१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Wednesday, 26 June, 2024
देश/विदेश
२o७९ पौष २० बुधबार o९:११:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–अमेरिका सम्बन्ध सुधारमा वासिंगटनको पहलकदमी

वासिंगटनले एउटाको क्षतिमा अर्काको नाफा हुने ‘जिरो सम गेम’को मानसिकता त्यागेर परस्पर हित निम्त्याउने ‘विन–विन’को रणनीतितर्फ ध्यान दिनुपर्छ

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार o९:११:oo

आजको विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्येको चीन–अमेरिका सम्बन्ध अघिल्लो वर्षको उतारचढावपछि स्थिर हुन्छ वा हुँदैन भन्ने प्रश्न सन् २०२३ को आगमनसँगै विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । चिनियाँ विदेशमन्त्री एवं पूर्वअमेरिकी राजदूत छिन ग्याङले नयाँ वर्षको सुरुवातमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन वार्ता गरेर चीन–अमेरिका सम्बन्धलाई अझ सुमधुर बनाउन ब्लिन्केनसँग बलियो सम्बन्ध कायम राख्ने इच्छामा जोड दिनुभएको छ ।

गत वर्ष नोभेम्बरमा इन्डोनेसियाको बालीमा दुई राष्ट्रप्रमुखको भेट भएयता धेरै क्षेत्र र विभिन्न तहमा दुई पक्षबीचको वार्ता र संलग्नता बढेको छ, जसले धेरै विश्लेषकमाझ सन् २०२३ मा चीन–अमेरिका सम्बन्धमा न्यानोपन आउँछ कि भन्ने सतर्कपूर्ण आशा उब्जाएको छ ।

गत वर्ष चीन र अमेरिकाबीचको सम्बन्ध जोखिममा थियो । ताइवान मुद्दाका सन्दर्भमा चीनको स्थितिबारे वासिंगटनको बेतुके ‘चरम परीक्षण’ र विशेषतः सभामुख न्यान्सी पेलोसीको टापुको मामिलामा उत्तेजना निम्त्याउने नियतले गरिएको भ्रमणले अमेरिका–चीन सम्बन्धको राजनीतिक आधारलाई गम्भीर रूपमा क्षति पुर्‍याएको थियो र पहिले नै अनिश्चित रहेको द्विपक्षीय सम्बन्धलाई थप कमजोर बनाएको थियो ।

वासिंगटनले चीनलाई आफ्नो ‘प्राथमिक रणनीतिक प्रतिद्वन्द्वी’का रूपमा हेर्छ र चीनविरुद्ध लगातार आर्थिक र व्यापार प्रतिबन्ध कडा गर्दै र उच्च प्रविधि औद्योगिक क्षेत्रमा ‘डिकपलिङ’ अर्थात् ‘अलगाव’को रणनीति पछ्याउँदै आएको छ । यी कदमले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका अतिरिक्त विश्व शान्ति र स्थिरतालाई पनि खतरामा पारेको छ ।

के सन् २०२३ मा चीन–अमेरिका सम्बन्धमा केही सुधार आउनेछ, अथवा अवश्यम्भावी ढंगले बिग्रने वा टकराव नै निम्तिने परिस्थिति आउनेछ ? चीन–अमेरिका सम्बन्धलाई स्थिर बनाउने ‘टाइम विन्डो’ अर्थात् समयावधिसम्बन्धी बहस र छलफल हालैका दिनमा बढ्दै गइरहेको छ भनेर पत्ता लगाउन कठिन छैन । यो वर्ष चीन–अमेरिका सम्बन्धका मामिलामा ‘वसन्त’ सावित हुन सक्छ भन्ने विश्वास पनि गरिएको छ । यी दाबी एवं विश्वास आफैँमा केही बाह्य विश्वका अपेक्षाका प्रतिबिम्ब हुन् ।

चीन र अमेरिकाबीचको सञ्चार संवादमा सुधार भइरहेको छ । दुई देशको सम्बन्ध बिग्रिनु वा नियन्त्रणबाहिर जाने विषयलाई रोक्नुलाई अहिले व्यापक रूपमा स्वीकार गरिएको छ । अमेरिकाले सन् २०२४ मा चुनाव गर्ने भएको छ र महामारीपछिको आर्थिक सुधारका मुद्दा दुवै पक्षले सामना गरिरहेका छन् । सन् २०२३ मा अमेरिका–चीन सम्बन्धमा सुधार आउन सक्ने संकेत विद्यमान छन् । वास्तवमा अहिलेको समय सहयोग एवं साझेदारीका लागि उपयुक्त छ ।

वासिंगटनले एउटाको क्षतिमा अर्काको नाफा हुने ‘जिरो सम गेम’को मानसिकता त्यागेर परस्पर हित निम्त्याउने ‘विन–विन’को रणनीतितर्फ ध्यान दिनुपर्छ
 

