Skip This
हजुरआमा र आमाको स्मृतिमा नगरपालिकालाई एम्बुलेन्स सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १३ शुक्रबार २o:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हजुरआमा र आमाको स्मृतिमा नगरपालिकालाई एम्बुलेन्स सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार २o:३१:oo

सिराहाको धनगढीमाई नगरपालिका- १३ भोर्लेनी घर भएका एक व्यक्तिले आफ्नी दिवंगत हजुरआमा र आमाको स्मृतिमा व्यक्तिगत खर्चमै एम्बलुेन्स खरिद गरी नगरपालिकालाई हस्तन्तरण गरेका छन्। 

एम्बुलेन्स नपाएर वेलैमा उपचारका लागि लैजान नपाउँदा १९ वर्षअघि निधन भएकी हजुरआमा सुमित्रादेवी लम्साल र ३६ वर्षअघि निधन भएकी आमा बुद्धमाया लम्सालको जस्तो नियति अन्यले भेग्नु नपरोस् भन्ने उद्देश्यले ५२ वर्षीय नवराज लम्सालले एम्बुलेन्स खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

वडा  कार्यालयअन्तर्गत रहेको म.प्र.०१–००१ झ ००४१ नम्बरको एम्बुलेन्स बिहीबार परेको सरस्वती पूजाको दिनदेखि विधिवत् रूपमा सञ्चालन गरिएको धनगढीमाई– १३ का वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए। 

वडाध्यक्ष तामाङका अनुसार पुसको पहिलो साता खरिद गरी गत २९ पुसमा आयोजित नवौँ नगरसभामा लम्सालका बाबु ६८ वर्षीय बद्री लम्साल र भाइ कुमार लम्सालले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । एम्बुलेन्सको साँचो हस्तान्तरणपछि नगरले बाबु र भाइलाई दोसल्ला, सम्मानपत्रसहित सम्मान गरेको छ। 

नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी भोर्लेनीस्थित वडा कार्यालयअन्तर्गत रहने गरी सञ्चालन थालिएको एम्बुलेन्स सेवाको नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी भाडादर कायम गरिएको भोर्लेनीस्थित वडा कार्यालयसँगै रहेको नगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र केन्द्रका प्रमुख तथा दाताका भाइ कुमारले बताए।

गर्भवती महिलालाई निःशुल्क

वडाध्यक्ष तामाङका अनुसार नगरपालिकाले सञ्चालन गरिरहेको नयनपुर अस्पताल र बर्थिङ सेन्टरसम्म प्रसूति गराउन आउने र अस्पतालले रेफर गरी लहानसम्म आउनुपर्ने गर्भवतीका लागि एम्बुलेन्स सेवा निःशुक गरिएको छ।

‘नगरको अस्पतालले प्रसूति गराउन नसक्ने जटिल खालको अवस्था भएका गर्भवतीलाई रेफर गरी लहानसम्म आउनुपर्ने भएको खण्डमा निःशुल्क गरिएको हो,’ उनले भने। 

उनका अनुसार नगरको १४ वटै वडाबाट नगरले सञ्चालन गरिरहेको नयनपुर अस्पताल र छपराढी, कसहा, जिरोमाइल, मुसहर्निया र धनगढी बजारसम्म एम्बुलेन्स सेवा लिने बिरामीलाई तीन सय रुपैयाँ शुल्क कायम गरिएको छ। 

नगर क्षेत्र र बाहिर एम्बुलेन्स सेवा सञ्चालनका लागि कालोपत्रे र ग्राभेल सडकमा प्रतिकिलोेमिटर क्रमशः ४५ र ५० रुपैयाँ, कच्ची बाटोमा प्रतिकिलोमिटर ६० रुपैयाँ भाडादर कायम गरिएको उनले बताए। धनगढीमाई नगर क्षेत्रमा सरकारी क्षेत्रबाट सञ्चालित पहिलो एम्बुलेन्स भएकाले बिरामीलाई वेलैमा उपचार गराउन स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने उनले बताए।  

महामारीमा राहतदेखि वडाको गेट निर्माण

पछिल्लो करिब दुई दशकदेखि सपरिवार अमेरिकाको जर्जिया राज्यमा बसोवास गर्दै लम्सालले कोरोना महामारीको वेलामा पनि दुईपल्ट गरी भोर्लेनी गाउँका गरिब, विपन्न, असहायका लागि वडा कार्यालयसँग समन्वय गरी राहतस्वरूप करिब तीन लाख रुपैयाँबराबरको खाद्य सामग्री वितरण गरेको बाबु बद्री लम्सालले उल्लेख गरे।

‘बिरानो मुलुकमा बसोवास गरिरहेको भए पनि आफू जन्मे–हुर्केको ठाउँका असहायहरूका लागि छोराले गरेको सहयोगले भोर्लेनी गाउँकै शिर उच्च भएको छ,’ लम्सालले भने, ‘राहतबाहेक वडा कार्यालयको सुरक्षाका लागि छोराले करिब एक लाख रुपैयाँ खर्चिएर मुख्य गेट निर्माण गरिदिएको छ।’ 

दक्षिणको समथर भूभागदेखि उत्तर चुरे क्षेत्रसम्म फैलिएको धनगढीमाई नगरपालिका सिराहा जिल्लाको १७ स्थानीय तहमध्ये भूगोलको दृष्टिकोणले दोस्रो ठूलो स्थानीय तह हो। 

वडाअन्तर्गत दुर्गम क्षेत्रमा पर्ने सिमले, भोटेटार, असारी, कालिकास्थान, दूरविनडाँडा, जाँतेचौरी, कुमराहा, जोगीडाँडा, भुल्के, तिदोङ टोल, पाँचेटोल, काफ्लेडाँडा, डाबरलगायत करिब डेढ दर्जन गाउँका नागरिकलाई नगरमार्फत वडालाई हस्तान्तरण गरिएका एम्बुलेन्स सेवा सञ्चालनले प्रत्यक्ष फाइदा पुग्ने स्थानीय समाजसेवी महेश्वर श्रेष्ठले बताए।