माइक्रोसफ्टका अध्यक्ष एवं उपसभापति ब्राड स्मिथले गतसाता भ्याटिकनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक कार्यक्रममा सम्भवतः यो वर्ष एआईले मानिसको दैनिकी परिवर्तन गर्न सक्छ भन्ने बताए । प्रविधि उद्योगका अगुवा र तीन अब्राहमिक धर्मका सदस्यले भाग लिएको यो कार्यक्रममा स्मिथको टिप्पणीमा आकलन कम, पहलकदमीको आवश्यकता बढी झल्किन्थ्यो । उनको टिप्पणीमा एआईको विकासमा नैतिक, मानव–केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउने लक्ष्य झल्किन्थ्यो ।
एआईले निःसन्देह परिचालन, नैतिक र कानुनी सरोकारको एक विशाल चुनौती पेस गर्छ र तिनको समाधान खोज्न सजिलो हुनेछैन । उसो त एआई सन् १९५० को दशकदेखि विकसित भएको हो र यसको विशिष्टता एवं सम्भावित प्रभाव अझै अज्ञात छन् ।
निःसन्देह हालैका घटनाक्रमले एआईको प्रचुर सम्भावनाका केही पक्षलाई उजागर गरेको छ, अर्थात् औषधि खोजी प्रक्रियालाई गति दिन सक्ने एप्लिकेसनदेखि ओपन एआईको च्याटजिपिटीले सिर्जना गर्ने मान्छेको जस्तै लेखनी । यद्यपि एआईले मानव अस्तित्व र सभ्यतालाई परिवर्तन गर्न सक्ने हरेक आयामबारे अनुमान गर्न अझै गाह्रो छ ।
यो अनिश्चितता नौलो भने होइन । प्रविधि क्रान्तिले हामीलाई प्रायः आश्चर्यचकित बनाउँछ, जबकि हामीले यसको विघटनकारी क्षमताबारे थाहा पाइसकेका हुन्छौँ । उदाहरण, सामाजिक सञ्जाललाई कुनै समय लोकतन्त्र प्रवद्र्धन गर्ने एक विशाल सफलताका रूपमा स्वागत गरिएको थियो, तर वास्तवमा यसले मिथ्या सूचना फैलाउन सजिलो बनाएर लोकतन्त्रलाई कमजोर बनाउन ठूलो भूमिका खेलेको छ । यस अर्थमा एआईको पनि दुरुपयोग हुनेछ भन्नु अतिशयोक्ति हुँदैन ।
अहिले पनि हामीले एआईले कसरी काम गर्छ भन्ने पूर्ण रूपमा बुझेका छैनौँ । तथाकथित ‘ब्ल्याक बक्स’ समस्या अर्थात् एआई–आधारित उपकरणका मामिलामा हामीलाई निवेश र उत्पादनबारे थाहा हुन्छ, तर बीचमा के हुन्छ भन्ने थाहा हुँदैन । यदि एआईले (कहिलेकाहीँ अपरिवर्तनीय) निर्णय गरिरहेको छ भने प्रक्रियामा हुने अस्पष्टताले गम्भीर जोखिम खडा गर्छ, जसमा मेसिन लर्निङमा निहित पूर्वाग्रहले समस्यालाई थप बढाएको छ ।
जलवायु परिवर्तन नियन्त्रणका लागि जसरी वैश्विक सहकार्य भइरहेको छ, त्यसरी नै एआई नियमनका लागि पनि सहकार्य गरिनु जरुरी छ
व्यक्तिगत सूचनाको दुरुपयोग र रोजगारीको उन्मूलन एआईसँग जोडिने दुई मुख्य जोखिम मानिन्छन् । यसबाहेक अमेरिकी पूर्वविदेशमन्त्री हेनरी ए. किसिंगर एआई प्रविधिले मानवीय रचनात्मकता र दृष्टिकोणमा क्षति पुग्न सक्ने बताएका छन् । र, एक तप्काले एआईले मानव जाति नै लोप गरिदिन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् । यो स्तरको चिन्ता भइरहेका वेला एआई प्रविधिको भविष्य प्रविधि कम्पनीका सिइओ र एआई अनुसन्धाताका हातमा छोड्न मिल्दैन । उसो त कडिकडाउ नियमन समाधान होइन, तर वर्तमान नियमनको अभावलाई पूर्ति गरिनैपर्छ । जलवायु परिवर्तन नियन्त्रणका लागि जसरी वैश्विक सहकार्य भइरहेको छ, त्यसरी नै एआई नियमनका लागि पनि सहकार्य गरिनुपर्छ ।
