघ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १९ शुक्रबार o६:५o:oo

 ऋणको साँवा–ब्याज तिर्नुपर्ने ऋणीको दायित्व भएकाले नतिर्ने भन्दै आन्दोलन गर्नु अराजकता भएको नेपाल बैंकर्स संघले बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले कानुनविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । 

बैंक–वित्तीय तथा लघुवित्त संस्थाहरू नियामक निकायद्वारा जारी गरिएको नीति–निर्देशन तथा विभिन्न ऐनको अधीनमा रही बैंकिङ सेवा प्रदान गर्दै आइरहेको उल्लेख छ । संघले केही समस्या भएको खण्डमा सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नुपर्ने धारणा दिएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाको साथ र सहयोगकोे अपेक्षा गर्दछौँ ।’  

पछिल्लो समय केही व्यक्तिहरूले बैंक–वित्तीय तथा लघुवित्त संस्थाहरूविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणाले कर्मचारीहरू हतोत्साही बनाएको संघले बताएको छ । उसले धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहारको खण्डनसमेत गरेको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले चार करोड ८३ लाखभन्दा धेरै निक्षेप खातामार्फत झन्डै  ५,४०० अर्ब रुपैयाँ निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीहरूमार्फत ४,८०० अर्ब रुपैयाँभन्दा धेरै कर्जा परिचालन गर्दै आइरहेको संघले जानकारी दिएको छ । यस क्षेत्रले ५३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षमा राज्यलाई ३४ अर्बभन्दा धेरै कर तिरेको र कोभिड संक्रमणमा ब्याजदर छुटमार्फत ऋणीहरूलाई प्रत्यक्ष रूपमा १० अर्बभन्दा धेरैको ब्याजमा छुट दिएको बताएको छ । देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झन्डै ६० लाख निक्षेप खाता तथा ३२ लाखभन्दा धेरै ऋणीहरूलाई सेवा प्रदान गर्नुका साथै २३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको जानकारी संघले दिएको छ । 

‘बैंक–वित्तीय तथा लघुवित्त संस्थाहरूको आफ्ना ग्राहकसँग रहिआएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक क्रियाकलापले बिथोल्न नसक्नेमा हामी स्पष्ट छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि बैंक–वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको साँवा–किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुईमत छैन । विभिन्न सर्तहरूको अधीनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलाप कसैको हितमा नहुने, यसले असहज वातावरण सिर्जना गर्ने र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने हुनाले यसप्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौँ ।’

ad
ad
ad
ad