देशका तीन ठूला सरकारी अस्पताल वीर, टिचिङ र निजामतीका युरोलोजी विभागमा शल्यक्रियाका लागि बिरामीले चाहेका वेला मिति पाउनु दुर्लभजस्तै छ । शल्यक्रिया गर्न बिरामी ०८० को असोज–कात्तिकसम्मका मिति लिएर पालो कुरिरहेका छन् ।
वीर अस्पतालमा पालो कुर्दा झन्डै दुवै मिर्गौला गुम्यो कञ्चनपुर बेलौरीकी भूमि नेपालीको
गत वैशाखमा मिर्गौलामा जटिल समस्या देखिएपछि कञ्चनपुर बेलौरी नगरपालिकाकी २४ वर्षीया भूमि नेपालीलाई धनगढीबाट काठमाडौं रेफर गरियो । मिर्गौलामा पत्थरी देखिएको र एउटा मिर्गौला सानो भएकाले शल्यक्रियाका लागि काठमाडौं पठाइएको थियो । वीर अस्पतालमा परीक्षणपछि औषधिको माध्यमबाट निको हुने र थप समस्या देखिएमा फलोअपमा रहने भन्दै फर्काइएको थियो । तर, मंसिरमा हातगोडा सुन्निने र पेटको दुखाइ बढेपछि उनी अस्पताल भर्ना भइन् । परीक्षणका क्रममा मिर्गौलामा संक्रमण फैलिएको देखियो । तत्काल शल्यक्रिया गर्नुपर्ने भयो, तर सरकारी अस्पतालमा पालो पाइनन् । त्यसपछि ललितपुरस्थित सुमेरु अस्पतालमा लगेर अप्रेसन गरिएको छ । ‘वीरमा नियमित फलोअपमा रहे पनि शल्यक्रियाको पालो कुर्दा झन्डै दुईवटै मिर्गौला फेल भएन । पहिले नै एउटा मिर्गौला सानो भएको र पत्थरीका कारण समस्या देखिन सक्ने बताए पनि मिर्गौला नै झिक्नुपर्ने अवस्थाबारे जानकारी नै भएन । वीरमा पालो कुर्दा एउटा मिर्गौला झिक्नुपर्ने अवस्था आयो,’ सुमेरुमा उपचाररत भूमिले भनिन् ।
... ...
पेट दुख्ने समस्या लिएर गत कात्तिकमा वीर अस्पताल पुगेकी गोरखा सिरानचोक गाउँपालिकाकी ५५ वर्षीया नितु दवाडीको मिर्गौलामा पत्थरी देखियो । चिकित्सकले उनको शल्यक्रिया गर्नुपर्ने निश्चित गरिसकेका छन् । तर, शल्यक्रियाका लागि पालो नपाएकी उनले औषधिकै भरमा जीवन धानेकी छिन् । उनी नियमित फलोअपमा छिन् ।
पत्थरीले मिर्गौलाको अधिकांश भाग ढाकेको रिपोर्ट आएपछि पनि अस्पतालले उनलाई ११ महिनापछिको मात्रै पालो दिएको हो । १० भदौ ०८० मा मात्रै उनको शल्यक्रियाको मिति तोकिएको छ । हाल गोरखामै रहेकी उनले भनिन्, ‘शल्यक्रियाका लागि लामो समय पालोमा बस्नुपर्ने भएपछि औषधि लिएर घर फर्किएकी हुँ । छिटो शल्यक्रिया गर्ने भए निजी अस्पतालमा जाँदा हुन्छ भन्छन् वीरका कर्मचारी ।’ तर, निजी अस्पतालमा उपचार गराउने खर्च नभएकाले पालो कुर्न बाध्य भएको उनी बताउँछिन् ।
मिर्गौलामै पत्थरी भएको समस्या लिएर रामेछाप मन्थली नगरपालिका– १३ बाट काठमाडौं आएका २६ वर्षीय राजकुमार सुनार पनि शल्यक्रियाका लागि झन्डै एक वर्षपछि आउने पालो कुरिरहेका छन् । लगातार पेट दुख्न थालेपछि वीर अस्पताल आएका उनको परीक्षण गर्दा मिर्गौलामा पत्थरी पुष्टि भएको थियो । गत असोजको पहिलो साता चिकित्सकले शल्यक्रिया गर्नुपर्ने निश्चित गरे पनि बिरामीको चाप रहेको भन्दै ३२ साउन ०८० को मिति दिइएको छ ।
‘शल्यक्रियाको मिति अगाडि सार्न सकिन्छ कि भनेर अस्पताल गइरहेको छु, तर कहिले चिकित्सक नै भेटिँदैनन्, भेटिइहाले भने पनि तत्काल शल्यक्रिया गर्न सम्भव नभएको बताउँछन् । अहिले पेट दुख्न थाल्यो भने औषधि खान्छु,’ उनले भने, ‘निजी अस्पतालमा कम्तीमा डेढ–दुई लाख खर्च लाग्ने शल्यक्रिया वीरमा १५–१६ हजारमै गर्न सकिन्छ भनेर पालो कुरिरहेको छु ।’
