बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली २ फागुनबाट लागू हुने भएको छ । १ फागुनमा लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सार्वजनिक बिदा परेकाले भोलिपल्टदेखि लागू गर्ने भएको हो ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिएपछि लाइसेन्स लिन ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको हो । उनले प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठलाई ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली कार्यान्वयन गर्ने अनुमति दिएको बताएका छन् ।
एकालाल श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री, बागमती प्रदेश
अन्य प्रदेशमा लागू भइसकेको यो प्रणाली बागमती प्रदेशमा पनि लागू हुन्छ । हामीले यो प्रणाली १ फागुनबाटै लागू गर्ने तयारी गरेका थियौँ, बिदा परेकाले २ गतेबाट लागू हुनेछ ।
यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्व सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि दबाबकै कारण रोकिएको थियो । पाण्डेको हस्तक्षेपका कारण तीनपटकसम्म रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारका यातायातमन्त्री श्रेष्ठले पनि लागू गर्ने बताएका छन् । उनले अन्य प्रदेशमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने बताए । ‘अन्य प्रदेशमा लागू भइसकेको यो प्रणाली बागमती प्रदेशमा पनि लागू हुन्छ । हामीले यो प्रणालीलाई १ फागुनबाटै लागू गर्ने तयारी गरेका थियौँ, बिदा परेकाले २ गतेबाट लागू हुनेछ,’ मन्त्री श्रेष्ठले भने ।
ट्रायलका वेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेको मन्त्री श्रेष्ठले बताए । उनले सवारी चलाउँदा हुने सामान्य गल्तीलाई सच्याउँदै लैजान सकिने भएकाले यो प्रणाली लागू गर्न खोजिएको बताए । ‘सानो गल्तीमा पनि ट्रायल फेल गर्दा झन् बढी समस्या भएको छ । अवैधानिक रूपमा लाइसेन्स निकाल्ने, विनालाइसेन्स सवारी चलाउनेजस्ता गतिविधि बढेको छ । यस्ता गविधिलाई रोक्न पनि ७० अंक ल्याए पास हुने प्रणालीलाई लागू गर्ने तयारी गरेका छौँ,’ मन्त्री श्रेष्ठले स्पष्ट पारे ।
७० अंक प्रणालीमा के छ ?
ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।
यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।
यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।