१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १९ मंगलबार o६:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक : सरकारमा सहभागी नहुन नेतृत्वलाई सुझाव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार o६:५६:oo

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यहरूले सरकारमा सहभागी नहुन सुझाव दिएका छन् । सोमबारबाट सुरु पार्टीको पोलिटब्युरो बैठकमा उनीहरूले ठोस प्रस्ताव नआएको अवस्थामा सरकारमा जाने विषयमा छलफल गर्न आवश्यक नभएकोमा जोड दिएका छन् ।

बैठकमा मुख्यतः नयाँ खालको परिस्थितिमा कसरी जाने, सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको महासचिव डा. बेदुराम भुसालले बताए । उनका अनुसार पोलिटब्युरोको सुझावपछि सचिवालय बैठकले आवश्यक निर्णय लिनेछ ।

‘अधिकांश नेताको जोड सरकारमा जानुहुँदैन भन्ने छ । हाम्रो मत मागिएको छैन । हाम्रो मत लेऊ भनेर जाने कुरा हुँदैन । औपचारिक रूपमा हामीलाई प्रस्ताव नै आएको छैन, त्यसकारण यो विषयमा धेरै चर्चा गर्न आवश्यक छैन भन्ने सुझाव धेरै आयो,’ स्थायी कमिटी सदस्य आलोक रायमाझीले भने ।

सोमबारको बैठकमा उमेश डाँगी, डा. कृष्ण पन्त, कृष्णप्रसाद सापकोटा, गंगाप्रसाद नेपाल, गणेश विक, गुरु बुर्लाकोटी, गोपाल बराल, चिरञ्जीवीप्रसाद आचार्य, टलकबहादुर खड्का, दिनेशकुमार राई, दिलकुमारी पन्त, डा. देउमान सम्बाहाम्फे, देवशंकर पौडेल, धर्मनाथ निरौला, निरादेवी जैरु, परमानन्द भट्ट, प्रतापलाल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रेमनारायण पौडेल, प्रेमलकुमार खनाल, बलदेव चौधरी, भवानी खापुङ, भास्कर काफ्ले, महेश रेग्मी, मेटमणि चौधरी, मो. महफुज आलम, राजन राई, राजेन्द्र लोहनी, रामकुमार भट्टराई र रामकुमार ज्ञवालीले धारणा राखेका थिए । बैठक मंगलबार पनि बस्नेछ ।

बैठकमा नेताहरूले वामपन्थी शक्तिबीच एकता गर्नुपर्नेमा जोड दिएका छन् । उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अधिकांंश नेताले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताए । वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको र संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा नेताहरूको जोड रहेको उनले बताए ।

अन्ततः खिचडी सरकार बन्यो : खनाल
सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा खिचडी सरकार बनेको बताए । पार्टीको पोलिटब्युरो बैठकमा लिखित दस्ताबेज प्रस्तुत गर्दै खनालले खिचडी सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरे । ‘मुलुकमा कुनै न कुनै रूपको एउटा गठबन्धनको सरकार बन्नैपर्ने थियो । अहिले एउटा खिचडी सरकारले आकार लिएको छ । यो पुनरुत्थानवादी, रहस्यपूर्ण, संघीयताविरोधी, जबजवादी र समाजवादीहरूको मिश्रित सरकार हो । यसमा नेपाली समाजलाई अघि लाने र पछि तान्ने दुवै प्रकारका शक्तिहरू छन्,’ खनालको प्रतिवेदनमा छ ।

मिहिनेत गरेको भए वामपन्थीहरूको साझा सरकार बन्ने अवस्था भए पनि दम्भ, घमण्ड, महत्वाकांक्षाले खिचडी सरकार बनेको खनालको टिप्पणी छ । ‘आफूलाई ठूला हौँ भन्ने पार्टीहरूभित्र रहेको दम्भ, घमण्ड, महत्वाकांक्षा र तुलनात्मक रूपले साना पार्टीहरूको भूमिकालाई बेवास्ता गर्ने र पुनरुत्थानवादी र दक्षिणपन्थीसँग अँगालो नहाली अगाडि बढ्न नसक्ने गलत दृष्टिकोण र अदूरदर्शिताका कारणले अहिले देशमा खिचडी सरकार बन्न पुगेको छ । हामीले यो सरकारलाई आमरूपमा विश्लेषणात्मक ढंगले हेर्नुपर्छ । सत्तामा सहभागी बन्न आतुर हुनुपर्ने कुनै कारण छैन।’ उनले भने ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई रहस्यमय र बुर्जुवा उदारवादी भएको दाबी गरेका छन् । ‘रहस्यमय शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसैले गृह मन्त्रालय खान थालिसकेको छ । त्यो पनि आमरूपमा बुर्जुवा उदारवादकै पक्षमा देखिन्छ । तराईमा जनमत पार्टी उदाएको छ । त्यो पनि आमरूपमा त्यसै वर्गीकरणमा देखिन्छ,’ उनको प्रतिवेदनमा छ ।

आफ्नै शक्तिमा अगाडि बढ्न चाहन्छौँ : नेपाल
पोलिटब्यूरो बैठकको सुरुवात गर्दै अध्यक्ष माधवकुमार नेपालले विकसित घटनाक्रमबारे ब्रिफिङ गर्दै आफ्नै शक्तिमा अगाडि बढ्न चाहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी कुनै पनि शक्तिको पछि लाग्दैनौँ । हामी स्वतन्त्र ढंगले देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न चाहन्छौँ ।’ नेपालले संसद् विघटन, नेकपा र एमालेभित्रको अन्तर्संघर्षसमेत स्मरण गराएका थिए । पार्टीभित्रबाट समस्याको समाधान हुन नसक्ने भएपछि नयाँ पार्टी गठन गर्नुपरेको नेपालको भनाइ थियो ।

ad
ad
ad
ad