एमाले सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष केपी ओलीले भने–कांग्रेस सरकार ढाल्ने धन्दामा
'देउवाजीले ‘वि विल कमब्याक’ भन्नुभएको छ । त्यसको संकेत उहाँहरूले २६ पुसमा सरकार ढाल्छौँ र आउँछौँ भन्नुभएको हो । विभिन्न दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा गरिरहनुभएको छ । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा अरू विकल्पमा जाँदैन । ७६ (३) अनुसारको प्रक्रियामा त ठूलो दलको नेता प्रधानमन्त्री हुन्छ । अहिलेको राजनीतिमा संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । अब उहाँहरूको पाँच वर्षको धन्दा सरकारको विरोध र ढाल्नमा रहनेछ ।'
पर्खाल नाघेर छिमेकी पसे
'हाम्रा मित्रहरू ढोकाबाट होइन पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार पार्नुपर्छ भनेर लागिरहेका छन् । यस्तोखाले क्रियाकलाप हामी हाम्रा छिमेकी, हाम्रा मित्रबाट अपेक्षा गर्दैनौँ । हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौँ । तपाईंहरू सहयोग गर्न सक्नुहुन्छ गर्नुस्, सक्नुहुन्न आन्तरिक मामलामा हात हाल्ने, हुँडाल्ने काम नगर्नुस् । पत्रपत्रिका हेरिसक्नु छैन, कूटनीतिक गतिविधि भनिसक्नु छैन, यस प्रकारका तरिका बन्द गरौँ, मित्रको हिसाबले चलाैँ, सार्वभौम समानताको सिद्धान्तअनुसार चलौँ । हामी कसैमाथि अर्घेल्याइँ गर्न गइरहेका छैनौँ । हामीमाथि अर्घेल्याइँ नहोस् मात्रै भनिरहेका छाैँ । जो सरकार बन्छ मिलेर काम गर्न छिमेकीहरूलाई आग्रह गछौँ । र, यहाँ जो सरकार बन्छ त्यसले हाम्रा छिमेकी, मित्रराष्ट्रसँग सन्तुलित, सुमधुर र उचित सम्बन्ध राखेर पारस्पारिक सम्मानका आधारमा सम्बन्ध राखेर अगाडि बढ्छ । यहाँ आत्तिनुपर्ने इगोको विषय बनाउनुपर्ने कुनै विषय छैन ।'
... ...
कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनयता बढाएको सक्रियाप्रति एमाले अध्यक्ष केपी ओली सशंकित बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने भूमिका खेलेर पाँचदलीय गठबन्धन भत्काउन सफल ओली सरकारले विश्वासको मत लिनुपूर्व कांग्रेस र भारतप्रति आक्रामक देखिएका छन् । सरकारलाई विश्वासको मत पुग्न नदिने खेलमा कांग्रेस र भारत लागेको ओलीको प्रस्टै संकेत छ ।
कांग्रेस सभापति देउवाले अचानक बढाएको सक्रियता, कांग्रेसकै प्रवक्ताको अभिव्यक्ति र सरकारलाई विश्वासको मत दिने–नदिने विषयमा त्यसैदिन निर्णय लिने कांग्रेस संसदीय दलको बैठकको निर्णयपछि ओली तर्सिएका हुन् । कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री दिन आनकानी गरेपछि एमालेसहितका दलहरूसँगको समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री भएका थिए । प्रचण्ड नेतृत्वको सरकारले २६ पुसमा संसद्मा विश्वासको मत लिने कार्यसूची तय भइसकेको छ ।
शनिबार राजधानीमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस विश्वासको मत लिनबाट असफल बनाउन लागिरहेको आरोप लगाए । एमाले सांसदहरूको अभिमुखीकरण कार्यक्रममा ओलीले सत्तारूढ दलका नेतालाई प्रधानमन्त्रीको लोभ र विभिन्न प्रलोभन देखाएर कांग्रेसले सरकारलाई विश्वासको मतमा असफल बनाउने प्रयास गरिरहेको ओलीको दाबी छ । तर, प्रयास सफल नहुने ओलीको भनाइ थियो ।
