खेलको अन्तिम १० मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै मच्छिन्द्र क्लब प्रथम भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मच्छिन्द्रले अन्तिम चारको स्थान पक्का गरेको हो । मच्छिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठ र स्ट्राइकर विमल घर्तीमगरले एक–एक गोल गरेका थिए । खेल सकिन १० मिनेटभित्र सुजल र विमलले गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए । यसअघि खेलको ८०औँ मिनेटसम्म चर्च ब्वाइज १–० ले अघि थियो ।
मच्छिन्द्रले फाइनल प्रवेशका लागि एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्नेछ । प्रतिस्पर्धाको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले १–० को अग्रता दिलाए । गगनदीप सिंहले दिएको क्रसमा डिबक्सभित्र रहेका अनन्तले दोस्रो बारमा हेडिङ गोल गरेका हुन् ।
सुजल र विमलको गोल
मच्छिन्द्रले बराबरी गोल फर्काउन निकै प्रयास गरेको थियो । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रले आक्रामक खेल प्रस्तुत गर्यो । खेलको ८१औँ मिनेटमा कप्तान सुजलले डिबक्सबाहिरबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै मच्छिन्द्रलाई १–१ को बराबरीमा पुर्याए । चर्च ब्वाइजका एरिक विष्टले सुजललाई डिबक्सअगाडि लडाएका थिए । सुजलले पोस्ट भन्दा २५ यार्ड टाढाबाट सीधै फ्रिकिकमा गोल गरे । उनको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक अभिषेक चौधरीले जज गर्नै सकेनन् ।
मच्छिन्द्रले खेल बराबरीमा ल्याएपछि चर्च ब्वाइज दबाबमा देखियो । खेलको ८६औँ मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता लियो । छिरिङ गुरुङको लामो क्रसमा विमलले डिबक्सभित्र हेडिङ गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । १९ फागुनदेखि सुरु हुने ए डिभिजन लिगको पूर्वसन्ध्यामा क्लबहरूले अभ्यासका रूपमा भद्रपुर–झापा गोल्डकपमा सहभागिता जनाइरहेका छन् । चर्च ब्वाइजले खेल नियन्त्रणमा राख्न नसक्दा अग्रता रक्षा गर्न नसकेकाले पराजित भएको हो ।
सुरुमा राम्रो खेल भएन
प्रवेश कटवाल, प्रशिक्षक, मच्छिन्द्र
प्रतिस्पर्धाको सुरुवाती १५–२० मिनेटपछि हामीले विपक्षीलाई दबाबमा राख्यौँ । सुरुमा खेल राम्रो भएन । त्यसपछि हामीले लय समाते पनि गोल गर्न सकेनौँ । मध्यान्तरपछि अनावश्यक रूपमा हामीले गोल खायौँ । एउटा मौका सदुपयोग गर्न सक्यौँ भने खेलमा फर्कन्छौँ भन्ने आशा थियो । बराबरी गोल फर्काएपछि खेलाडी हौसिए । लगातार प्रतियोगिता हुँदा पनि समस्या भइरहेको छ । आउने खेलले खेलाडीले थकान मेटाउन पाउँदैनन् भन्ने डर छ ।
रेफ्रीले गलत निर्णय गरे
अनन्त तामाङ, कप्तान, चर्च ब्वाइज
हामीले यस प्रतियोगितालाई लिगको तयारीका रूपमा लिएका छौँ । स–साना कमजोरी हुने गर्छ । हामीले भर्खर टोली बनाएका छौँ । गल्तीलाई पाठका रूपमा लिएको छु । तर, खेलमा रेफ्रीले गलत निर्णय दिए । जुन फ्रिकिक दिइयो, त्यो थिएन । रेफ्री आफ्नो स्थानमा थिएनन् । रेफ्रीको यो किसिमको गल्ती बारम्बार भइरहेको छ । नेपाली फुटबल अगाडि नबढ्नुको कारण रेफ्री पनि हो । उनीहरूले मनपरी निर्णय दिएका छन् । यद्यपि, हामीले राम्रो खेल्यौँ ।