सुनसरीको इटहरी उपमहानगरपालिका– १ आदर्शटोलका ४३ वर्षीय बबिन दाहाल पनि वीरमै मिर्गौलाको पत्थरीकै शल्यक्रिया गर्ने पालोमा छन् । उनको मिर्गौलाबाट पत्थरी निकाल्नुपर्ने निष्कर्ष चिकित्सकले मंसिरमै गरेकामा अब शल्यक्रियाको पालो भने १२ भदौ ०८० का लागि तोकिएको छ । तर, बारम्बार स्वास्थ्य समस्या देखिएर फलोअपमा धाइरहेका बबिन बीचमै झन् जटिल समस्या आउने हो कि भन्नेमा चिन्तित छन् । ‘निजीमा गएर पत्थरी निकाल्ने पैसा छैन, इन्स्योरेन्स पनि भएकाले वीरमा पालो कुरिरहेको छु,’ उनले भने, ‘शल्यक्रियाको पालो आउँदासम्म जटिल समस्या देखिने हो कि भनेर चिकित्सकले दिएको औषधिसँगै फाइदा गर्छ भन्ने सुनेको भरमा गहतको दाल र आयुर्वेदिक औषधि पनि खाइरहेको छु ।’
तर, बबिनको मिर्गाैलामा पत्थरीको समस्या बारम्बार देखिइरहेकाले स्टोन एनालाइसिस नगरी शल्यक्रिया गरेरसमेत पूर्णतया निको हुने सम्भावना नभएको चिकित्सक बताउँछन् । यसअघि पनि ०५८ र गत वर्ष गरी दुईपटकसम्म उनले शल्यक्रियाबाट पत्थरीको उपचार गरिसकेका छन् । ‘केही महिनादेखि स्वास्थ्य समस्या देखिन थालेपछि फलोअपमा अस्पताल गएको थिएँ, फेरि शल्यक्रिया गर्नुपर्ने देखियो,’ बबिनले भने, ‘अब पटक–पटक निजीमा लाखौँ पैसा खर्च गर्न सकिँदैन । त्यही भएर वीरमै पालो कुरिरहेको छु ।’
बिरामीको अत्यधिक भिडभाड हुने वीरमा शल्यक्रियाकै लागि वर्ष दिनसम्म पालो कुर्नुपर्ने यी प्रतिनिधि घटना मात्रै हुन् । देशका अन्य अस्पतालबाट समेत रेफर भएर वीरमा शल्यक्रियाका लागि आउने गर्छन् । युरोलोजी विभाग (मिर्गौला, पिसाबसम्बन्धी समस्या, एड्रेनल ग्रन्थी, पुरुष प्रजनन अंग आदिको उपचार) मा मात्रै ०८० कात्तिकसम्मका लागि शल्यक्रियाको मिति दिइएको छ । युरोलोजी विभागको तथ्यांकअनुसार साताको तीन दिन मात्रै सञ्चालनमा आउने विभागको ओपिडीमा पाँचदेखि ६ सयसम्म बिरामी उपचारका लागि पुग्छन् । तर, सातामा ४५ देखि ६० बिरामीको मात्रै शल्यक्रिया हुने गरेकाले बाँकीले पालो कुर्नुपर्ने हुन्छ । पुसदेखि आगामी कात्तिकसम्म दुई सय १७ जनाले शल्यक्रियाका लागि पालो लिएको अस्पतालको तथ्यांक छ ।
ओपिडीको भिड नै थेगिनसक्नु भएकाले शल्यक्रियाका लागि पालोमा राख्नुको विकल्प नभएको चिकित्सक बताउँछन् । ‘निजी अस्पतालमा शल्यक्रिया गर्दा वीरको भन्दा १०–१५ गुणा बढी खर्च हुन्छ । त्यसैले यहाँको स्रोत–साधन र जनशक्तिभन्दा झन्डै १० गुणा बढी बिरामी शल्यक्रियाका लागि आउँछन् । ओपिडीमै भिड हुने र इमर्जेन्सी केसलाई प्राथमिकतामा राख्दा पालो स्वतः लम्बिन्छ,’ युरोलोजी विभाग प्रमुख डा. रविन बस्नेतले भने, ‘ज्यान नै जोखिममा रहेको अवस्थाका, क्यान्सरका बिरामी, किड्नीमा संक्रमण वा किड्नी फेल हुने अवस्थाका जटिल केसको लगत्तै वा एक–दुई हप्तामा शल्यक्रिया गरिन्छ ।’