‘देउवाजीले ‘वि विल कमब्याक’ भन्नुभएको छ । त्यसको संकेत उहाँहरूले २६ पुसमा सरकार ढाल्छौँ र आउँछौँ भन्नुभएको हो । विभिन्न दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा गरिरहनुभएको छ,’ ओलीले भने, ‘संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा अरू विकल्पमा जाँदैन । ७६ (३) अनुसारको प्रक्रियामा त ठूलो दलको नेता प्रधानमन्त्री हुन्छ । अहिलेको राजनीतिमा संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । अब उहाँहरूको पाँच वर्षको धन्दा सरकारको विरोध र ढाल्नमा रहनेछ ।’
२० पुसमा पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले देउवाको भनाइ उद्धृत गर्दै भनेको विषयमाथि ओलीले टिप्पणी गरेका थिए । ‘हामी विश्वासमा गठबन्धन अगाडि जान्छ भनेर त्यसमै केन्द्रित भयौँ । सधैँ हामीले आकलन गरेजस्तो हुँदैन । त्यस्तैखाले परिस्थिति आयो, तर यसबाट हामी विचलित हुने कुरा छैन । ‘वि विल कमब्याक’ । हामी फेरि ‘स्ट्रोङ’ भएर अगाडि बढ्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै महतले भनेका थिए ।
ओलीको टिप्पणीपछि कांग्रेस प्रवक्ता महतले कांग्रेस चाँडै सत्तामा फर्कने दोहोर्याएका छन् । ‘वि विल कमब्याक भन्नुको अर्थ आज नै आँउछौँ भन्ने होइन । ढिलोचाँडो हामी सत्तामा त आउँछौँ नै । समयसीमा नै त अहिले भन्न सक्ने विषय होइन, त्यो हाम्रो सक्रियतामा पनि भर पर्छ,’ महतले शनिबार नयाँ पत्रिकासँग भने, ‘सरकारले विश्वासकोे मत पाउने–नपाउने त राष्ट्रपतिलाई बहुमतको हस्ताक्षर बुझाएका पार्टीमा भर पर्छ । त्यसमा हाम्रो कुनै भूमिका रहनेछैन, हामीले कुनै खेल खेलेका छैनौँ ।’
ओलीले नाम नलिई भारत पनि सरकार फेरबदलको कोर्समा लागेको दाबी गरेका छन् । ‘हाम्रा मित्रहरू ढोकाबाट होइन पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार पार्नुपर्छ भनेर लागिरहेका छन् । यस्तोखाले क्रियाकलाप हामी हाम्रा छिमेकी, हाम्रा मित्रबाट अपेक्षा गर्दैनौँ । हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौँ । तपाईंहरू सहयोग गर्न सक्नुहुन्छ गर्नुस्, सक्नुहुन्न आन्तरिक मामलामा हात हाल्ने, हुँडाल्ने काम नगर्नुस्,’ ओलीले आफ्नो पार्टीका सांसदहरू सहभागी कार्यक्रममा भने, ‘पत्रपत्रिका हेरिसक्नु छैन, कूटनीतिक गतिविधि भनिसक्नु छैन, यस प्रकारका तरिका बन्द गरौँ, मित्रको हिसाबले चलाैँ, सार्वभौम समानताको सिद्धान्तअनुसार चलौँ । हामी कसैमाथि अर्घेल्याइँ गर्न गइरहेका छैनौँ । हामीमाथि अर्घेल्याइँ नहोस् मात्रै भनिरहेका छाैँ । जो सरकार बन्छ मिलेर काम गर्न छिमेकीहरूलाई आग्रह गछौँ । र, यहाँ जो सरकार बन्छ त्यसले हाम्रा छिमेकी, मित्रराष्ट्रसँग सन्तुलित, सुमधुर र उचित सम्बन्ध राखेर पारस्पारिक सम्मानका आधारमा सम्बन्ध राखेर अगाडि बढ्छ । यहाँ आत्तिनुपर्ने इगोको विषय बनाउनुपर्ने कुनै विषय छैन ।’
कार्यक्रममा ओलीले पाँचदलीय गठबन्धन भत्काउन सकेकोमा एमालेलाई गर्व रहेको र अहिलेको सरकार नेपालीले नै बनाएको सुनाए । ‘एमालेलाई गर्व छ । विकट परिस्थितिमा डरलाग्दो प्रयास संगठित ढंगले बढाइराखेका वेला हामीले असाधारण ढंगले त्यस कोर्सलाई परिवर्तन गरेका छौँ । नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि कहीँ हुन्छ ? त्यस कोर्सलाई हामीले परिवर्तन गर्यौँ । अहिले हामीले नेपालीले सरकार बनाएका छौँ । अरूले होइन यो नेपालीले बनाएको सरकार हो,’ ओलीले भने, ‘यो सफलता हामीले प्राप्त गरेका छौँ । नेपालीलाई बनाउन नदिने चाँजोपाँजो थियो । हामीले बनाएका छौँ, यो ज्यादै ठूलो र महत्वपूर्ण उपलब्धि हो । यो राष्ट्रियस्तरमा हामीले गरेको प्रतिरोध हो ।’