अमेरिका र चीनबीचको प्रतिद्वन्द्वीतामा अहिले एआईले ठूलो भूमिका खेलिरहेको छ । यदि यी दुई मुलुक एक–अर्काको एआई उद्योगमा रोक लगाउने प्रयास गर्छन् भने दुवैलाई अन्य मुलुकले उछिन्ने जोखिम रहन्छ । यसकारण कार्बन न्यूनीकरणमा झैँ साझेदारी आवश्यक छ ।
सरकार र अन्य सार्वजनिक क्षेत्र मिलेर निजी क्षेत्रबाट हुने नवप्रवर्तनमाथि प्रोत्साहन एवं नियमन दुवै गरिनुपर्छ । यो भन्न जति सजिलो छ, त्यति नै गाह्रो छ कार्यान्वयन गर्न । एआईप्रति मतैक्य नभएकाले यससम्बन्धी बन्ने नियममा पनि एकरूपता देख्न सकिन्न । यसबाहेक प्रभावशाली पक्षबीचको स्वार्थको द्वन्द्व र कार्यान्वयन क्षमताको कमीले अन्तर्राष्ट्रिय मञ्चमा विश्वव्यापी रणनीति विकास गर्ने प्रयास विफल भएको छ ।
यद्यपि केही सकारात्मक समाचार पनि छन् । युरोपियन युनियनले एआई नियमको मानकीकरण गर्न एक बृहत् सिद्धान्तमा आधारित संयन्त्र सिर्जना गर्ने प्रयास गरिरहेको छ । यो वर्ष पूरा हुने अपेक्षा गरिएको एआई ऐनले युरोपियन युनियन क्षेत्रमा एआईको ‘विकास र समृद्धि’लाई गति दिने लक्ष्य राखिएको छ, जहाँ एआई प्रविधि ‘समाजको एक बलियो शक्ति हुनेछ र मानवीय हितका लागि काम गर्नेछ ।’
युरोपियन युनियन एआईसम्बन्धी नियमनका मामिलामा अग्रपंक्तिमा आउनु अस्वाभाविक होइन । अन्य महत्वपूर्ण क्षेत्रमा नियामक खाका निर्माणमा युरोपको नेतृत्वदायी भूमिका रहँदै आएको छ । तथ्यांक संरक्षणमा युरोपियन युनियनको कानुनले क्यालिफोर्नियाको उपभोक्ता गोपनीयता ऐनदेखि लिएर चीनको व्यक्तिगत सूचना संरक्षण कानुनसम्मका कानुन निर्माणलाई प्रेरित गरेको छ ।
तर विश्वव्यापी एआई नियमनमा मतैक्य अमेरिकाको संलग्नताबिना असम्भव हुनेछ । ‘विश्वसनीय एआई’को विकास र कार्यान्वयन गर्न युरोपियन युनियनसँगको साझा प्रतिबद्धताका बाबजुद अमेरिका एआई सर्वोच्चतामा प्रतिबद्ध देखिन्छ । अमेरिका आफ्ना एआई प्रविधि उद्योगको विकास मात्र नभई चीनको एआई विकासमा पनि अवरोध पु¥याउन चाहन्छ । अर्कातर्फ चीनले पनि प्राविधिक स्वायत्तता र अन्ततः सर्वोच्चता हासिल गर्ने आफ्नो लक्ष्यबाट हार मानेको छैन ।
यो प्राविधिक प्रतिद्वन्द्विताले एआई जोखिमलाई सतहमा मात्रै ल्याउँदैन, बरु यसले भूराजनीतिक जटिलता पनि थप्छ । उदाहरण, विश्वव्यापी रूपमा सेमिकन्डक्टर क्षेत्रमा ताइवानले ठूलो योगदान गर्दै गर्दा ऊ नयाँ आक्रमणको तारो बन्ने जोखिममा पनि रहँदै आएको छ । तीन दशकभन्दा बढी भइसक्दा पनि जलवायु परिवर्तनलाई रोक्न हामीले पर्याप्त काम गर्न सकेका छैनौँ । प्राविधिक प्रगतिको गतिलाई ध्यानमा राख्दै हामीसँग एआईका लागि गर्नुपर्ने सहकार्यमा जलवायु परिवर्तनमा भएको सहकार्यमा जति समय खर्च गर्ने छुट छैन । मानवकेन्द्रित सिद्धान्तअनुसार प्रविधिको विकास भए–नभएको सुनिश्चित गर्न तत्काल कदम चालेनौँ भने हामी पक्कै पछुताउनेछौँ । अन्त्यमा, एआईमा पनि जलवायु परिवर्तनमा झैँ हामीले चाँडै पहलकदमी नलिएको भन्दै पछुताउनेछौँ ।
(प्यालेसिओ स्पेनका पूर्वविदेशमन्त्री र जर्जटाउन विश्वविद्यालयका भिजिटिङ लेक्चरर हुन्) प्रोजेक्ट सिन्डिकेटबाट