१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २२ शुक्रबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ विमानस्थलमा रात्रि उडान

देशभर ५३ वटा विमानस्थल भए पनि ३३ मात्रै सञ्चालनमा, तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल, ४० विमानस्थलको धावनमार्ग कालोपत्रे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार o६:१३:oo

देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थल रात्रिकालीन उडान गर्न मिल्ने भएका छन् । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आए पनि अझै राति उडान सुरु भएको छैन । 

आइएफआर उडान सुरु भएपछि पोखरामा पनि राति उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । नियमनकारी निकायले अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा र राति उडान सुविधा भएका आन्तरिक विमानस्थल १८ घन्टासम्म खुला रहने व्यवस्था गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए), विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगन्ज र सिमरा विमानस्थलमा अहिले धमाधम रात्रिकालीन उडान भइरहेका छन् । यी विमानस्थलमा आइएफआर प्रविधि जडान गरिएको हुँदा रात्रि उडान सम्भव भएको हो । आइएफआर प्रविधिमा कम्तीमा १६ सय मिटर र भिएफआर प्रविधिमा कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी चाहिने हवाई पूर्वाधारविज्ञको भनाइ छ । 

राति उडान गर्न मिल्ने सुविधा भएका नौमध्ये सातवटा विमानस्थल तराई क्षेत्रमा सञ्चालनमा रहेका छन् । यी विमानस्थलमा राति १० बजेसम्म आन्तरिक उडान भइरहेका छन् । यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा खुला गरिएको छ । जसले काठमाडौंमा भइरहेको बढ्दो हवाई चाप कम गर्न सहयोग पुगेको नियामक निकायको तर्क छ । 

अहिले देशभरि ५३ विमानस्थल छन् भने अर्घाखाँची र कालिकोटमा नयाँ विमानस्थल निर्माण भइरहेको छ । कुल विमानस्थलमध्ये अहिले ३३ वटामा मात्र नियमित उडान भइरहेको छ । २० वटा विमानस्थलबाट उडान सञ्चालन नभएको क्यानले जनाएको छ । बाग्लुङ, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, पालुङटार, गुल्मी, जिरी, कमल बजार, कागेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनोचौर (डोल्पा), मेघौली, रोल्पा, रुम्जाटार, स्याङ्बोचे र टीकापुर विमानस्थलमा उडान हुँदैन । गुल्मीको रेसुंगा विमानस्थलमा यही २४ पुसमा तारा एयर ‘डेमो फ्लाइट’ गर्ने तयारीमा छ ।

पोखरामा १७ पुसमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ, जहाँ अहिले आन्तरिक उडान भइरहेका छन् । पुरानो विमानस्थलमा हेलिकोप्टर र अल्ट्रालाइट मात्र सञ्चालनमा छ । यस्तै, २ जेठमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । 

विराटनगरलाई हब बनाएर पूर्वका पहाडी तथा हिमाली क्षेत्र र नेपालगन्जलाई हब बनाएर कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा उडान भइरहेको छ । पोखराबाट अहिले नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरलगायत जिल्लामा प्रादेशिक उडान भइरहेको छ । 

देशमा निर्माण भएका कुल ५३ विमानस्थलमध्ये ४० वटा विमानस्थलको धावनमार्ग कालोपत्रे भइसकेको छ । बाँकी १३ विमानस्थलको धावनमार्ग कच्ची छ । सञ्चालनमा रहेका विमानस्थलमा नौवटा अन्तरिक वायुसेवाले नियमित उडान सेवा दिँदै आइरहेका छन् । यस्तै, तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमा १६ देशबाट २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान गर्दै आइरहेका छन् । 
 

ad
ad
ad
ad