सरकारले २६ पुसमा विश्वासको मत लिने तयारी गरिरहेका वेला कांग्रेस सभापति देउवाले धुम्बाराहीस्थित निवासमा सत्तारूढ दलका नेतासँग भेटघाट र पार्टी नेताहरूसँग परामर्श गर्दै आएका छन् । सभापति देउवाले बुधबार माओवादी उपमहासचिव जनार्दन शर्मा, बिहीबार जसपा अध्यक्ष उपेन्द्र यादव र शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आफ्नै निवासमा भेट गरेका थिए । यसबाहेक देउवाले शुक्रबार नै पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग समेत पछिल्लो राजनीतिक घटनाक्रममाथि छलफल गरेका थिए ।
शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठक
कांग्रेस महामन्त्री गगन थापाले भने कांग्रेसको प्रस्ताव भनेर बाहिर आइरहेका विषयमा कुनै सत्यता नरहेको दाबी गरे । ‘उहाँहरू नै पालैपालो हाम्रो सभापतिलाई भेटेर आउनुभयो । भित्र सन्चो–बिसन्चो सोधेर आयो, बाहिर आएर तपाईंले मलाई दिनुभएन भने मैले त उता पो पाउँछु कि भनेर गठबन्धनभित्र बार्गेनिङ भइरहेको देखिन्छ,’ थापाले भने, ‘अनावश्यक अफवाहमाथि शंका गर्न आवश्यक छैन ।’
देउवानिकट नेता महतले अहिलेको गठबन्धनको आयु लामो नरहेको प्रतिक्रिया दिइसकेका छन् । ‘पदको भागबन्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो । देखाउने कुरा कन्टेन्टभन्दा बढी छ । प्रचारमा गठबन्धनको आयु छोटिने प्रशस्त सम्भावना छ । सरकारमा रहेर प्रतिपक्षको रूप देखाउने विरोधाभासपूर्ण अवस्थाको बोझका कारण नै यो सरकार लामो समय जाँदैन हेर्दै जानुहोला,’ २० पुसमै महतले पत्रकार सम्मेलनमा भनेका थिए ।
सरकारलाई विश्वासको मत दिने विषयमा कांग्रेस अझै अनिर्णीत छ, जसलाई सत्तारूढ दल एमालेले शंकाको दृष्टिले हेरेको छ र कांग्रेसको नियतमा प्रश्न उठाएको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले विश्वासको मत लिने दिनमै यसबारे अन्तिम निर्णय लिने निर्णय गरेको छ । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार शनिबार बैठकमा विश्वासको मतबारे कुनै छलफल भएन र निर्णयका लागि २६ पुसको बिहान ९ बजे संसदीय दलको बैठक बस्नेछ । ‘विश्वासको मतबारे निर्णयका लागि संसदीय दलको बैठक पुस २६ गते बिहान ९ बजे बस्नेछ,’ लेखकले भने ।
महामन्त्री गगन थापाले कांग्रेस प्रतिपक्षमै बस्ने दाबी गरे । ‘कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट नै छ । यसमा कुनै शंका गर्नुपर्ने छैन । तर, औपचारिक रूपमा सोही दिन निर्णय लिने हाम्रो पुरानो प्रचलन पनि हो,’ उनले भने । सांसद अर्जुननरसिंह केसीका अनुसार बैठकमा विश्वासको मतबारे विषय प्रवेश नै भएको थिएन ।
शनिबारको बैठकमा सभापति देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए । साथै, देउवाले संसद्मा कांग्रेसको भूमिका सशक्त र प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका थिए । ‘संसद्मा प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसको भूमिका सशक्त र प्रभावकारी बनाउन भूमिका खेल्नुहोला,’ सांसदहरूलाई निर्देशन दिँदै देउवाले भनेका थिए ।
मुख्य सचेतक रमेश लेखकले संसदीय प्रक्रिया, मर्यादा र प्रमुख प्रतिपक्षको हैसियतमा संसद्मा उपस्थितिलगायत विषयमा संसद्लाई जानकारी गराएका थिए । मुख्य सचेतक लेखकले विशेषगरी नयाँ सांसदलाई संसदीय मर्यादाबारे जानकारीसहित औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरेका थिए ।