वीरमा मात्रै होइन, त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा पनि शल्यक्रियाका लागि पालो कुर्नेको लाइन छ । टिचिङको युरोलोजी विभागमा मात्रै शल्यक्रिया गर्नुपर्ने बिरामी दैनिक ४० जनासम्म पुग्ने गरेको तथ्यांक छ । तर, अस्पतालले दैनिक १० देखि १२ वटा मात्रै शल्यक्रिया गर्दै आएको छ । अन्य बिरामी आठ महिनादेखि एक वर्षसम्मको मिति लिएर पालो कुरिरहेका छन् ।
अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीका अनुसार हाल दुई अप्रेसन थिएटरमा दैनिक २० वटा शल्यक्रिया गर्ने क्षमता छ, जसमध्ये तुरुन्तै गर्नुपर्ने शल्यक्रियाका लागि आठदेखि १० केस इमर्जेन्सीका लागि छुट्याइएको छ । टिचिङका युरोलोजी विभाग प्रमुख डा. पवनराज चालिसे इमर्जेन्सीबाहेकका शल्यक्रियाका लागि लगत्तै पालो पाउने सुविधा नेपालमा मात्रै नभई विश्वभर नै नभएको बताउँछन् । उनका अनुसार सरकारी अस्पतालमा इमर्जेन्सीबाहेकका केसमा शल्यक्रियाका लागि स्वास्थ्य सेवाअनुसार पालो कुर्नु स्वाभाविक हो । ‘शल्यक्रिया केही समय सार्दा स्वास्थ्यमा जटिल समस्या नहुने बिरामीलाई केही पछाडि पालोमा राख्नु स्वाभाविक हो । सबै शल्यक्रिया समयमै गर्नका लागि स्वास्थ्य प्रणाली नै प्राइभेट सिस्टममा जानुपर्छ,’ चालिसेले भने ।
रोग र स्वास्थ्य अवस्थाअनुसार तुरुन्तै गर्नुपर्ने, २४ घन्टाभित्र गर्नुपर्ने, केही दिन कुर्न सकिने वा ६ महिनादेखि एक वर्षसम्म कुर्न सकिने खालका हुने भएकाले इमर्जेन्सीबाहेकका केसलाई फलोअपमा छाड्न सकिने उनले बताए । ‘बिरामीको स्वास्थ्य जाँचपछि चिकित्सकको सल्लाहमा शल्यक्रियाको मिति तोकिएको हुन्छ । बिरामीको भिड थेग्न नसकिने सरकारी अस्पतालमा शल्यक्रियाको पालो कुर्नेको संख्या बढी हुनु सामान्य हो,’ उनले भने ।
यस्तै, बानेश्वरको निजामती कर्मचारी अस्पतालमा पनि मिर्गौला र पिसाबसम्बन्धी समस्याको शल्यक्रियाका लागि आगामी २३ असोज ०८० सम्मका लागि पालो दिइएको छ । सातामा जटिल खालका पाँच र सामान्य पाँचवटासम्म शल्यक्रिया गर्दै आएको अस्पतालमा १५ पुसदेखि आगामी नौ महिनासम्मका लागि एक सय ९६ जना जटिल शल्यक्रियाका लागि पालोमा छन् । सामान्य शल्यक्रिया भने पालो मिलाएर गरिने युरोलोजी विभाग प्रमुख डा. बिपेन्द्र डिके राईले बताए । ‘युरोलोजीको सर्जरीका लागि अहिले सातामा दुई दिन मात्रै पालो आउँछ । अप्रेसन थिएटरमा अन्य शल्यक्रिया पनि गरिने भएकाले जुनसुकै समयमा शल्यक्रिया गर्न मिल्दैन । तर, डेट लिएर शल्यक्रियाका लागि नआएका बिरामीको ठाउँमा पालो कुरेका बिरामीको शल्यक्रिया गरिरहेका छौँ । सीमित जनशक्ति र उपकरणले नभ्याउने बिरामीको चापका कारण लामो लाइन देखिएको हो,’ उनले भने ।
तर, अत्यधिक दुखाइ नहुँदासम्म स्वास्थ्य परीक्षणका लागि अस्पताल नजाने प्रवृत्तिका कारण धेरै समस्या देखिने गरेको बताउँछन् डा. राई । ‘समय–समयमा फलोअपमा रहन सुझाव दिएका बिरामीसमेत समयमा अस्पताल आउँदैनन्, जसले गर्दा स्वास्थ्य जटिलता बढ्ने जोखिम रहन्छ,’ उनले भने ।
सरकारीमा पालो कुर्दाकुर्दै स्वास्थ्य जटिल बन्न थालेपछि महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन् बिरामी
परीक्षणपछि केही समय औषधि प्रयोग गरेर शल्यक्रियाको मिति सार्न सकिने केसलाई पालोमा राख्ने बताइए पनि बीचमै स्वास्थ्य जटिलता देखिएपछि अधिकांश बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल धाउन बाध्य छन् ।
गत वैशाखमा मिर्गौलामा जटिल समस्या देखिएपछि कञ्चनपुर बेलौरी नगरपालिकाकी २४ वर्षीया भूमि नेपालीलाई धनगढीबाट काठमाडौं रेफर गरियो । मिर्गौलामा पत्थरी देखिएको र एउटा मिर्गौला सानो भएकाले शल्यक्रियाका लागि काठमाडौं पठाइएको थियो । वीर अस्पतालमा परीक्षणपछि औषधिको माध्यमबाट निको हुने र थप समस्या देखिएमा फलोअपमा रहने भन्दै फर्काइएको थियो । तर, मंसिरमा हातगोडा सुन्निने र पेटको दुखाइ बढेपछि उनी अस्पताल भर्ना भइन् । परीक्षणका क्रममा मिर्गौलामा संक्रमण फैलिएको देखियो । तत्काल शल्यक्रिया गर्नुपर्ने भयो, तर सरकारी अस्पतालमा पालो पाइनन् । त्यसपछि ललितपुरस्थित सुमेरु अस्पतालमा लगेर अप्रेसन गरिएको छ ।
‘वीरमा नियमित फलोअपमा रहे पनि शल्यक्रियाको पालो कुर्दा झन्डै दुईवटै मिर्गौला फेल भएन । पहिले नै एउटा मिर्गौला सानो भएको र पत्थरीका कारण समस्या देखिन सक्ने बताए पनि मिर्गौला नै झिक्नुपर्ने अवस्थाबारे जानकारी नै भएन । वीरमा पालो कुर्दा एउटा मिर्गौला झिक्नुपर्ने अवस्था आयो,’ सुमेरुमा उपचाररत भूमिले भनिन् ।
उनका अनुसार शल्यक्रिया र त्यसपछिको उपचारमा अहिलेसम्म दुई लाख सकिएको छ । वीरमा सस्तोमा उपचार हुने आसमा पालो कुरे पनि मिर्गौला नै फेल हुने अवस्था आएपछि ऋण काढेर निजीमा उपचार गराउनुपरेको उनको गुनासो छ ।
भूमिजस्ता मारमा परेका बिरामी धेरै छन् । शल्यक्रियाका लागि काठमाडौंकेन्द्रित अस्पताल हुनु र सीमित अस्पतालले मात्रै सेवा दिनुले बिरामी मारमा परेको बताउँछन् चिकित्सक । खासगरी युरोलोजीअन्तर्गतका जटिल प्रकारमा शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सकको समेत अभाव भएकाले वीर र टिचिङजस्ता अस्पतालमा अत्यधिक भिड हुने गरेको छ । हाल वीरमा कार्यरत युरो सर्जरीको टिमले परोपकार प्रसूतिगृह र नेपाल प्रहरी अस्पतालमा समेत सेवा दिँदै आएकाले पालो पाउनै मुस्किल छ ।
वीरका युरोलोजी विभागका प्रमुख डा. बस्नेत भन्छन्, ‘युरोलोजीमा पुग्ने झन्डै ७० प्रतिशत केस काठमाडौंबाहिरका छन् । उपत्यकाबाहिर शल्यक्रियाको सुविधा उपलब्ध नहुँदा वीरमा भार थोपरिएको हो । वीरमा जत्तिकै सस्तो र उपचारको सेवा प्रदेश अस्पतालहरूमा पनि दिन सकिए काठमाडौंमै धाउनुपर्ने अवस्था आउँदैन । बिरामीले समयमै उपचार पाउँछन् ।
तर, शल्यक्रियाका लागि पालो कुर्नुपर्ने समस्या नेपालको मात्रै नभई विश्वभर नै व्याप्त रहेको चिकित्सक बताउँछन् । जटिल स्वास्थ्य समस्यापछि मात्रै अस्पताल पुग्ने भएकाले अस्पतालमा उपचारका लागि पालो नपाउँदा आमनागरिक सास्ती खेपिरहेका छन् । यस्तै, युरोलोजीमा मात्रै नभई स्त्रीरोग, आँखा, नाक, कान, घाँटी, जनरल सर्जरीलगायतमा पनि शल्यक्रियाका लागि महिनौँ पालो कुनुपर्ने अवस्था छ ।
काठमाडौंका तीन सरकारी अस्पताल कहाँ कति पालो कुर्दै ?
वीर अस्पताल : युरोलोजी विभागको तथ्यांकअनुसार साताको तीन दिन मात्रै सञ्चालनमा आउने विभागको ओपिडीमा पाँचदेखि ६ सयसम्म बिरामी उपचारका लागि पुग्छन् । तर, सातामा ४५ देखि ६० बिरामीको मात्रै शल्यक्रिया हुने गरेकाले बाँकीले पालो कुर्नुपर्ने हुन्छ । आगामी कात्तिकसम्म दुई सय १७ जनाले शल्यक्रियाका लागि पालो लिएको अस्पतालको तथ्यांक छ ।
डा. रबिन बस्नेत, युरोलोजी विभाग प्रमुख, वीर अस्पताल
निजी अस्पतालमा शल्यक्रिया गर्दा वीरको भन्दा १०–१५ गुणा बढी खर्च हुन्छ । त्यसैले यहाँको स्रोत–साधन र जनशक्तिभन्दा झन्डै १० गुणा बढी बिरामी शल्यक्रियाका लागि आउँछन् । ओपिडीमै भिड हुने र इमर्जेन्सी केसलाई प्राथमिकतामा राख्दा पालो स्वतः लम्बिन्छ ।
त्रिवि शिक्षण अस्पताल : अस्पतालका दुई अप्रेसन थिएटरमा दैनिक २० वटा शल्यक्रिया गर्ने क्षमता छ, जसमध्ये तुरुन्तै गर्नुपर्ने शल्यक्रियाका लागि आठदेखि १० केस इमर्जेन्सीका लागि छुट्याइएको छ ।
डा. पवनराज चालिसे, युरोलोजी विभाग प्रमुख, टिचिङ अस्पताल
इमर्जेन्सीबाहेकका शल्यक्रियाका लागि लगत्तै पालो पाउने सुविधा नेपालमा मात्रै नभई विश्वभर नै छैन । शल्यक्रिया केही समय सार्दा स्वास्थ्यमा जटिल समस्या नहुने बिरामीलाई केही पछाडि पालोमा राख्नु स्वाभाविक हो । सबै शल्यक्रिया समयमै गर्नका लागि स्वास्थ्य प्रणाली नै प्राइभेट सिस्टममा जानुपर्छ ।
सिभिल अस्पताल : बानेश्वरको निजामती कर्मचारी अस्पतालमा पनि मिर्गौला र पिसाबसम्बन्धी समस्याको शल्यक्रियाका लागि आगामी २३ असोज ०८० सम्मका लागि पालो दिइएको छ । सातामा जटिल खालका पाँच र सामान्य पाँचवटासम्म शल्यक्रिया गर्दै आएको अस्पतालमा १५ पुसदेखि आगामी नौ महिनासम्मका लागि एक सय ९६ जना जटिल शल्यक्रियाका लागि पालोमा छन् ।
डा. बिपेन्द्र डिके राई, युरोलोजी विभाग प्रमुख, सिभिल अस्पताल
युरोलोजीको सर्जरीका लागि अहिले सातामा दुई दिन मात्रै पालो आउँछ । अप्रेसन थिएटरमा अन्य शल्यक्रिया पनि गरिने भएकाले जुनसुकै समयमा शल्यक्रिया गर्न मिल्दैन । सीमित जनशक्ति र उपकरणले नभ्याउने बिरामीको चापका कारण लामो लाइन देखिएको हो ।