मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १८ बिहीबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १८ बिहीबार o८:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा भित्रिए एक लाख २८ हजार पर्यटक

गत वर्षको जनवरी र फेब्रुअरीको तुलनामा २४९ प्रतिशत बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १८ बिहीबार o८:२o:oo

विदेशी पर्यटक आगमनका लागि सन् २०२३ सुखद बन्ने संकेत देखिएको छ । वर्षको पहिलो दुई महिना (जनवरी–फेब्रुअरी)मा विभिन्न देशबाट एक लाख २८ हजार ३२९ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन संख्या गत वर्षको यसै अवधिको तुलनामा २४९ प्रतिशतले बढी हो । सन् २०२२ को पहिलो दुई महिनामा ३६ हजार ७४१ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

तर, पर्यटक आगमन कोभिड महामारीअघिकै अवस्थामा भने अझै फर्किन सकेको देखिँदैन । सन् २०१९ को जनवरी र फेब्रुअरीमा विभिन्न देशबाट एक लाख ६९ हजार १३७ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । कोभिडअघिकै अवस्थामा पुग्न करिब ४१ हजार पर्यटक कम देखिन्छन् ।

यस वर्ष जनवरीमा ५५ हजार ०७४ पर्यटक नेपाल भित्रिएका थिए भने फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा १६ हजार ९५७ र फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणमा आउने धेरै पर्यटक भारतीय हुने गरेका छन् ।

 फेब्रुअरीमा भित्रिएका पर्यटक 
यस वर्ष फेबु्रअरीमा भारतबाट १८ हजार ४०१ पर्यटक नेपाल आएका छन् । जनवरीमा १६ हजार ४३६ पर्यटक नेपाल भित्रिएका थिए । फेबु्रअरीमा युकेबाट तीन हजार ४५८, अस्ट्रेलियाबाट तीन हजार ४४१, युएसएबाट ६ हजार ५६१, बंगलादेशबाट दुई हजार ४६८, भुटानबाट एक हजार ३५, चीनबाट एक हजार ४३६, दक्षिण कोरियाबाट दुई हजार १९८, थाइल्यान्डबाट दुई हजार ४१९, क्यानडाबाट एक हजार पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ ।

फेब्रुअरीमा सार्क मुलुकबाट २० हजार ६२७ पर्यटक आएका छन् जुन संख्या कुल पर्यटकको ३७.५ प्रतिशत हो । यस्तै, अन्य एसियाली देशबाट आठ हजार ५९३ पर्यटक (१५.६ प्रतिशत) आएका छन् भने युरोपबाट आठ हजार ६८८ (१५.८ प्रतिशत), ओसियानबाट तीन हजार ६३२ (६.६ प्रतिशत), अमेरिकाबाट सात हजार ५६२ (१३.७ प्रतिशत), मध्यपूर्वबाट तीन सय ७४ पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ ।