फर्जी तमसुक खारेजीको माग गर्दै मिटरब्याजपीडित फेरि सडकमा आएका छन्। घरव्यवहारका चलाउन लिएको ऋणभन्दा तेब्बरको कपाली तमसुकसहित घर–जग्गासमेत दृष्टिबन्धक भन्दै झुक्याएर राजीनामा पास गराई आफूहरूको उठिबास गराएको भन्दै मिटरब्याज पीडितहरूले सोमबार सिराहाको मिर्चैयामा प्रदर्शन गरेका हुन्।
मिर्चैयाको कटारी चोक, थाना चोक, मुख्य बजार, नगरपालिका कार्यालय क्षेत्रमा पीडितहरूले सुद्खोरलाई कारबाहीसहित पीडितको जफत गरिएको सम्पत्ति फिर्ता, मिटरब्याजीको सम्पत्तिको छानबिन, तमसुक व्यवस्थाको खारेजी, सहुलियत दरमा ऋणको व्यवस्था, पीडितलाई न्यायको माग गर्दै प्रदर्शन गरे।
पछिल्लो करिब एक वर्षदेखि स्थानीय प्रशासन, मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदासमेत पीडितहरूले न्याय पाउनको साटो उल्टै घरजग्गा लिलाम हुन थालेपछि प्रदर्शन गरिएको मिटरब्याजविरुद्ध मधेस प्रदेशस्तरीय संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले बताए।
‘मिटरब्याजीलाई कारबाही गरिनुको सट्टा उल्टै पीडितहरूको उठीबास गराइएको छ,’ संयोजक पासवानले भने, ‘जिल्लामा स्थानीय प्रशासनले कानुनी अड्चनको कारण देखाउँदै एकजना सुद्खोरलाई पनि पक्राउ गरी कानुनी कारबाही गरेको छैन।’
करोडौँ रकमको कारोबार पनि घरेलु बहीखातामार्फत गर्ने सुद्खोरहरूले सम्पत्ति आर्जन कसरी गरे, पीडितहरूको कसरी उठीबास गराइँदै छ भन्दा पनि व्यवहारिकता भन्दै भित्रभित्रै मिलापत्र गराउन खोजिनु स्थानीय प्रशासनको भूमिकामाथि नै प्रश्न उठाउने बेला भएको उनले बताए।
पछिल्लो २५ साउनमा विभिन्न सातबुँदे मागसहित जनकपुरस्थित मुख्यमन्त्रीको कार्यालयअगाडि नाराबाजीसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा आश्वासन मात्र पाएको तर व्यवहारमा केही नदेखिएपछि आइतबार पुनः मधेस प्रदेशअन्तर्गतका जिल्लाका पीडितहरूले मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको उनले बताए।
छानबिनपछि प्रमाणीकरण गर्न आग्रह
स्थानीय प्रशासनले गत २ साउनमा सार्वजनिक सूचना जारी गर्दै आर्थिक लेनदेनसम्बन्धी कपाली तमसुकलाई वडा र स्थानीय तहले आवश्यक छानबिन गरेर मात्र प्रमाणीकरण गर्न आग्रह गरेको थियो।
स्थानीय प्रशासनले तीन दोब्बरको कागज बनाएर घरजग्गा पास गर्ने, सोझा जनताको अप्ठ्यारोको फाइदा उठाउँदै घरजग्गा फिर्ता नगर्ने, अदालतबाट कपाली तमसुक बराबर रकमको मुद्दा दायर गरी सम्पत्ति लिलाम गरी उठीबास गराएका घटनाहरू देखिएकाले प्रमाणीकरण गर्दा छानबिन गर्न आग्रह गरेको हो।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिराहाले सूचना जारी गर्दै लिएको रकमभन्दा बढी रकमको कपाली तमसुकमा हस्ताक्षर नगर्न, साँबा ब्याज फिर्ता गर्दा भर्पाई लिन, ऋण लिँदा जग्गा रजिस्ट्रेसन नगर्न, मिटरब्याजबाट पीडित भए हदम्यादभित्रै सम्बन्धित निकायमा उजुरी गर्न आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थामार्फत गर्न आग्रह गरेको छ।