अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यो वर्ष विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा अमेरिका, युरोप र चीनजस्ता ठूला अर्थतन्त्र मन्दीमा रहने भन्दै यो वर्ष विश्व अर्थतन्त्रका लागि अघिल्लो वर्षभन्दा पनि कठिन हुने आइएमएफ प्रमुख क्रिस्टालिना जियोर्जिभाले चेतावनी दिएकी हुन् ।
युक्रेनमा जारी युद्ध, बढ्दो मूल्य, उच्च ब्याजदर र चीनमा कोभिड–१९ संक्रमणको उच्च प्रसारले विश्व अर्थतन्त्रमा असर परिरहेकै समयमा उनको यो चेतावनी आएको छ । ‘किन ? किनभने विश्वका तीन ठूला अर्थतन्त्र अमेरिका, युरोप र चीन क्रमैसँग मन्दीमा धकेलिँदै गएका छन्,’ सिबिएस न्युजको फेस द नेसन कार्यक्रममा आइएमएफ प्रमुख जियोर्जिभाले भनिन्, ‘हामीले यो वर्ष कम्तीमा विश्व अर्थतन्त्रको एकतिहाइ मन्दीमा रहने आकलन गरेका छौँ । अहिले मन्दीमा नरहेका मुलुकका करोडौँ मानिसले समेत मन्दीकै जस्तो कठिनाइ महसुस गर्नेछन् ।’
क्रिस्टालिना जियोर्जिभा
प्रबन्ध निर्देशक, आइएमएफ
हामीले यो वर्ष कम्तीमा विश्व अर्थतन्त्रको एकतिहाइ मन्दीमा रहने आकलन गरेका छौँ । अहिले मन्दीमा नरहेका मुलुकका करोडौँ मानिसले समेत मन्दीकै जस्तो कठिनाइ महसुस गर्नेछन् ।
युक्रेन युद्ध, मूल्यवृद्धि, उच्च ब्याजदरलगायतलाई मध्यनजर गर्दै आइएमफले सन् २०२३ को विश्व आर्थिक वृद्धि परिदृश्यको प्रक्षेपणलाई अक्टोबरमा संशोधन गर्दै घटाएको थियो । जियोर्जिभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको ४० वर्षको इतिहासमा वृद्धिदर पहिलोपटक विश्वव्यापी आर्थिक वृद्धिको औसत दर वा त्यसभन्दा पनि कम रहने बताएकी छिन् । ‘४० वर्षमा पहिलोपटक सन् २०२२ को चीनको आर्थिक वृद्धि विश्वव्यापी औसत वा त्यसभन्दा तल रहने देखिन्छ,’ उनले भनिन् ।
सिड्नीस्थित मुडिज एनालाइटिक्सकी अर्थशास्त्री क्याट्रिना इआइआई बिबिसीसँग विश्व अर्थतन्त्रबारे आफ्नो विश्लेषण पस्किन्छिन्, ‘यो वर्ष हाम्रो बेस–लाइनले विश्वव्यापी मन्दी नै त देखाउँदैन तर सम्भावना अत्यन्तै उच्च छ । यो वर्ष युरोप मन्दीबाट उम्किनेछैन भने अमेरिका मन्दीको डिलमा रहनेछ ।’
जियोर्जिभा सन् २०२३ को सुरुवात चीनका लागि निकै कठिन हुन सक्ने चेतावनी दिन्छिन् । ‘आगामी केही महिना चीनका लागि कठिन हुन सक्छ । त्यसको असर चीन, यो क्षेत्र र विश्वव्यापी वृद्धिकै लागि सुखद हुनेछैन,’ उनको भनाइ छ । जियोर्जिभाको टिप्पणी सन् २०२२ मा कठिनाइ सहेका एसियाली मुलुकका लागि चेतावनीयुक्त छ । युक्रेन युद्धका कारण यो क्षेत्रमा मूल्यवृद्धि र स्फीतिमा भारी बढोत्तरी भएको छ भने उच्च ब्याजदरले परिवार तथा व्यवसाय मारमा परेका छन् ।