तर, यस्तो ‘अवसरको ढोका’ विद्यमान छ भने यो अझै पनि अत्यन्तै कमजोर छ र यसको मर्मत सम्भार गर्न वासिंगटनले ढिलाइ गर्नुहुन्न । अमेरिकी राजनीतिमा ध्रुवीकरण र विभाजनले चीन–अमेरिका सम्बन्धमा ठूलो बाधा उत्पन्न गराएको छ । बाइडेन प्रशासनले सुधारको कदम चाल्न चाहे पनि क्यापिटोल हिल (अमेरिकी कंग्रेस) मा जुन मात्रामा चीनविरोधी भावना छ, त्यसले राजनीतिक विस्फोटन गराउन सक्छ । अर्को शब्दमा भन्ने हो भने चीन–अमेरिका सम्बन्ध न्यानो हुँदै गएको संकेत भए तापनि ताइवान मुद्दा र औद्योगिक आपूर्ति शृंखलाजस्ता समस्या समाधान हुन सकेको छैन र अमेरिकी आन्तरिक कारणले गर्दा चीन–अमेरिका सम्बन्ध जुनसुकै वेला पनि बिग्रिन सक्ने खतरा पनि उत्तिकै छ ।

यसबारे अमेरिकामा धेरै बहस सतहमा आएको देख्न सकिन्छ । उदाहरण, वाल स्ट्रिट जर्नलमा प्रकाशित एक लेखले पहिले नै ‘अमेरिकामा घरेलु राजनीतिक प्राथमिकताका कारण नीति–निर्माताबाट चीनको धम्कीप्रति आवश्यकताभन्दा बढी उत्तेजित भएर प्रतिक्रिया आउन थालेका छन्... । चीनको धम्कीमा भएको बहुपक्षीय सहमतिले चीनप्रतिको विशेष नीतिको लागत र फाइदाबीचका सम्बन्धमा समझदारीपूर्ण सोचका लागि निकै कम ठाउँ बचेको छ’ भन्दै औँल्याएको थियो । यसबाहेक केही अमेरिकी विज्ञले वासिंगटनलाई आफ्ना कार्यमा विवेक प्रयोग गर्न आग्रह गरेका छन् । उदाहरण, अमेरिकाले ताइवान स्ट्रेट (समुद्रीपट्टी) बाट युद्धपोत आरपार गराउने प्रवृत्तिलाई आधामा झार्न सुझाब दिएका छन् । यी बुद्धिमत्तापूर्ण आवाजलाई वासिंगटनका नीति विशेषज्ञले गम्भीरतापूर्वक लिन आवश्यक छ ।

उसो त चीन–अमेरिका सम्बन्धका धेरै आयाममा धेरै अनिश्चितता छन् । तर, एउटा कुरा भने निश्चित छ, त्यो हो चीनको स्थिरताले चीन–अमेरिकामा अनुकूल प्रभाव पार्नेछ । यस प्रकारको चिनियाँ स्थायित्वले एक जिम्मेवार प्रमुख मुलुकका रूपमा हाम्रो मनोवृत्ति, अमेरिकाप्रतिको हाम्रो कूटनीतिक सिद्धान्त र नीतिको निश्चितता मात्र समावेश गर्दैन, बरु यसले चरणबद्ध रूपमा व्यापक शक्तिको विकासलाई महसुस गर्दै ‘आफ्नो काम राम्रोसँग गर्नुपर्छ’ भन्ने चीनको आग्रह पनि समावेश गर्छ । वास्तवमा यसले समयको मागलाई सम्बोधन गर्छ । हामी सन् २०२३ मा चीन–अमेरिका सम्बन्धमा सुधार आउनेछ भन्ने आशा राख्छौँ तर ‘तीव्र बतास, ज्वारभाटा र घातक आँधी आए पनि’ हामी विचलित हुनेछैनौँ ।

चुनौतीका चाङको सामना गर्दै विश्वलाई सही दिशातर्फ डोर्‍याउन ठूला देश उदाहरणीय बन्नुपर्छ । विगत एक वर्षमा हामी दुई ठूला देश चीन र अमेरिका एकअर्कासँग मिल्ने सही मार्गको निरन्तर खोजीमा छौँ, त्यसक्रममा हामीले अत्यन्त संयम र सद्भावना प्रस्तुत गरेका छौँ । नयाँ वर्षमा दुई देशले एकअर्काको घरेलु तथा विदेश नीति एवं रणनीतिक नियतलाई कसरी सही ढंगले हेर्ने भन्नेमा ध्यान दिनुपर्छ अर्थात् टकरावभन्दा वार्ताका स्वर बढाउनतर्फ लाग्नुपर्छ । वासिंगटनले एउटाको क्षतिमा अर्काको नाफा हुने ‘जिरो सम गेम’को मानसिकता त्यागेर परस्पर हित निम्त्याउने ‘विन विन’को रणनीतितर्फ ध्यान दिनुपर्छ ।  
(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको ३ जनवरीको सम्पादकीयको अनूदित अंश)
 

ad
ad
ad
ad